वर्षमानको खल्तीमा ६ सय नेताको नाम, केन्द्रीय कार्यालयको अभिलेखमा ‘गुमनाम’


काठमाडौं । एमाओवादी र नेकपा माओवादी एकीकरण गरेर बनेको नेकपा माओवादी केन्द्रमा १ हजार ९९ जनाको जम्बो केन्द्रीय महाधिवेशन आयोजक समिति बनेको छ । तर, माओवादीभित्र आश्चर्यको स्थिति के देखिएको छ भने एकीकरण भएको करिब एक महिना पुग्न लाग्दासमेत आयोजक समितिमा परेका करिब ६ सय जनाको नाम अझै केन्द्रीय कार्यालयको अभिलेखमा भेटिँदैन ।
प्रचण्ड माओवादी र बादल नेतृत्वको माओवादीको केन्द्रमा रहेका केन्द्रीय सदस्यहरूको नाम एकीकरणपछि माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा अभिलेख रहे पनि बाँकी आयोजक समिति सदस्यको नाम ‘गुमनाम’ राखिएको छ । त्यसो त ती नाम आयोजक समिति गठनका लागि बनाइएको कार्यदल सदस्यद्वय वर्षमान पुन र देव गुरुङको खल्तीमा मात्रै रहेको माओवादीकै नेताहरूले टिप्पणी गर्न थालेका छन् । पार्टी हेर्डक्वार्टर बैठकमा नाम अनुमोदन भए पनि शीर्षस्थ नेताहरूलाई नै को–को केन्द्रीय महाधिवेशन आयोजक समितिमा छन् भन्ने ख्याल छैन ।
पछि थपिएका ६ सय जनाको नाम दुई नेताको खल्तीभित्रै सीमिति रहेका बेला सामाजिक सञ्जालहरूमा माओवादीको आयोजक समितिलाई खिल्ली उडाउनेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । ‘कतै तपाईं कोटेश्वरतिर त हुनुहुन्न, बाटामा हिँड्दाहिँद्दै पाखुरामा समाएर केन्द्रीय सदस्य बन्नुप¥यो भन्दा आपत्मा पर्नुहोला…’ सामाजिक सञ्जालहरूमा यस्ता टिप्पणी प्रशस्तै आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्