३३ वर्षअघि नै डा. हर्क गुरुङले विश्लेषण गरेका थिए, ‘भूटानमा भारतीयलाई धेरै कडा, नेपालमा खुकुलो’


३० मंसिर । सबैलाई थाहा छ, भारतसँग नेपाल र भूटानको सीमा जोडिएको छ । लामो समयदेखि यी दुवै देशमा भारतीय नागरिकहरु आई नागरिकता लिने र बसोबास गर्ने गर्दै आइरहेका छन् । तर, भारतीय नागरिकहरुलाई नागरिकता दिने सवालमा नेपाल धेरै नै खुकुलो भएको भने अहिले मात्र होइन, पञ्चायतकालदेखि नै यो क्रम चल्दै आइरहेको छ । भूटानमा भने भारतीयहरुलाई नागरिकता दिन पहिलेदेखि नै धेरै कडाइ गर्दै आएको देखिन्छ ।

तीन दशकपहिले नै भूगोलविद् डा. हर्क गुरुङले नेपाल र भूटानमा भारतीय आप्रवासीहरुले प्राप्त गरेको नागरिकताबारे तुलना गरेका थिए । आजभन्दा ३३ वर्षपहिले नै नेपाल आएकामध्ये ६२.४ प्रतिशतले भारतीयले नेपाली नागरिकता लिएका थिए भने त्यही बेला भूटानमा भने जम्माजम्मी ०.०५ प्रतिशतले लिएका थिए । विदेशीहरुलाई नागरिकता दिने सवालमा भूटानमा कति कडा नियम रहेछ भन्ने कुराको पुष्टि तीन दशकअघिकै तथ्यबाट थाहा पाइन्छ ।

२०४० सालमा डा. गुरुङले लेखेका ‘अन्तर्राष्ट्रिय बसाइँ–सराइ’ मा उल्लेख गरेका छन्, ‘भारतीय विदेश मामिलासम्बन्धी मन्त्रालयको अर्को तथ्यांकअनुसार १०५ देशहरुमा १ करोड १२ लाख ३२ हजार ७२ भारतीयहरु बसाइँ सरिसकेका छन् । सो मध्ये ३८ लाख (३३.२) प्रतिशत नेपालमा छन् । विदेशमा बसाइँ सर्ने भारतीयहरुमध्ये सम्बन्धित देशको नागरिकता ग्रहण गर्नेहरुको सबभन्दा बढी संख्या २३ लाख ८८ हजार (३५.४) प्रतिशत पनि नेपालमा नै छ । सो तथ्यांकअनुसार नेपाल बसाइँ सर्नेहरुमध्ये ६२.५ प्रतिशतले नेपाली नागरिकता लिइसकेका छन् । यसको विपरीत भूटानमा भएका ४० हजार भारतीयमध्ये २० जनाले (०.०५) मात्र त्यहाँको नागरिकता पाएका छन् ।’

त्यस्तै, सन् १९७१ मा तराईमा भारतीयहरुको बाहुल्यता धेरै नै हुन पुगेको पनि डा. गुरुङको लेखमा उल्लेख छ, ‘कुल विदेशीमध्ये भारतीयहरु तराईमा ९५.१ प्रतिशत, काठमाडौं उपत्यकामा १.६ प्रतिशत, भित्री मधेसमा १.४ प्रतिशत र पहाडमा १.३ प्रतिशत थियो । भारतीयहरु विशेष गरी पूर्वी तराईमा (६४.३) प्रतिशत, र मध्य तराईमा (२४.९) प्रतिशत केन्द्रिभूत थियो । पश्चिमी तराईमा ६.२ प्रतिशत भारतीय भए पनि सो प्रतिशत अन्य पहाडी प्रदेशको दाँजोमा निकै बढी थियो ।’

डा. गुरुङले नेपाल–भारतको खुला सीमालाई नै यसको कारक ठानेका छन् । उनले लेखेका छन्, ‘नेपाल भारत अन्तर्राष्ट्रिय सिमाना खुला हुनाले अन्तर्राष्ट्रिय बसाइँ–सराइ क्रममा भारत जाने नेपाली र नेपाल आउने भारतीयको ठूलो परिणाम छ । यसमा पनि भारतसित जोडिएको तराई प्रदेशको बढ्दो आर्थिक महत्वले आप्रवासनलाई प्रोत्साहन गरेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्