४५ दिनका २९ महत्वपूर्ण सुचनाः तीन नम्बर प्रदेशमा ७२ प्रतिशत जनता शहरबासी


काठमाडौ, २२ साउन । ३ नम्बर प्रदेश आयोगले ४५ दिनमा प्रदेशसँग जोडिएका २९ ओटा महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ । प्रदेश नीति तथा योजना आयोग गठन भएको ४५ दिनमा मंगलबार प्रदेश राजधानी हेटौंडामा ती सूचना सार्वजनिक गर्दै गुरु योजनाका साथ अब विकास अभियान अघि बढाइने घोषणा गरिएको छ ।तीन नम्बर प्रदेशमा गाउँमा भन्दा शहरमा बढी जनता बसोबास गर्ने गरेको तथ्यांक सार्बजनिक गर्दै आयोगले सोही अनुसार अब अल्पकालीन, मध्यकालीन र दीर्घकालीन ढंगले नीति योजनाका साथ विकास अभियान अघि बढाइनुपर्नेमा जोड दिएको छ । तीन नम्बर प्रदेशमा ७२ प्रतिशत जनता शहरमा बसोबास गर्ने गरेको तथ्यांकमा जनाइएको छ ।

महानगरपालिका, उपमहानगरपालिकासहित नगरपालिकाको संख्या बढेकाले जनताको बसोबासको स्थिति यस्तो देखिएकाले सोही अनुसार विकास अघि बढाइनुपर्ने योजना आयोगको भनाई छ । आयोगले उक्त सूचनासहितको प्रतिवेदन एक समारोहबीच मुख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरेको छ ।
विभिन्न प्रतिवेदन, केन्द्रीय तथ्यांक विभागका पछिल्ला सर्वेक्षण प्रतिवेदन, संघीय तथा प्रदेश मन्त्रालयले तयार पारेका दस्तावेज, जिल्लाको वस्तुस्थिति विवरण , प्राज्ञिक र व्यवसायिक अनुसन्धान प्रतिवेदनलाई सूचनाको महत्वपूर्ण आधार मानिएको छ । ‘अब हामी दीर्घकालीन विकासका लागि एक शताब्दीसम्मको गुरु योजना बनाएर अघि बढ्छौं, अल्पकालीन, मध्यकालीन दीर्घकालीन योजनाका साथ देशको राजधानीसमेत रहेको यो प्रदेशलाई सबैभन्दा समृद्ध बनाउँछौं’, आयोगका सदस्य श्याम बस्नेतले पहिलो न्यूजसँग भने,‘अब हामी पुरै विकास अभियानमा केन्द्रीत हुनेछौं ।’
यस प्रदेशको ७२.५७ प्रतिशत जनता शहरबासी भएका छन भने २७.४३ प्रतिशत जनता गाउँमा बस्ने सुचनामा जनाइएको छ ।

प्रदेश नम्बर ३ का धेरैजसो जनताले सानो परिवार रुचाउने गरेको पाइएको छ । परिवारको संख्या ४ भन्दा कम यस प्रदेशमा ६०.२३ प्रतिशत भएकाले सानो परिवारप्रति आकर्षण बढिरहेको पाइएको हो । यस प्रदेशका ५६.९३ प्रतिशत जनता वैदेशिक रोजगारीका लागि विदेश गएका छन । नेपालको साक्षरता दर ६५.९४ भएपनि तीन नम्बर प्रदेशमा ७४.८५ प्रतिशत छ । कुल जनसंख्यालाई हेर्दा साक्षरतामा पनि तीन नम्बर प्रदेश अगाडि छ । औद्योगिक रुपमा सबैभन्दा बढी तीन नम्बर प्रदेशमा विकास भएको छ जसमा ९ सय ६५ उद्योग रहेका छन । यी उद्योगले ४९ हजार १ लाई रोजगारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्