स्वास्थ्य संस्थामा विरामी बढे, ज्वरोले गाँउ नै प्रभावित


मदनराज जैशी

१६ भदाै । बाजुरा स्वास्थ्य संस्था र नीजि मेडिकलमा केही दिन यता विरामीको अत्याधिक चाप बढेको छ । ज्वरो आउने, वाकवाकी लाग्ने, रुघाखोकी लाग्ने जस्ता समस्या लिएर विरामी उपचारका लागि आउने गरेको रावल मेडिकल सेराका सञ्चालक तुलसी रावलले बताईन् ।  मेडिकलमा उपचार गर्न आउने मध्ये ८० प्रतिशत विरामी भाईरल ज्वरोका विरामी आउने गरेका छन् ।

रावलका अनुसार एकसाता एकता सत प्रतिशत विरामीको संख्यामा वृद्धी भएको छ । दैनिक जसो २० देखि ३० जना विरामी आउने गरेकोमा हाल ७० जना भन्दा बढी ज्वरो र रुघाखोकीका विरामी मात्र आउने गरेको रावलले बताईन् ।

ज्वरोका कारण कैलाशमाडौं, ब्रह्मतोला, कुल्देवमाडौं लगायतका गाविसमा गाउँ नै प्रभावित बनेका छन् । ज्वरोका कारण प्रत्येक व्यक्ति विरामी परेको स्थानीय खडक थापाले बताए । थापा स्वयम गएको एक साता देखि ज्वरोका कारण थला परेका छन् ।

उनको परिवार सहित कैलाशमाडौं ८ बाँगापाटा सिंगो गाउँ नै ज्वरो र रुघाखोकीले प्रभावित बनेको छ । रोगको संक्रमण गाउँ गाउँमा फैलिएको टाँटे स्वास्थ्य चौकी इन्चार्ज दीपक शाहले बताए । स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बढी नै विरामी भाईरल ज्वरोका रहेको शाहले बताए । विरामीको चाप बढेपनि स्वास्थ्य चौकीमा औषधीको अभाव देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यलयले तीन महिनाका लागि दिने औषधी एक महिनालाई समेत अपुग हुने गरेको शाहको भनाई छ । रोगको संक्रमणले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । गाउँ स्तरमा रहेका स्वास्थ्य संस्थाले पनि विरामीको अत्याधिक चाप बढेको बताएका छन् ।
विरामी स्वास्थ्य संस्थामा औषधी किन्नु पर्ने र निको नहुने भन्दै स्थानीय निजी मेडिकलमा उपचारका लागि जाने गरेका छन् । राज्यले निशुल्क स्वास्थ्य सेवा भनेपनि कार्यान्वयन नहुँदा उनीहरु ऋण काढेर उपचार गर्न बाध्य छन् ।

स्वासथ्य संस्थामा औषधी पाईदैन, निको पनि हुँदैन, त्यसैले बढीजसो विरामी मेडिकल मै जाने गरेका छन् । मेडिकलमा बढी क्षमताको औषधी दिने र केही दिनमै निको भएपनि त्यसले दिर्घकालिन असर पुग्ने स्वास्थ्य कर्मीको भनाई छ । यता ब्रहमतोला स्वास्थ्य चौकी इन्चार्ज वेद प्रकाश जोशीले केही संख्यामा वृद्धी भएपनि सबै रोगका विरामी बराबर रहेको बताए ।

उनले पखाला, भाईरल ज्वरो र रुघाखोकीको संक्रमण फैलिएको र गएको महिना भन्दा यो बेला संख्यामा कम हुँदै गएको जोशीले भने । स्वास्थ्य संस्थामा नआई निजि मेडिकलमा उपचार गर्न गएको बारे जोशीले औषधी नभएको समय बाहेक स्वास्थ्य चौकीमा नै आउने गरेको दाबी गरे । स्वास्थ्य संस्थामा औषधी अभाव भएपछि निजि मेडिकलमा जानुको विरामीलाई विकल्प नरहने इन्चार्ज दीपक शाहले बताए ।
जिल्ला स्वास्थ्य पहिलो त्रैमासिकमा आउनु पर्ने औषधी आई सकेको बताए । गाउँ गाउँमा संक्रमण फैलिएर पछि स्थानीय त्रसित बनेका छन् । यता जिल्ला अस्पतालमा पनि विरामीको संख्यामा वृद्धी भएको छ । उपचारका लागि आउने विरामी मध्ये अधिकांश निमोेनियाका विरामी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर मोहन नाथले बताए । नाथका अनुसार दैनिक जसो १ सय बढी विरामी उपचारका लागि आउने गरेका छन् । विरामीको चाप बढेसँगै भौतिक संरचना अभावका उपचार गर्न समस्या हुने गरेको डा.नाथको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्