५ नम्बर प्रदेश पूरै अशान्त, संशोधन विरुद्ध एमाले, सत्तारुढ माओवादी र कांग्रेसका कार्यकर्ताहरुसमेत सडकमा उत्रिए


१६ मंसिर । तीन दिनअघि सरकारले संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेर ५ नम्बर प्रदेशमा रहेका पहाडी जिल्लाहरुलाई ४ नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव गरेसँगै ५ नम्बर प्रदेशका तराई र पहाडी जिल्लाका जनता आन्दोलनमा उत्रिएका छन् । बुधबारदेखि आन्दोलनमा उत्रिएका जनताले बिहीबार पनि आन्दोलनलाई जारी राखेका छन् । सरकारले ५ नम्बर प्रदेशमा तराईका जिल्लाहरु मात्र रहने गरी संशोधन प्रस्ताव पेश गरेको थियो ।

५ नम्बर प्रदेश टुक्र्याउने निर्णय विरुद्ध सबभन्दा बढी बुटवलका बासिन्दा आक्रोशित भएका छन् । बुधबार दिनभर पूर्व–पश्चिम र सिद्धार्थ राजमार्ग बन्द गरेका आन्दोलनकारीहरुले बिहीबारदेखि अझ सशक्त आन्दोलन गर्ने जनाएको छ । ‘पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन’ जस्ता नारा लगाउँदै बुटवल र आसपासका क्षेत्रका बासिन्दाहरु आन्दोलनमा होमिएका हुन् । संशोधन प्रस्तावमा असहमति जनाएको एमालेले मात्र होइन, बुटवलमा कांग्रेसका कार्यकर्ताहरु पनि आन्दोलनमा होमिएका छन् । बुटवलका प्रायः सबै बजार क्षेत्र र चोकहरु आन्दोलनले प्रभावित बन्न पुगेका छन् । शिक्षण संस्थाहरु बन्द गराएर विद्यार्थीहरुसमेत आन्दोलनमा उत्रिएका छन् । बुटवलका उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी सबैले आन्दोलनलाई समर्थन गरेका छन् ।

५ नम्बर प्रदेशका तराईका अरु जिल्लाहरु नवलपरासी र कपिलवस्तुका जनता पनि आन्दोलित भएका छन् । ती जिल्लाका बासिन्दाले बुधबार दिनभरि नै यातायात ठप्प पारे भने बिहीबार पनि आन्दोलन गर्ने जनाएका छन् । यसैगरी, दाङका स्थानीय जनताले पनि संशोधन विरुद्ध चक्काजाम गरेका छन् । यसैगरी, बाँके र बर्दियाका बासिन्दा पनि आन्दोलित भएका छन् ।

तराईका ५ वटै जिल्लाका बासिन्दाहरु आन्दोलनमा उत्रिएका छन् भने ४ नम्बर प्रदेशमा गाभ्ने भनिएको गुल्मी, प्यूठान, अर्घाखाँची, रोल्पा, पाल्पाका बासिन्दाले पनि आन्दोलन उठाएका छन् । माओवादीको प्रभाव रहेको रोल्पा पनि आन्दोलित भएको छ । बुधबार संशोधन प्रस्ताव विरुद्ध रोल्पाली युवाहरुले मोटरसाइकल ¥याली निकालेका थिए । यसैगरी, प्यूठानका जनताले पनि प्रस्तावको विरुद्धमा बन्द गरेका छन् । संशोधन प्रस्ताव फिर्ता नलिए आन्दोलनलाई झनै चर्काउने पक्षमा पाल्पा, अर्घाखाँची, गुल्मीका राजनीतिक दल र जनताहरु रहेका छन् । यी सबै जिल्लाका आन्दोलनमा एमाले, राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताले अगुवाइ गरिरहेका छन् भने सत्तारुढ माओवादी र कांग्रेसका कार्यकर्ताले पनि आन्दोलनमा भाग लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्