चिनियाँ राष्ट्रपतिलाई भारतको भूमिमा गएर प्रचण्डले निम्तो दिएको भन्दै संसदमा आलोचना


३० असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपालको आन्तरिक विषयलाई अन्तर्राष्ट्रिय मामिलामा जोडेर सरकारले असन्तुलित कूटनीतिक काम गरेको आरोप लगाएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेकपा (एमाले) का डा राजन भट्टराईले यस्तो आरोप लगाएका हुन् ।  उनले अघिल्लो सरकारले परराष्ट्र नीतिलाई सन्तुलित बनाउन नसकेको भन्दै माओवादीले नयाँ समीकरणसहित सरकार गठन गरेको स्मरण गराउँदै भने– ‘तर त्यसअनुसार काम अघि बढ्न सकेन ।’
भट्टराईले सरकारबाट दुवै छिमेकी मुलुकमा विशेष प्रतिनिधि पठाइएको र त्यसपछि दिइएका सार्वजनिक अभिव्यक्ति कार्यान्वयनमा नआएको पनि गुनासो गरे ।  उनले प्रधानमन्त्रीले संसद्लाई स्पष्ट पार्नुपर्ने माग पनि अघि सारे  ।
नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले भारतको गोवामा ब्रिक्स सम्मेलन भइरहेका अवसरमा नेपालमा चिनियाँ राष्ट्रपति सि जिन पिङको भ्रमण हुने सम्भावना भए पनि त्यसो हुन नसक्दा नेपाललाई दुरगामी असर परेको बताए । उनले चिनियाँ राष्ट्रपतिलाई भारतको भूमिमा गएर नेपालका प्रधानमन्त्रीले निम्तो दिनुपर्ने दुर्भाग्यपूर्ण स्थिति भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्