६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नेगरी आर्थिक क्रियाकलाप संचालन गर्छौः अर्थमन्त्री महरा


५ माघ ।  अर्थमन्त्री कृष्णबहादुर महराले चालु आर्थिक वर्षको बजेटमा राखिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न बजेट कार्यान्वयनमा जोड दिने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।

उनले सबैजसो कार्यक्रमहरू स्वीकृत भई कार्यान्वयनमा गइसकेको भन्दै आयोजना तथा कार्यक्रमलाई तोकिएको समयमै सम्पन्न गर्न आवश्यक समन्वय र  सहजीकरण गरिने पनि जानकारी दिए । ‘समृद्ध नेपालको लागि दीगो आर्थिक विकासको तत्कालीन कार्यान्वयन कार्य योजना’ प्रस्तुत गर्दै उनले भने– ‘ठूला र तत्काल प्रतिफल दिने आयोजनाहरूका लागि स्रोतको अभाव हुन दिइने छैन ।’

उनले चालु आर्थिक वर्षका लागि ६.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नेगरी आर्थिक क्रियाकलाव संचालन गर्ने पनि जानकारी दिए । त्यसैगरी रु ५० करोडभन्दा माथिका आयोजना तथा कार्यक्रमहरुको सहजीकरण गर्ने एक अर्ब भन्दा माथिका आयोजना तथा कार्यक्रमहरुको अनुगमन गर्ने, ठूला र तत्काल प्रतिफल दिने आयोजनाहरुको लागि स्रोतको सुनिश्चितता प्रदान गर्ने जस्ता तयारी भएको पनि उनले जानकारी दिए । पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थाहरूको कार्यप्रणाली व्यवस्थित गर्न बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक व्यवस्थापिका–संसदको यसै अधिवेशनबाट पारित गरिनेछ पनि जानकारी दिइएको थियो । ‘बीमा व्यवसायलाई नियमित, गुणस्तरीय, व्यवस्थित र विस्तार गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको लागि बीमा विधेयक शीघ्र व्यवस्थापिका–संसदमा प्रस्तुत गरिनेछ । धितोपत्र सम्बन्धी कारोवारलाई थप व्यवस्थित गर्न धितोपत्र नियमावलीमा संशोधन गरिनेछ ।’

त्यसैगरी मन्त्री महराले मौद्रिक र गैर मौद्रिक उपायद्वारा मूल्य वृद्धि नियन्त्रण गर्ने, बजार अनुगमनलाई अनुगमनमा मात्र सीमित नगरी नतीजा देखिने गरी बजारमा प्रशासनिक उपस्थिति गराउने जानकारी दिए । ‘अनुगमनलाई सहजीकरण गर्न आवश्यक स्रोत र साधन उपलब्ध गराइनेछ । यसबाट मुद्रास्फीतिलाई लक्षित सीमाभित्रै राख्न सहयोग पुग्नेछ,’ योजनामा भनिएको छ

प्रतिक्रिया दिनुहोस्