३८ वर्षदेखि टोपी लगाउँदै आएका ठाकुर भन्छन्, ‘आर्यघाटमा पनि मलाई ढाकाटोपीमै लगियोस्’


१२ पुस । टोपी लगाउने पहाडे र धोती लगाउनेलाई मधेसी भनेर चर्चा गर्ने गरिन्छ । अचेल पहाडे र मधेसी समुदायबीच द्वन्द्व बढाउने होडबाजी चलिरहेकै बेला एक जना मधेसी मुलका नेपाली नागरिकले भने विगत ३५ वर्षदेखि आफूले नेपाली टोपी (ढाका टोपी) लगाउन नछाडेको दाबी गरेका छन् ।

भ्रष्टाचार विरुद्ध, नेपालको अध्यक्षसमेत रहेका रामकुमार ठाकुरले अनामनगरस्थित एक रेष्टुराँमा केही सञ्चारकर्मीहरुसँग आफूले विगत ३५ वर्षदेखि ढाकाटोपी नछाडेको दाबी गरे ।

ढाकाटोपी लगाएकै कारण उनले मधेसी नेताहरुको हप्कीसमेत खानु परेको तीतो–सत्य पोखे । ‘ढाकाटोपी नेपाली–नेपालीबीचको एकताको सूचक हो ।  मलाई पटक–पटक मधेसी नेताहरुले तपाईँले किन यो नेपाली टोपी लगाएको भनेर गाली गरेका छन्,’ उनले भने, ‘मैले ढाका टोपी लगाएर के कुकर्म गरेँ ? मलाई आर्यघाटमा पुग्दा पनि मेरो शीरमा ढाकाटोपी नै होस् भनेको छु ।’

इञ्जिनियरसमेत रहेका ठाकुरले ढाकाटोपीको वैज्ञानिक कारण भएको समेत तर्क गरे । ‘म ३८ सालमा आइएस्सी अध्ययनका लागि अस्कल क्याम्पसमा प्रवेश गरेको हुँ,’ ३५ वर्षअघिको घटना स्मरण गर्दै भने, ‘त्यतिबेला राजधानीमा डम्म हिउँ जम्थ्यो, टोपी नलगाएको भए म त्यसैबेलाको चिसोले बित्ने थिएँ । ढाकाटोपीले चिसोले हुने पीडाबाट मलाई बचायो ।’

विदेशमा नेपाली भनेर परिचित गराउन पनि ढाकाटोपी अनिवार्य लगाउनुपर्र्ने उनले जिकिर गरे । ‘नेपालकै तराई भू–भागमा जाँदा ढाकाटोपी नलगाउँदा पनि हुन्छ,’ उनले भने, ‘हामी भारत वा अन्य देश जान्छौँ भने त्यहाँ अनिवार्य ढाकाटोपी लगाउनुपर्छ । हाम्रो पहिचान र परिचय नै यही हो ।’

तराई–मधेसका नेताको राजनीतिबाट दिक्क भएका ठाकुरले अहिले तराईमा शोषक र शोषित वर्ग मात्र रहेको पनि उल्लेख गरे । ‘अहिले मधेसमा ठाकुर, यादव कुनै पनि जात छैनन्,’ उनले भने, ‘मात्रै दुई वर्ग छन्, शोषक र शोषित ।’

प्रतिक्रिया दिनुहोस्