५ नम्बरपछि पूर्वका तीन जिल्ला टुक्र्याउने पालुवाको दाबी


२२ मंसिर । संविधान संशोधनको प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको सङ्घीय लिम्बूवान पार्टी नेपालले आम हड्ताललगायतका आन्दोलनका कार्यक्रम शान्तिपूर्ण बनाउने भएको छ । बिर्तामोडमा बुधबार झापाका नागरिक समाज तथा मानव अधिकारकर्मीसँगको छलफलमा सङ्घीय लिम्बूवान पार्टी नेपालले त्यस्तो बताएको हो ।

उक्त पार्टीको मङ्सिर ३० गतेको आम हड्ताल तथा आन्दोलनका सबै कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाई हड्तालका समयमा मोटरसाइकल, दूध, चियापत्ती, सब्जी, प्रेस, चिकित्सक, औषधि, विवाह, मलामी, शव बाहन, एम्बुलेन्सजस्ता अत्यावश्यकीय सवारीका साधन तथा सेवालाई निर्वाध सञ्चालन गर्न दिने सहमति भएको छ ।

शिक्षण संस्थालाई बन्दमुक्त राख्ने तथा परीक्षाको अवधिलाई सहज बनाउने विषयमा नागरिक समाज र अधिकारकर्मीले गरेको आग्रहलाई सकारात्मक रुपमा ग्रहण गर्दै लिम्बूवान पार्टीले उचित निर्णय गर्ने सहमतिसमेत भएको छ । छलफलमा पार्टीका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुवा, केन्द्रीय सदस्य टेकबहादुर खजुमले आन्दोलनका कार्यक्रमबारे जानकारी गराउँदै छलफलपछि सहमतिमा हस्ताक्षर गरेका छन् ।

लिम्बूवानले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव अव्यावहारिक र एकपक्षीय भनी असन्तुष्टि जनाएको छ । पार्टी अध्यक्ष पालुङ्वाले ५ नं प्रदेशपछि झापा, मोरङ सुनसरीलाई टुक्र्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसमा यस क्षेत्रका नागरिक सचेत हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्