कार्यालय समयमा सांगठनिक गतिविधि नगर्ने एमाले निकट कर्मचारी संगठनको घोषणा


१८ माघ । नेकपा (एमाले) निकटका सरकारी कर्मचारीहरुको छाता संगठन नेपाल निजामति कर्मचारी संगठनले कार्यालय समयभित्र कुनै पनि सांगठनिक कार्यक्रम र गतिविधि नगर्ने घोषणा गरेको छ ।

दसौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पहिलो केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचित नयाँ नेतृत्वको पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केदारप्रसाद देवकोटाले भने– ‘अबदेखि संगठनले आयोजना गर्ने सांगठनिक कार्यक्रम र एवं गतिविधिहरु कार्यालय समयमा नगर्ने निर्णय भएको छ ।’

कार्यालय समयमा सेवाग्राहीलाई सेवा दिनु पर्ने भएकाले सांगठनिक कार्यक्रम र एवं गतिविधिहरु कार्यालय समय अर्थात १०–५ भित्र नगर्ने निर्णय गरेको उनले जानकारी दिए । ‘हामी मात्र होइन सबै सरकारी कर्मचारी कार्यालय समयम कार्यालयको कुर्सीमा भेटिनुपर्छ,’ उनले भने, ‘सेवाग्राही सेवा लिन कार्यालय पुग्दा कर्मचारी कुर्सीमा अनिवार्य भेटिनुपर्छ । हामी देशभरी नै यो अभियान चलाउँछौँ । हाकिमहरुलाई पनि यही दवाव दिन्छौँ ।’

कार्यालय समयमै कर्मचारीहरुलाई आन्न्दोलन खटाएको विषयमा सञ्चारकर्मीले जिज्ञासा राख्दा देवकोटाले देश विभाजन गर्ने धम्की दिनेहरुका विरुद्धको आन्दोलन भएकाले आफूहरु सहभागी भएको बताए । ‘राष्ट्रियताका सवालमा सरकारी कर्मचारी टुलुटुलु हेरेर बस्न सक्दैनन्,’ उनले भने, ‘कसैले राष्ट्र नै टुक्र्याउने धम्की दिन्छ र त्यसको विरुद्धमा आन्दोलन गर्नुपर्ने भयो भने हामी मात्र होइन सबै कर्मचारीलाई कार्यालयमा ताला लगाएर सडकमा उतार्छौ ।’

त्यस्तो बेलामा कारबाही हुन्छ भने कारवाही भोग्न तयार रहेको पनि उनले बताए ।  त्यसैगरी बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्