३ सय ३४ वटै स्थानीय तहमा मनोनयनपत्र दर्ता, राजपाको आन्दोलनको कुनै प्रभाव परेन


४ असार । राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारी मनोनय दर्ताका दिनलाई लक्षित गरेर कार्यक्रम तय गरे पनि दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

एक–दुई स्थानमा सामान्य अवरोध भए पनि तीन वटै प्रदेशमा शान्तिपूर्ण भएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा आइतबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित ढङ्गबाट मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मनोनयनपत्र दर्तामा देखिएको व्यापक सहभागिता र उत्साहले दोस्रो चरणको निर्वाचनमा पनि राजनीतिक दल र उम्मेदवारको उत्साहपूर्ण सहभागिता रहने पनि आयोगले आँकलन गरेको जानकारी दिएको छ । दोस्रो चरणको निर्वाचनमा एक महानगर, सात उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिमा जनप्रतिनिधि चयनका लागि मनोनयनपत्र दर्ता भएको हो ।

दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् । प्रदेश नम्बर दुईको निर्वाचन भने असोज दुई गते हुने भएको छ । राजपाकै कारण निर्वाचन सारेको भने पनि राजपाले आफूले दोस्रो चरणको पनि निर्वाचन बहिष्कार गरेको बताएका छन् । यद्यपि केही जिल्लामा भने उनीहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्