३३ दलीय मोर्चालाई पत्र लेखेर प्रमले भने– ‘असार ९ गते सिंहदरबार आउनू’


६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ दलीय राष्ट्रिय मोर्चा नेपाललाई बार्तामा आउन औपचारिक आग्रह गरेका छन् । मोर्चाका संयोजक शोभाराम थापालाई सोमबार आफ्नो सरकारी निवास बालुवाटर बोलाएर प्रधानमन्त्री ओलीले मोर्चाका संयोजक थापालाई मागका सम्बन्धमा औपचारिक वार्ताको आउन आग्रह गर्दै पत्र थमाएका हुन् ।

मोर्चालाई असार ९ गते दिउँसो १२.३० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आउन आग्रह गरिएकोे प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

चुरेभावरद्वारा स्वागत

प्रधानमन्त्री ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्तामा आउन जेठ ३१ गते पत्र पठाएकोमा उक्त पार्टीले स्वागत गरेको छ । सो पार्टीले आज प्रधानमन्त्रीलाई लिखित जवाफ पठाएर सरकारले वार्ता र सम्बादमार्फत नै समस्याको समाधान गर्न देखाएको अग्रसरतालाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

वार्ताका लागि अध्यक्ष बद्रीप्रसाद न्यौपानेको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको जानकारी प्रधानमन्त्री ओलीलाई दिइएको छ ।

स्वीडेनबाट धन्यवाद–पत्र

सोमबार नै नेपाल भ्रमणमा रहेका स्वीडेनका सांसद केन्ट आस्टेड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच द्धिपक्षीय हितका साथै नेपालको विकासमा स्वीडेनले गरिरहेको सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले नेपालको गरिबी निवारणमा र भूकम्पछिको पुनर्निर्माणमा स्वीडेनले पु¥याउनसक्ने सहयोगका बारेमा सांसद केन्टसँग छलफल गरेका थिए ।
सांसद केन्टले स्वीडेनका विदेशमन्त्री ईसाबेला लोबिनले नेपालमा भूकम्प गएको एक वर्ष पुगेको बेला आफु नेपाल आउँदा प्रधानमन्त्रीले दिएको भेटको स्मरण गर्दै लेखेको धन्यबाद पत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्