४ सय २१ पटक सुन तस्करी


काठमाडौँ, २१ वैशाख ।

मुलुकको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटै गिरोहले पाँच वर्षभित्र तीन हजार सात सय ९९ किलोभन्दा बढी सुन तस्करी गरेको रहस्योद्घाटन भएको छ। ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गठित समितिले विमानस्थलबाट हुने सुन तस्करीको जालोबारे सोधखोज गर्दा पाँच वर्षमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ३१ रुपैयाँबराबरको सुन अवैध रूपमा ओसारपसार भएको तथ्य सार्वजनिक गरेको हो।

अन्नपूर्ण पोस्ट्लाई प्राप्त जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोगपत्रमा सुनका मालिक गोरे भनिने चूडामणि उप्रेती र उनका सहयोगीले पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी गरेको उल्लेख छ। आरोपपत्रअनुसार पाँच वर्षमा तीन हजार सात सय ९९ किलो ५ पाँच सय ५९ ग्राम सुन (नेपाली मूल्य १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ३१ रुपैयाँ) तस्करीका लागि विमानस्थल प्रयोग भएको छ।

गोरे नेतृत्वमा प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डीएसपी सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, होटल व्यवसायी तथा राप्रपा नेता भुजुङ गुरुङ, टेकराज मल्ल, मोहन काफ्ले, मोहम्मद उस्तम मियाँ, लाक्पा शेर्पा, छिरिङ वाङ्गेल घले, कपिलराज पुरीलगायत ६० जनाले तस्करीलाई पूर्णता दिएको समितिको दाबी छ।

गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरूलाई दुई करोड २० लाख ७७ हजार बाँडेको तथ्यसमेत फेला परेको छ। गोरेले हिसाब गरेको रेकर्ड फाइलमा हाल थुनामा रहेका पूर्वडीआईजी निरौलालाई १७ लाख, एसएसपी खत्रीलाई एक करोड १२ लाख ९२ हजार, एसपी खनाललाई पाँच लाख, डीएसपी राउतलाई १५ लाख, जवान खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार रुपैयाँ बाँडेको उल्लेख छ। छानबिन समितिले लिएको बयानमा आरोपीहरूले यो तथ्य स्विकारेका छन्।

गोरेका सहयोगी मोहन काफ्लेले २०७२ देखि एसएसपी खत्री, एसपी खनाल र डीएसपी राउतलाई सुन तस्करीमा सहयोगी बनाउँदै आएको अरोपपत्रमा उल्लेख छ। फरार एसएसपी खत्रीका चालक जवान खड्काले बयानमा यसको पुष्टिसमेत गरेका छन्। निरौला विमानस्थलको सुरक्षा प्रमुख रहँदा काफ्लेले सुन ल्याएपछि सीधै उनको कोठामा लैजाने र एसएसपी खत्रीसँगै एसपी खनालले सुन आफैं एस्कर्ट गराएर विमानस्थल कटाउँदै आएको खड्काले बयान दिएका छन्।

बयानमा खुले अभियुक्त

अभियुक्त टेकराज मल्लले बयानमा १६ किलोसम्म तस्करीको सुन विमानस्थलबाहिर पु¥याई गोरेलाई बुझाएको बताएका छन्। गत माघ ९ गते साढे ३३ किलो सुन उनी र रोहित आचार्यले विमानस्थलका कर्मचारी सानु बनलाई दिएको देखिन्छ। गोरेले परिवारलाई ५० लाख रुपैयाँ दिने आश्वासन दिएपछि मल्लले आफू सुन ओसारपसारमा लागेको बयान दिएका छन्। गोरेले मल्ललाई राहदानीसमेत बनाउन लगाएर दुबई पठाएका थिए। दुबईबाट चार किलो सुन ल्याएको बयान मल्लले दिएका छन्। पाँच, सात, आठ र १६ किलोसम्म सुन दुबईबाट ओसारपसार गरेको उनले बयान दिएका छन्। आफू गोरेको विश्वासिलो पात्रसमेत रहेको उनको स्वीकारोक्ति छ।

अर्का अभियुक्त मोहन काफ्लेले मासिक ५० हजार तलब दिने सम्झौताअनुसार गोरेसँग काम गर्न थालेको बताएका छन्। एक पटक २३ किलो सुन एसएसपी श्याम खत्रीको विमानस्थलस्थित कार्यालयमा लगेर बुझाएको उनले बयान दिएका छन्। खत्रीलाई दिएको सुन गोरेसँगको सल्लाहबमोजिम खत्रीका बडीगार्ड, सवारी चालकलगायतले पास गराएको काफ्लेले बयानमा उल्लेख गरेका छन्। गोरेले आफ्नो डायरीमा एसएसपी ‘मामा’ भनेको श्याम खत्री नै हुनुपर्ने काफ्लेको भनाइ छ। खत्रीलाई दिएको डेढ करोड रकम आफ्नै समूहले दिएको उनले बयान दिएका छन्। सीआईबीले ३३ किलो सुन बरामद गर्दा विमानस्थलबाट बाहिर पठाउन सहयोग गरेबापत गोरेले खत्रीलाई एक करोड रुपैयाँ दिन बाँकी रहेको गोरेले आफूलाई जानकारी दिएको काफ्लेको भनाइ छ। सुन कारोबारको हिसाब भने गोरे र हत्या गरिएका शाक्यले नै राख्दै आएको उनको प्रस्टोक्ति छ।

पक्राउ परेर मुद्दा चलाइएका अर्का अभियुक्त नरेन्द्र कार्कीले एसएसपी खत्रीलाई २०७३ असारमा बानेश्वरस्थित ह्वाइटहाउस कलेजअघि १६ लाख रुपैयाँ दिएको बयान दिएका छन्। नेपाल एयरलाइन्सका कर्मचारी राजु महर्जनले एक पटकमा १५ देखि १८ लाख रुपैयाँ बुझ्दै आएको र यस्तो क्रम १५ पटकसम्म भएको सरकारी वकिलसमक्ष उनले बताएका छन्। अर्का अभियुक्त थाई एयरलाइन्सका कर्मचारी हेमन्त गौतमले ९० देखि सय पटकसम्म सुन ओसारपसार भएको बयान दिएका छन्। थाईकै अर्का कर्मचारी सम्बिरप्रसाद तोलाङ्गेले हप्तामा दुई पटक सुन तस्करी हुने गरेको र प्रत्येक पटक ६० हजार रुपैयाँका दरले आफूले पाउने गरेको बताएका छन्। विमानस्थलमा आत्महत्या गरेको भनिएका सानु बनले नै आफूलाई सुन पास गराएबापत रकम दिँदै आएको उनको भनाइ छ।

अर्का अभियुक्त कपिलराज पुरीले गोरेले भनेअनुसार सुन भुजुङ गुरुङलाई दिने र गुरुङले त्यसबापत पैसा दिने गरेको उल्लेख गरेका छन्। भुजुङले ३३ किलो सुन लुटेको उनको आरोप छ। थाई एयरलाइन्सका लोडर बालकृष्ण श्रेष्ठले पनि ५० देखि ६० पटक भएका सुन तस्करीमा आफूले सघाएको स्विकारेका छन्। एक पटक सुन पास गराएबापत ३७ हजार रुपैयाँ पाउँदै आएको उनको स्वीकारोक्ति छ।

थाई एयरलाइन्सकै अर्का कर्मचारी दोराम खत्रीको बयान भने रोचक छ। उनले जहाजको शौचालयभित्र कम्बोडले बेरिएको सुन पास गराउँदै आएको र भुजुङको घरमा पु¥याउने गरेको बयान दिएका छन्। त्यसबापत ५० हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्म पाउने उनको भनाइ छ। थाई एयरकै पुण्य लामाले फ्लाइट नं टीजी३१९ मा कम्तीमा महिनामा आठदेखि १० पटक सुन तस्करी हुने गरेको बयान दिएका छन्। अधिकांश सुन सिंगापुर र दुबईबाट आउने गरेको उनले बताएका छन्।

थाई एयरका टेक्निसियन गोपालकुमार श्रेष्ठले बयानमा भुजुङ गुरुङलाई १२ पोका (१२ किलो) सुन पु¥याइदिएबापत ११ लाख ५५ हजार रुपैयाँ दिएको खुलाएका छन्। भुजुङका भान्जा फाल्दुङमार्फत बानेश्वर थापागाउँमा रहेको गोरेको डेरामा श्रेष्ठले २० देखि २५ पटक सुन पु¥याएको स्विकारेका छन्। विमानस्थलकै कर्मचारी राजु महर्जनले तस्करीलाई सघाएबापत गोरेमार्फत पटकपटक गरी ८० हजारदेखि दुई लाख रुपैयाँसम्म बुझेको बताएका छन्।

थाई एयरकै अपरेटर लालबहादुर मगरले गोपालकुमार श्रेष्ठमार्फत भुजुङ गुरुङ चिनेको दाबी गरेका छन्। एक किलो सुन पु¥याएबापत ३५ हजार रुपैयाँ पाउने आश्वासनमा काम गरेको उनको भनाइ छ। थाई एयरका विभिन्न जिम्मेवारीमा रहेका गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, सानु बन, कपिलराज पुरी, हेमन्त गौतम, बालकृष्ण श्रेष्ठ, सम्बिरप्रसाद तोलांगे, तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङसँग प्लेनदेखि एयरपोर्टबाहिरसम्म कसरी सामान पु‍¥याउने भन्ने विषयमा सल्लाह हुने गरेको उनले बताएका छन्।

सल्लाहअनुसार बन, गोपाल, दोराम, वीरेन्द्र र आफूले जहाजमा यात्रु चढ्ने र ओर्लने इन्जिनसहितको भ‍¥याङको मेन च्यानलको प्वालमा बोल्ट लगाई बीचमा सुन अड्किने ठाउँ बनाउने गरेको उनको भनाइ छ। त्यसै प्वालबाट जहाजदेखि ग्यारेजसम्म सुन ल्याउने गरिएको उनले बताए।

अभियोगपत्र भन्छ :
– पाँच वर्षमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ३१ रुपैयाँबराबरको सुन तस्करी

– सुन आउँदा डीआईजी निरौला र एसएसपी खत्री विमानस्थलमै कुर्थे

– थाई एयरको शौचालयबाट सुन पास

– सुन पास गर्न फोहोर फाल्ने बाल्टिनको समेत प्रयोग

– अधिकांश पक्राउ परेका आरोपीले भुजुङ गुरुङलाई सुन बुझाउँथे

– विमानस्थलमा सुन आएपछि एसपी खत्री र एसपी खनालले स्कर्ट गराएर सुन बाहिर पठाउँथे

– प्रतिकिलो सुनमा ४० हजार नाफा

– फर्निचर उद्योगीका रूपमा चिनाएका थिए गोरेले घरबेटीलाई

९० देखि सय पटक भुजुङको घरमा सुन पु¥याएको उनको भनाइ छ। एक पटक सुन पु¥याएबापत ४७ हजार रुपैयाँसम्म पाउँदै आएको उनको स्विकारोक्ति छ। गोपालकुमार श्रेष्ठले सन् २०१३ डिसेम्बरबाट भुजुङलाई भेटेर सुन तस्करी गर्ने योजना बनाएको बताएका छन्। थाई एयरको शौचालयबाट सुन झिकेर भुजुङलाई दिने गरेको र उनकै सेटिङमा सुन विमानस्थलमा आउने गरेको श्रेष्ठको बयान छ। महिनामा २० पटकसम्म सुन आउने गरेको र १२ पोका सुन पु¥याउँदा ११ लाख ५५ हजार भुजुङले आफूलाई दिने गरेको उनले स्विकारेका छन्।
भुजुङ सबैका आरोपी

पक्राउ परेका अधिकांश अभियुक्तले भुजुङ गुरुङलाई आरोपी बताएका छन्। सुन तस्करमै संलग्न गोपालको गुरुङसँग २०४५ सालमा थाई एयरलाइन्समा भेट भएको थियो। गोपालले ग्रान्ड होटेलका गोयल भन्ने साहुजीलगायत मानिसँग मिलेर सुनको कारोबार गर्दै आएकोमा मनमुटाव भएपछि आफूसँग मिलेर सुनको कारोबार गर्न थालेको भुजुङले बयान दिएका छन्। गोपाल र उनका साथी वसन्तप्रसाद बिजुक्छेसँग मिल हङकङबाट सुन किनेर बैंकक हँुदै थाई एयरलाइन्समार्फत नेपालमा ल्याएर काठमाडौंका सुन पसलमा बेच्न थालेको उनको भनाइ छ।

कारोबारका क्रममा काठमाडौंमा चिनजान भएका एमके भन्ने मोहनकुमार अग्रवाल, पवन अग्रवाललगायतलाई हङकङबाट ल्याएको उक्त सुन दिने गरेका थिए उनले। २०४८ मा बिजुक्छेले थाई एयरलाइन्सको काम छाडेपछि कारोबारमा केही असहज देखिएका कारण भुजुङले पनि सुन कारोबार रोकेका थिए। भुजुङको गोरेसँग चिनजान २०६९ मा भएको थियो। त्यसपछि भुजुङ, उनका सालो नाता पर्ने डेबिटर भन्ने छिरिङ वांगेल घले र मोहनकुमार अग्रवालसँग मिलेर गोपालमार्फत सुन तस्करीको कारोबार थालेका थिए। जहाजको शौचालयमा फोहोर फाल्ने डस्टबिनमार्फत सुन लुकाएर थाई एयरका सरसफाइ गर्ने कर्मचारीले बाहिर निकाल्ने र उक्त सुन ग्यारेज हुँदै विमानस्थल बाहिरसम्म ल्याउने गरेको भुजुङले स्विकारेका छन्।

पवन अग्रवाल र दरबारमार्गस्थित आरके डायमन्डका साहुजी राजेन्द्र शाक्यलाई पनि भुजुङले मुछेका छन्। सुन तस्करीका लागि मोहनकुमार अग्रवालले नेपाली रकम व्यवस्था गर्ने र त्यो बैंकक र दुबईमा रहेका नेपालीका नेपालस्थित आफन्तलाई दिने र त्यसबापतको सोधभर्ना बैंकक र दुबईमा लिने गरेको उनले बताएका छन्। थाई एयरलाइन्समार्फत सुन विमानस्थलमा ल्याएपछि गोपाल दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठलगायतकाको संलग्नतामा बाहिर ल्याउने गरेको उनको भनाइ छ।

प्रत्येक महिना १० पटकसम्म सुन आउने गरेको उनले सकारेका छन्। पछिल्लो पटक माघ ९ गते ३३ किलो सुन लुटिएपछि भने थाईका कर्मचारी सानु बन शंकाको घेरामा थिए। साढे ३३ किलो सुन लुटिएपछि भुजुङले नै सुन लुट्ने समूहलाई सफाया (ज्यान लिनेसम्मको हर्कत) गरेर भए पनि पत्ता लगाउन गोरेलाई जिम्मेवारी दिएको बताएका छन्।

प्रहरी जवान विष्णुबहादुर खड्काको बयानले भने एसएसपी खत्री, एसपी खनाल र डीएसपी राउतको भूमिका झन शंकास्पद बनाएको छ। अपराध महाशाखामा र लागुऔषध नियन्त्रण ब्युरो हुँदै विमानस्थलमा रहँदादेखि नै एसएसपी खत्रीको चालकका रूपमा काम गरेको खड्काको बयान छ। गोरेले डायरीमा लेखेअनुसार डीआईजी मामा भनेको निरौला, एसएसपी मामा भनेको खत्री, एसपी मामा खनाल, डीएसपी मामा राउत र एसएसपी मामाको चालक भनेको आफू रहेको खड्काको बयान छ। खत्रीकै निर्देशनमा खड्काले सुन गाडीमा पु¥याइदिएबापत मोहन काफ्लेले १५ हजार रुपैयाँ लिएको स्विकारेका छन्। तस्करीमा निरौला, खत्री, खनाल, राउत, खत्रीका अंगरक्षक अमरबहादुर थापा मगर र आफू संलग्न रहेको उनले बताएका छन्।
एसएसपी खत्री ‘भर्सेस’ गोरे

डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले फरार एसएसपी खत्री र गोरेको सम्बन्धबारे सूक्ष्म बयान दिएका छन्। एसएसपी खत्री र गोरेको सम्बन्ध ३३ किलो सुन काण्डअघि नै रहेको उनीहरूको बयानबाट पुष्टि हुन्छ। खत्री विमानस्थलमै रहँदा उनले डीएसपी केसी र सई सञ्जेललाई बोलाएर ‘मेरो भान्जा (गोरे) लाई दुःख नदेऊ, ऊ राम्रो मान्छे हो’ भनी सम्झाएको सञ्जेल र केसीले बयानमा बताएका छन्। त्यतिखेरै गोरेले सञ्जेललाई फोन गरेर करिब दुई किलो सुन समात्ने हो भन्ने सूचना दिएका थिए। गोरेकै सूचनाका आधारमा तत्कालीन महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यको कार्यकालमा डेढ किलो सुन बरामद भएको थियो। डीएसपी केसीलाई खत्रीले बोलाएर ‘केटीसँग गोप्य कुराकानी कसरी गर्न सकिन्छ’ भन्दै सुझाउन आग्रह गरेका थिए।

समितिकै सिफारिसमा मोरङ प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपपत्र दायर गरेर छानबिन अघि बढेको ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिका सदस्य एसएसपी वसन्त लामाले बताए। ‘सुन तस्करी प्रकरणले विमानस्थलको सुरक्षा व्यवस्था उदांगिएको छ। अब सुध्रिएला’, उनले भने।

अन्नपुर्णमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्