सहायक बाँध भत्किँदा आँधीमुहान क्षेत्र खतरामा


 

३१ असार । मुलुककै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको सहायक बाँध वर्षाले भत्काएपछि आँधीमुहान क्षेत्र खतरामा परेको छ ।

वर्षाका कारण केही वर्ष अगाडि जिविसले लगाएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको पर्खाल भत्किएको हो ।

श्रीकृष्ण गण्डकी गाविस–८ आँधीमुहानमा आँधीखोलाले नदीको कटान गरेपछि यहाँका १२ घर पहिरोको जोखिममा रहेका छन् । पहिरोका कारण जोखिममा परेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने भएको छ ।

नदी कटानका कारण आँधीमुहान आसपासका बस्तीसमेत चर्किएको स्थानीयवासी रुमादेवी बस्यालले बताए ।
नदी कटानकै कारण आँधीमुहानमा रहेको श्रीकृष्ण गण्डकी गाविस र निवुवाखर्क गाविस जोड्ने झोलुङे पुलसमेत खतरामा रहेको छ । उक्त पुल खतरामा परेसँगै पर्वत बागलुङ आवतजावतमा समस्या थपिने सम्भावना बढेको स्थानीयवासी रत्न कुँवरले बताए ।

मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणका क्रममा विसं २०५७ देखि मालबाहक ट्रक र जिपका इन्जिन राखेर कालीगण्डकी नदीमा सञ्चालनमा आइरहेको स्टुमर जलाशय सेवा अहिले अवरुद्ध बनेको छ ।

दशवटा स्टिमरले आँधीमुहान क्षेत्रदेखि पिढीखोलाको सेतीवेणीसम्म सात किमीको जलाशय सेवा दिँदै आएकामा नदी कटान भएपछि सो सेवा बन्द भएको हो ।

विद्युत् केन्द्रले बिना जानकारी ड्यामको ढोका खोल्दा स्टुमर बगाउने तथा डुबाउने गर्दा लाखौँको सम्पत्ति हिनामिना भएको शिला शालीग्राम कालीगण्डकी जल यातायात प्राइभेट लिमिटेडका अध्यक्ष टीकाराम कुँवरले बताउनुभयो । जलाशय सेवाबाट स्याङ्जा, पर्वत, गुल्मी जिल्लाका २३ वटा गाविस प्रत्यक्ष लाभान्वित छन् ।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र बेल्टारीका प्रमुख राजाराम पाण्डेयले माथिल्लो निकायमा जानकारी गराई समस्याको समाधानतर्फ लाग्ने बताए । जिविसले जोखिम क्षेत्रको अनुगमन गर्दै समस्या समाधानका लागि सहयोग गर्ने बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्