मैले चिनेका मदन भण्डारीःमाधव नेपाल


०३२ देखि ३४ सालसम्म जलेश्वर जेलको दुई वर्षको बसाइपछि म छुटेँ । धनुषा जिल्लामा प्रहरीले घेरा हालेर पक्रिएपछि अञ्चलाधीशको फैसलाअनुसार राजकाज मुद्दामा जेल परेको थिएँ । जेलबाट छुटेपछि कोकेका सचिव सिपी मैनालीले पार्टी कामको जिम्मेवारी दिएपछि काठमाडौं पुगेँ । एक वर्ष पूरा नहुँदै ०३५ सालको सुरुतिर फेरि मलाई पार्टी काम सम्हाल्न विराटनगर जान निर्देशन दिइयो । सिपी कमरेडले निर्देशन दिँदै भन्नुभयो, ‘पुष्पलाल समूहबाट विद्रोह गर्नुभएका कमरेड मदन भण्डारीसँगै अर्को समूहबाट मोदनाथ प्रश्रित र वामदेव गौतमले पनि विद्रोह गर्नुभएको छ । विराटनगर पुग्नेबित्तिकै मदन भण्डारीसँग कुरा गर्नुस् । त्यस्तै, रातो झन्डा समूहबाट वासु शाक्य, चित्र निरौलासहितलाई कोअर्डिनेसन केन्द्रमा प्रवेश गराउनुहोस् ।’विराटनगर पुग्नेबित्तिकै कमरेड मदनसँग भेट भयो । त्यसपछि रातो झन्डा समूहका साथीहरूसँग कुराकानी गरेर उहाँहरूलाई कोअर्डिनेसन केन्द्रमा प्रवेश गराइयो । त्यसयता मदन कमरेडसँग करिब १६ वर्ष निरन्तर सहकार्य भयो ।

०००

०३५ सालमा मुरिवामा सम्पन्न कोअर्डिनेसन केन्द्रको तेस्रो राष्ट्रिय सम्मेलनमा कमरेड मदन भण्डारीलाई बोलाइएको थियो । उहाँ त्यही सम्मेलनबाट कोअर्डिनेसन केन्द्रको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । त्यसलगत्तै उहाँलाई पूर्वमा पार्टी कामको जिम्मेवारी दिइयो । त्यही सम्मेलनबाट जीवराज आश्रित पनि केन्द्रीय कमिटीमा निर्वाचित हुनुभएको थियो । केही समयपछि काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकले कोअर्डिनेसन केन्द्रलाई कम्युनिस्ट पार्टीमा रूपान्तरण गर्ने र अन्य पार्टीलाई समेत मिलाउने उद्देश्यले मोरङमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्‍यो । तयारीको जिम्मा मदन भण्डारीलाई दिने भयो ।

मोरङको इटहरामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट उहाँ केन्द्रीय सदस्य र म पोलिटब्युरो सदस्यमा निर्वाचित भएँ । यो सम्मेलनपछि उहाँसँग केन्द्रीय कमिटीका बैठहरूमा भेटघाट र छलफल हुँदै गयो । विचार पनि मिल्दै गए । ०३६ सालको जनमतसंग्रहबारे भएको बहसमा उहाँ सक्रियतापूर्वक सहभागी हुनुहुन्थ्यो । कमरेड मदन कुनै पनि विषयमा गहिराइमा पुगेर मात्र धारणा राख्नुहुन्थ्यो, तीक्ष्ण विश्लेषण गर्नुहुन्थ्यो । त्यही सेरोफेरोमा उहाँले शान्तिक्षेत्र प्रस्तावसम्बन्धी पुस्तक पनि लेख्नुभयो । आफूलाई देशभक्त ठान्ने, तर निरंकुश पञ्चायत र राजतन्त्र जोगाउने राजाको कुत्सित मनसायको उहाँले पुस्तकमार्फत भण्डाफोर गर्नुभयो । हामीले त्यो पुस्तिकमार्फत राजाको प्रस्तावलाई आलोचनात्मक समर्थन गर्‍यौँ ।

०३७ सालको कात्तिकमा सम्पन्न केन्द्रीय कमिटीको सातौँ बैठकमा प्रधान अन्तरविरोधका सन्दर्भमा चलाइएको सैद्धान्तिक बहसमा मदन भण्डारी सक्रिय सहभागी हुनुहुन्थ्यो । बैठकमा सिपी मैनालीले घरेलु सामन्तवाद र साम्राज्यवादसँगको नेपाली जनताको अन्तरविरोध नै प्रमुख अन्तरविरोध रहेको मान्यता अघि सार्नुभयो । तर, हामी त्यसमा सहमत भएनौँ । मदन भण्डारी, म, वामदेव गौतम र मुकुन्द न्यौपानेसहितले आन्तरिक अन्तरविरोध प्रधान हुने, दोस्रो अन्तरविरोध बाह्य शक्ति र देशभित्रका शक्तिसँग हुने धारणा राख्यौँ । मतदानमा हामी अल्पमतमा पर्‍यौँ, अरू साथीको मत बहुमतले पास भयो । तर, अर्को बैठकबाट भने अन्ततः हाम्रै लाइन पारित भयो । यी सबै बहसमा मदन कमरेडको भूमिका अग्रपंक्तिमा हुन्थ्यो ।

०००

०३९ सालमा पार्टीभित्र ठूलो समस्या देखा पर्न थाल्यो । त्यसो त ०३७ सालमै कार्यनीतिबारे विवाद हुँदा अन्तरिम क्रान्तिकारी सरकारको कार्यक्रमका साथ वामदेव गौतम अगाडि आउनुभयो । त्यो प्रस्तावप्रति झलनाथ खनालको पनि समर्थन थियो । तर, हामी विपक्षमा उभियौँ । मोहनविक्रम सिंहको समूहसँग मेल खाने त्यो कार्यनीतिप्रति हाम्रो विरोध रहँदारहँदै पनि पास भयो । विरोधी कित्तामा मदन भण्डारी, म र मुुकुन्द न्यौपाने उभिएका थियौँ । अन्तरिम क्रान्तिकारी सरकार होइन, जनवादी क्रान्तिको कार्यक्रमका साथ अघि बढ्नुपर्ने मतमा हामी दृढतापूर्वक उभियौँ । ०३७ सालमा चीन भ्रमणमा सिपी मैनाली र ईश्वर पोखरेल जानुभयो । ठीक एक वर्षपछि ०३८ सालमा म, जीवराज आश्रित र अमृत बोहरा चीन भ्रमणमा गयौँ । भूमिगत कालको भ्रमण भएकाले अत्यन्त गोप्य राख्ने भनिए पनि सिपी मैनालीको साथीहरूसँग अन्तरविरोध बढ्न थालेको थियो । उहाँले झापादेखि नै गुटबन्दी गरेको आरोप लाग्न थालेपछि विचलित हुँदै जानुभयो र आरोपबाट मुक्त नभएसम्म पार्टी महासचिवबाट राजीनामा दिने कुरा गर्न थाल्नुभयो ।

हामीले धेरै सम्झायौँ, तर जिद्दी गर्दै सिपीले मसँग भन्नुभो, ‘म आरोपबाट मुक्त हुन चाहन्छु, महासचिवबाट हट्छु, तपाईंले जिम्मेवारी सम्हाल्नुस् या अरू कसैलाई त्यो जिम्मेवारी दिइयोस् ।’ त्यतिवेला म पार्टीको पूर्वाञ्चल प्रमुख थिएँ । मदन भण्डारी र ईश्वर पोखरेल मेरैमातहत सदस्य हुनुहुन्थ्यो । मैले उहाँलाई महासचिव नबन्ने जानकारी गराएँ । राजविराजमा सम्पन्न सम्मेलनमा मैले मदन कमरेडलाई महासचिव बन्न प्रस्ताव गरेँ, तर उहाँले अस्वीकार गर्दै भन्नुभयो, ‘मेरो वेला भइसकेको छैन, तपाईं नै बन्नुहोस् ।’ वामदेव कमरेडसँग बुटवलमा भेट भयो । उहाँसँग झलनाथ खनाललाई महासचिव बनाउँदा उपयुक्त हुने प्रस्ताव गरँे । तर, मदन कमरेडले जस्तै उहाँले पनि मलाई नै प्रस्ताव गर्नुभयो ।

०००

०४३ सालअघिदेखि नै हामी नयाँ विमर्शमा थियौँ । नेपालको कम्युनिस्ट आन्दोलनले सामना गरिरहेको चुनौती, विश्व कम्युनिस्ट आन्दोलनमा खाएको धक्का विवेचना गर्दै नयाँ ढंगले जानुपर्ने सोच अघि सार्नुपर्ने आवश्यकता महसुस गरिसकेका थियौँ । संसद्मा पनि हामीले जनवादी बहुदलको विचार अघि सारेर नारा लगाउन सुरु गरेका थियौँ । यी सबै कुरामा मदन भण्डारी र मेरोबीचमा निरन्तर छलफल हुन्थ्यो । त्यसक्रममा बहुदलियता अँगाल्ने, प्रतिस्पर्धाको राजनीतिमा जाने निष्कर्षमा पुगिसकेका थियौँ, चुनावको महत्व बुझिसकेका थियौँ । राष्ट्रिय पञ्चायत चुनावको सफलता र संसद्मा खेलेको भूमिकाको अनुभवलाई आधार मानेर वैचारिक बहसको शृंखलालाई सैद्धान्तिकृत गर्ने प्रयास अघि बढायौँ । त्यसक्रममा बहुदलीय प्रतिस्पर्धासहितको जनवाद सारियो । ०४६ मा पञ्चायत ढल्यो । संविधान निर्माणका लागि वाममोर्चाका तर्फबाट म, भरतमोहन अधिकारी, निर्मल लामा मस्यौदा समितिमा प्रतिनिधि चुनियौँ । संविधान निर्माणका क्रममा माक्र्सवादीका नेता भरतमोहनजीसँग पार्टी एकताका विषयमा पनि बाक्लै कुरा हुँदै गयो । त्यसक्रममा हामी पार्टी एकता गर्ने निष्कर्षमा पुग्यौँ ।

एकीकृत पार्टीका लागि भरतमोहनजीले बहुदलीय प्रतिस्पर्धासहितको जनवाद अँगाल्ने दस्ताबेज तयार पार्नुभो भने अर्कातर्फ मदन कमरेडले जनताको बहुदलीय जनवाद पुस्तिका तयार पार्नुभयो । अन्ततः ०४७ मै पार्टी एकता भयो । ०४९ सालको पाँचौँ महाधिवेशनमा बहुदलीय प्रतिस्पर्धा अँगाल्ने दस्ताबेज अघि सारिएपछि के नाम राख्दा आफ्नोपन देखापर्छ भन्ने बहस र छलफल चल्यो । एकाथरी साथी बहुदलीय जनवाद हुनुपर्छ भन्ने पक्षमा उभिनुभो, तर केन्द्रीय कमिटी बैठकमा म त्यतिले पुग्दैन, बहुदलीय जनवादका अगाडि ‘जनताको’ शब्द थप्नुपर्छ भनेर अडिएँ । अन्ततः मैले लिएको अडान नै पारित भयो । पाँचौँ महाधिवेशनमा मतामतको स्थिति हुँदा महाधिवेशन हलमा मैले उभिएर सबैलाई भने, ‘को कता हो, हात उठाउनुहोस् ।’ मेरो यो आवाज सुनेर हात उठाउन नचाहने कतिपय साथीहरूले पनि जनताको बहुदलीय जनवादको पक्षमा हात उठाउन थाल्नुभयो, जबज पारित भयो । महाधिवेशनमा प्रस्तुत बद्री खतिवडाको वातावरणीय जनवाद, सिपी मैनालीको नयाँ जनवाद र रघुजी पन्तको सामाजिक जनवाद पराजित भयो । झलनाथ खनाल असहमत हुनुहुन्थ्यो । उहाँले जनताको बहुदलीय जनवादलाई बोकाको शरीरमा दक्ष प्रजापतिको टाउको राखेजस्तै हो भन्ने संज्ञा दिनुभयो ।

०००

माले–माक्र्सवादी एकीकरणका वेला मदन भण्डारीसँग मनमोहन अधिकारीलाई अध्यक्ष बनाएर उहाँलाई महासचिव बनाउने विषयमा कुनै सल्लाह भएको थिएन । तर, स्वाभाविक रूपमा मनमोहनजत्तिको उचाइको व्यक्तित्व, निर्वाचनमा भाग नलिइसकेको अवस्थालगायतलाई मध्यनजर गर्दै ०४७ पुसमा एकीकरणका क्रममा अध्यक्ष र महासचिवको पदको बाँडफाँड गर्‍यौँ । त्यसपछिको पाँचौँ महाधिवेशनमा दुवै पद ९अध्यक्ष र महासचिव० राख्ने कि, एउटै पद ९महासचिव० राख्ने विषयमा धेरै ठूलो विवाद भयो । मदन भण्डारी महासचिव मात्र राख्नुपर्छ भन्ने पक्षमा उभिनुभयो । दुई पद राखेर मनमोहनलाई अध्यक्ष बनाउने हो भने आफू कुनै पदमा नबस्ने भन्दै मदन भण्डारी अडिन थाल्नुभयो । त्यसपछि मलगायतका केही साथीले मदन भण्डारीलाई महासचिव र मनमोहन अधिकारीलाई अध्यक्ष बनाउने प्रस्ताव गर्‍यौँ । पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको क्रान्तिकारी स्पिरिटलाई संयोजन गरेर लैजानुपर्छ भन्ने हाम्रो भनाइपछि अन्ततः कमरेड मदन पनि कन्भिन्स हुनुभयो ।

०००

म संविधान सुझाब आयोगको सदस्य हुँदा मदन कमरेडसँग बढी नै परामर्श हुन्थ्यो । बैठकमा बाहेक पार्टी महासचिव मदनसँग कसरी संविधानको मस्यौदा बनाउने, जटिलताहरू कसरी फुकाउने भन्ने विषयमा छलफल हुन्थे । ०४७ सालको संविधानको प्रस्तावना लेख्ने क्रममा हाम्रो प्रस्ताव स्वीकार नगरिएपछि मस्यौदा आयोगको बैठक छाडेर म सीधै पार्टी कार्यालय बागबजार आएँ । मस्यौदा आयोगका अध्यक्ष विश्वनाथ उपाध्याय चिन्तित बनेर मेरो खोजीमा लाग्नुभएछ । केही समयपछि उहाँले मलाई फोन गरेर प्रश्न गर्नुभयो– प्रस्तावनामा के लेख्ने रु मैले पनि मदन भण्डारीसँग परामर्श गरेर फोनबाटै के–के लेख्ने सुझाब दिएँ । प्रस्तावनाको अन्तिम टुंगो लाग्यो । खासगरी राजालाई हिन्दू भन्ने कि नभन्ने, राज्यलाई हिन्दू भन्नेरनभन्ने ठूलो बहस भएको थियो । हामीले सकेसम्म राजाको धेरै अधिकार ताछ्न, काट्न र छाँट्न चाहेका थियौँ । तैपनि एउटा निकास त खोज्नैपथ्र्यो । त्यसैले मदन भण्डारीसँगको परामर्शमा संविधानको मस्यौदामा सुरुमा ६ बुँदे असहमतिपत्र दियौँ । तर, अध्यक्ष विश्वनाथ उपाध्याय औपचारिक रूपमा त्यो असहमतिपत्र दर्ज गर्न तयार हुनुभएन । संविधान बन्ने क्रममा मदन भण्डारीले ६बुँदे असहमतिका आधारमा पत्रकार सम्मेलनमार्फत संविधानप्रति असहमतिका २७ बुँदा सार्वजनिक गर्नुभयो । यो घटना म सधैँ सम्झिरहन्छु ।
०००

हामी प्रजातन्त्र शब्द प्रयोग गर्दैनथ्यौँ । किनभने त्यो शब्द कांग्रेसको मात्र पेवा ठान्थ्यौँ । त्यसैले हामी जनवाद शब्द प्रयोग गथ्र्यौँ । जनतन्त्र शब्द चौथो महाधिवेशबाट विकसित मोहनविक्रम सिंह समूहको पेवा ठानिन्थ्यो । तर, हामी बिस्तारै डग्मा ९जडसूत्र०वादमा फसेर केही पनि फाइदा हुँदैन भन्ने निष्कर्षमा पुग्यौँ । जनताले बुझ्ने शब्द प्रयोग गर्नुपर्छ, बहुदल पनि भन्न नसक्ने जनवाद मात्रै भनेर मात्र हुँदैन भन्ने निष्कर्षमा पुग्यौँ । जनवाद अरूले नबुझ्ने, बहुदल हामीलाई अपाच्य हुने भएकाले पञ्चायतकालमा जनवादी बहुदल शब्द प्रयोग गरिरहेका थियौँ । तर, पछि गएर प्रजातन्त्र शब्दको पनि आफ्नै वेट रहेछ भन्ने बुझेकाले प्रयोग गर्ने निष्कर्षमा पुग्यौँ । त्यसपछि प्रजातन्त्रको आन्दोलनमा उत्रिने कि नउत्रिने रु कांग्रेसले प्रजातन्त्रको नारा दिइरहेको छ, तर हामीले के नारा दिने रु बहस भयो । मदन भण्डारी प्रजातन्त्र शब्द र नाराको पक्षमा उभिनुभयो, तर मैले पूर्ण प्रजातन्त्र शब्द प्रयोग गर्नुपर्ने भन्दै फरक मत राखँे । त्यसपछि प्रजातन्त्रलाई आफ्नो देशअनुकूल व्याख्याअनुसार प्रयोग गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेका हौँ ।

०००

जेएन खनाल महासचिव भए पनि लामो समय उहाँ त्यही पदमा रहिरहने स्थिति बनेन । पार्टीमा अन्तरबिरोध बढिरहेका कारण उहाँलाई हटाउनैपर्ने स्थिति आयो । विकल्पमा मैले मदन भण्डारीलाई महासचिव बन्न प्रस्ताव गरेको थिएँ । उहाँ तयार त हुनुभयो, तर बीचैमा हटाउँदा राम्रो सन्देश नजाने भन्दै महाधिवेशनसम्म पर्खौँ भन्नुभयो । उहाँमा पदप्रति आतुरता होइन, नेतृत्व सम्हाल्ने कुरामा पनि धैर्यता देखियो । बरु छिटोभन्दा छिटो महाधिवेशन गर्ने भन्दै तयारी गरेर ०४६ को भदौमा मात्र चौथो महाधिवेशन सम्पन्न गर्‍यौँ । त्यो महाधिवेशनबाट उहाँ महासचिव चयन हुनुभयो । कूटनीतिक नियोग, अन्य विदेशी मित्र, दरबारनिकटका व्यक्तिलगायतका सबै भेटघाटमा मदन कमरेडले मलाई सँगसँगै लैजानुहुन्थ्यो । भेटघाटअघि हामी दुईबीच तयारीबारे पनि छलफल हुन्थ्यो ।

०००

गिरिजाप्रसाद कोइरालाले भारतसँग टनकपुर सन्धि गरेको विषयमा मदन भण्डारी र मेरो मत मिल्यो । टनकपुर सम्झौतालाई अस्वीकार गर्दै रद्द गर्नुपर्ने निष्कर्ष निकाल्यौँ । मदन कमरेड र म बसेर महाकाली अञ्चलका साथीहरूसँग छलफल गर्‍यौँ । प्रेमसिंह धामी, उर्वादत्त पन्त र ऋषिराज लुम्सालीलगायतसँग व्यापक छलफल गरेपछि हामी टनकपुर सन्धि अस्वीकार गर्ने, महाकाली नदीलाई सीमा नदीका रूपमा स्विकारेर पानी आधा–आधा हो भन्ने मान्यतामा अघि बढ्ने, बिजुली उत्पादनमा दुवैको समान हक लाग्नेलगायतका अडान राख्ने निष्कर्षमा पुग्यौँ । त्यसपछि भारतको नेतृत्व र सरकारसँग कुरा गर्ने टिमको नेतृत्व गर्ने जिम्मेवारी मदन भण्डारीले मलाई नै दिनुभयो । म, सिपी मैनाली र प्रेमसिंह धामी दिल्ली गयौँ । त्यहाँ सिपिआइमका महासचिव हरिकिसन सुरजितसँग कुराकानी भयो । उहाँले निवासमा शिवशंकर मेननलाई बोलाउनुभो र दस्ताबेज देखाएर टनकपुर सन्धि अस्वीकार गर्ने अडान राख्यौँ । मेननले विकल्पमा के हुन्छ भन्ने प्रश्न गरे, जवाफमा मैले नै महाकाली सन्धि गरौँ, पञ्चेश्वर परियोजना अघि बढाऔँ भन्ने कुरा राखेँ । त्यसअनुसार ०५२ मा छलफल हुँदा पार्टीमा विवाद भयो । त्यही विवादले ०५४ को छैटौँ महाधिवेशनमा पार्टी फुट्यो ।

०००

जेठ ३ अघि मदन भण्डारीले पोखराबाट चितवन जाने, पूर्वीनेपाल हुँदै फर्किने योजना बनाउनुभयो । मैले यो त साह्रै लामो कार्यक्रम भयो भनेको थिएँ । तर, उहाँले समय व्यवस्थापन भइसकेकाले केही छैन, तपाईं छँदै हुनुहुन्छ, पार्टीको काम अगाडि बढाउँदै गर्नुस् भन्ने निर्देशन दिएर पोखरा जानुभयो । फर्किँदा दासढुंगामा दुर्घटना भएको अप्रत्यासित खबर सुनेपछि स्तब्ध भएँ । सुन्नेबित्तिकै दासढुंगा पुगँे । त्यहाँ पुग्दा हजारौँ मानिस भेला भइसकेका थिए । भोलिपल्ट बिहान नारायणी नदीको पुलभन्दा केही तल उहाँको शव फेला पर्‍यो । काठमाडौंमा उहाँको शव ल्याइएपछि भव्यताका साथ दाहसंस्कार गर्‍यौँ । जेठ ९ गते बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत मलाई महासचिव बनायो ।

०००

पञ्चायतविरोधी आन्दोलनमा मदन भण्डारी, म र जेएन खनालको छुट्टै कमान्ड थियो । हामीहरूबीच छलफल हुँदै जाने क्रममा कुनै न कुनै नेतालाई अर्धभूमिगत अवस्थाबाट खुला गर्ने र त्यो कामको जिम्मा राधाकृष्ण मैनालीलाई दिने सहमति भएको थियो । तर, आरके मैनालीले राजासँगको वार्ता र सम्झौतामा लिएको अडानबाट हामी सन्तुष्ट हुन सकेनौँ । त्यसैले आरकेलाई बहुदलीय व्यवस्थाको घोषणापछि विजयउत्सव मनाउन टुँडिखेलमा आयोजित आमसभामा मदन भण्डारीको निर्देशनमा वञ्चित गरियो । आरकेको स्थानमा सम्बोधनका लागि कमरेड जेएन खनाललाई पठाइएको थियो ।नयाँ पत्रिकावाट

प्रतिक्रिया दिनुहोस्