मिल्लान् त दुई कोरिया ?


उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच ऐतिहासिक शिखरवार्ता सम्पन्न भएको छ । चामत्कारिक मानिएको यस भेटवार्ताले विश्वको ध्यान खिचेको छ । सन् १९५०–५३ को कोरिया युद्ध भएको ६५ वर्षसम्म दुई कोरियाली देशबीच शान्तिसम्झौता नभएको अवस्थामा किमको भ्रमणलाई महत्वका साथ हेरिएको छ । सन् १९५३ जुलाई २७ मा उत्तर कोरिया, चीन, अमेरिका र रुसले कोरिया युद्धविरामको सम्झौतापत्रमा हस्ताक्षर गरे । तर, दक्षिण कोरिया त्यसबाट टाढै रह्यो ।

यसको अर्थ कोरिया युद्ध अन्त्यका लागि दुई कोरियाबीच शान्तिसम्झौता भएन । त्यसैले, औपचारिक शान्तिसम्झौता नभएसम्म कोरिया युद्ध अन्त्य भएको मान्न सक्ने अवस्था छैन । गत शुक्रबार अन्तरकोरिया शिखरवार्ता दक्षिण कोरियाको पिस हाउसमा भयो । यति मात्र होइन, युद्धपछि पहिलोपटक कोरियाका सर्वोच्च नेताले दक्षिण कोरियाको भूमिमा पाइला टेके । कोरिया युद्धपछि दुई देश विभाजन गर्ने सीमालाई उत्तर कोरियाली नेताले पार गरेर देखाए ।

अन्तरकोरिया शिखर सम्मेलनमा भएका घोषणा
किम र मुनले ६८ वर्षे लामो कोरियाली युद्धलाई औपचारिक रूपमा शान्तिसम्झौतामार्फत टुंग्याउने सहमति गरेका छन् । दुई देशबीचको शिखर सम्मेलनको मुख्य घोषणमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने र परमाणु हतियार निःशस्त्रीकरण गर्ने उल्लेख छ । यसैगरी, कोरिया विभाजन भएपछिका परिवारको पुनर्मिलन गराउने सहमति पनि उनीहरूले गरेका छन् । दुई कोरियाली देशको यस घोषणा विश्वशान्तिका लागि कोसेढुंगा साबित हुने आकलन गर्न थालिएको छ । किमको कदमलाई चिनियाँ राष्ट्रपति सी, अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेले स्वागत गरिसकेका छन् ।

कोरिया युद्धको सुरुवात
कोरिया दुई भागमा विभाजन भएको समय चीनमा पनि अमेरिका समर्थित राष्ट्रवादी पक्षधर र सोभियत संघ समर्थित कम्युनिस्ट पक्षधरबीच गृहयुद्ध चलिरहेको थियो । सन् १९४९ मा चीनमा कम्युनिस्ट पक्षधरले विजय हासिल गरे र गणतन्त्र चीनको स्थापना गरे । यसर्थ, चीनले समेत अमेरिकालाई चुनौतीका रूपमा हेरेको थियो । चीनमा कम्युनिस्ट सत्ता आएसँगै सन् १९५० को सुरुवातमा सोभियत संघ दक्षिण कोरियालाई पनि नियन्त्रणमा लिने समय आएको निष्कर्षमा पुग्यो । उत्तर कोरियाले दक्षिण कोरियालाई नियन्त्रणमा लिएको खण्डमा दक्षिणले स्विकार्ने र दुई कोरियालाई सिंगो कम्युनिस्ट राष्ट्र बनाउन सकिने आकलन सोभियत संघको थियो । दक्षिण कोरियाबाट अमेरिकाले हात झिकिसकेकाले अमेरिका कोरिया युद्धमा सामेल नहुने विश्वास सोभियत संघले गरेको थियो । सोभियत संघको यस्तो आत्मविश्वासका कारण सन् १९५० बाट सोभियत संघले उत्तर कोरियालाई हतियार तथा ट्यांक, बन्दुक, जहाज, सैन्य तालिमलगायत आवश्यक सामग्री दिएर युद्धका लािग तयार बनायो । उक्त समय दक्षिण कोरियासँग अमेरिकाले दिएका साना हतियार मात्र भएकाले हतियारमा उत्तर कोरिया अब्बल भएको निष्कर्षसमेत सोभियत संघको थियो ।

यसरी, युद्धका लागि उत्तर कोरिया तयार भएसँगै सोभियत संघका तर्फबाट स्टालिनले सन् १९५० अप्रिलमा दक्षिण कोरियामाथि आक्रमण गर्ने अनुमति दिए । यसका लागि उनले चीनबाट माओको समेत समर्थन खोजे । माओले सहमति जनाएपछि दक्षिण कोरियामाथि आक्रमणको योजना बनाउन स्टालिनले सोभियत संघका विशेष अधिकारीलाई उत्तर कोरिया पठाए । यद्यपि, शान्तिपूर्ण तबरबाट आफ्नो नियन्त्रणमा ल्याउने अन्तिम प्रयास भन्दै सन् १९५० जुन ११ मा सिम इल सङले केही कूटनीतिज्ञलाई दक्षिण कोरिया पठाए । तर, दक्षिण कोरियाली राष्ट्रपति स्याङमान रीले उत्तर कोरियाको प्रस्तावलाई ठाडै अस्वीकार गरे । परिणामस्वरूप, योजनाअनुरूप २५ जुनमा उत्तर कोरियाली सेना ३८औँ समानान्तर रेखातर्फ लम्कियो । दक्षिण कोरियाले पहिले आक्रमण गरेको बहाना बनाएर उत्तर कोरियाले दक्षिण कोरियाली भूमिमा छिरेर आक्रमण गर्न थाल्यो । उत्तर कोरियाका आधुनिक हातहतियार तथा ट्यांकमा भएको आक्रमण धान्ने सामथ्र्य दक्षिण कोरियासँग थिएन । यसरी उत्तर कोरियाले दक्षिण कोरियाली फौजलाई परास्त गर्दै झन्डै पूरै दक्षिण कोरिया कब्जा गरिसकेको अवस्था थियो ।

दक्षिण कोरिया समाप्त हुने स्थितिलाई बुझेर अमेरिका तत्काल संयुक्त राष्ट्रसंघ पुग्यो । उत्तर कोरियाविरुद्ध राष्ट्रसंघीय सेना प्रयोग गर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित गरायो । यद्यपि, उक्त प्रस्तावलाई सोभियत संघले ठाडै अस्वीकार गरेको थियो । उत्तर कोरियाविरुद्ध लड्न राष्ट्रसंघका २१ सदस्य राष्ट्रले सहयोगको प्रतिबद्धता जनाए । अमेरिका, संयुक्त राज्य बेलायत, क्यानडा, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, कोलम्बिया, इथियोपिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, टर्की, ग्रिस, थाइल्यान्ड, फिलिपिन्स र लक्जेम्बर्गलगायत सदस्य राष्ट्रले सैन्य बल तथा हतियार उपलब्ध गराए भने नर्वे, स्विडेन, डेनमार्क, भारत र इटालीलगायत सदस्य राष्ट्रले स्वास्थ्य सामग्री तथा एम्बुलेन्स पठाएका थिए । लाखौँको संख्यामा आएको राष्ट्रसंघीय सैन्य बलले उत्तर कोरियाली सैन्य बललाई धपाउँदै उत्तर कोरिया र चीनको सीमामा रहेको यालु नदीसम्म पु-याए । त्यसपछि चीन त्रसित भयो । राष्ट्रसंघीय सेनाले चीनमा पनि आक्रमण गर्न सक्ने आशंकाले चीनले ठूलो संख्यामा आफ्नो सैन्य बल परिचालन ग-यो । र, राष्ट्रसंघीय सेना पछि हट्न बाध्य भयो ।

यसरी, प्राविधिक रूपबाट हेर्दा कोरियाली युद्ध सुरु भएको ६८ वर्षपछि पनि कुनै शान्तिसम्झौता हुन सकेन । यस्तो पृष्ठभूमिका कारण उत्तर कोरिया र दक्षिण कोरियाबीच शत्रुता कायमै रह्यो । शान्तिसम्झौता नभएकाले दुई कोरिया सम्भावित युद्ध लड्न तयारी अवस्थामा थिए । साथै, आफ्नो देशको सुरक्षाका लागि परमाणु हतियारको विकास तथा क्षेप्यास्त्र विकासमा दुवै देश अग्रसर रहे । दक्षिण कोरियालाई अमेरिकाले इतिहासदेखि नै आफ्नो विरुद्धमा प्रयोग गरेकाले उत्तर कोरियाले अमेरिकालाई शत्रुको नजरले हेर्दै आएको हो । यस्तो परिस्थितिमा गत शुक्रबार उत्तर कोरियाली सर्वाेच्च नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच भएको शिखरवार्तालाई विश्व समुदायले चासोका साथ हेर्नु स्वाभाविक हो ।

‘आजै रकेट हान्छु, भोलि नै रकेट हान्छु’ भनेर धम्की दिँदै आएका उत्तर कोरियाली सर्वोच्च नेता किममा एकाएक आएको परिवर्तनबाट सारा विश्व अचम्मित छ । यद्यपि, उनलाई शान्तिको बाटोमा ल्याउन दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र चिनियाँ राष्ट्रपति सी जिनपिङले महत्वपूर्ण भूमिका खेलेको अनुमान छ ।

उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम
कोरिया विभाजित भएसँगै सन् १९४८ देखि सन् १९९४ सम्म किम इल सङले उत्तर कोरियाको बागडोर समाले । सन् १९५०–५३ सम्मको कोरिया युद्ध पनि उनकै नेतृत्वमा भएको थियो । दक्षिण कोरियालाई अमेरिकाले काँध थापेकाले आफ्नो सैन्य क्षमता थप मजबुत बनाउनुपर्ने ठम्याइ इल सङको थियो । यसकारण तत्कालीन सोभियत संघको सहयोगमा सन् १९७६–८१ सम्म उत्तर कोरिया क्षेप्यास्त्र विकास कार्यक्रममा केन्द्रित भयो । यसैबीच, सन् १९८४ मा स्कुड बी नाम दिइएको पहिलो मिसाइलको परीक्षण गरियो । सन् १९९४ मा इल सङको निधनपछि उनकै छोरा किम जोङ इल उत्तर कोरियाली सर्वोच्च नेता बने । उनले पनि मिसाइल विकास तथा प्रक्षेपण कार्यक्रमलाई निरन्तरता दिए । परमाणु बमको विकासमा जोड दिए ।

सन् २०११ मा उनको अवसानपछि उनका छोरा किम जोङ उनले कोरियाली सत्ता सम्हाले । हजुरबुबा र बुबाले थालेको परमाणु हतियारको अभियानलाई किम जोङ उनले आक्रामक रूपले अघि बढाए । सन् १९८४ देखि हालसम्म उत्तर कोरियाले एक सय ५० भन्दा बढी क्षेप्यास्त्र परीक्षण गरेको छ । त्यसमध्ये पाँचवटा परमाणु हतियारको परीक्षण गरिसकेको छ । जनवरी २०१६ मा उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बमसमेत परीक्षण गरेको थियो । गत वर्षबाट अन्तरमहादेशस्तरीय ब्यालेस्टिक मिसाइलको विकास तथा परीक्षणलाई किम जोङले महत्व दिएका थिए ।

कति शक्तिशाली छ परमाणु हतियार ?
उत्तर कोरियासँग छोटो दूरी, मध्यम दूरी, लामो दूरी र अन्तरमहादेशीय क्षेप्यास्त्र छन् । एक हजार किमिसम्मको मार हान्न सक्नेलाई छोटो दूरी, एक हजारदेखि तीन हजार किमिसम्म मार हान्न सक्नेलाई मध्यम दूरी, तीन हजारदेखि पाँच हजार पाँच सय किमिसम्म मार हान्न सक्नेलाई लामो दूरी र पाँच हजार पाँच सय किमिभन्दा टाढा मार हान्न सक्ने क्षेप्यास्त्रलाई अन्तरमहादेशीय दूरीको क्षेप्यास्त्रमा राखिएको छ ।

उत्तर कोरियासँग अमेरिका डराउनुको अर्को कारण ऊसँग भएको अन्तरमहादेशीय परमाणु हतियार हो । उत्तर कोरियाले १३ हजार किलोमिटरभन्दा टाढासम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइलको विकास गरेको छ । पछिल्लोपटक सन् २०१७ नोभेम्बर २८ का दिन उसले पूर्वी जापानी समुद्रीलाई लक्षित गरेर ब्यालेस्टिक मिसाइलको प्रक्षेपण गरेको थियो । यसको अर्थ अमेरिकालगायत विश्वका कुनै पनि महादेशभित्रको भूमिलाई उत्तर कोरियाले निसाना बनाउन सक्छ । यति शक्तिशाली हतियारका कारण अमेरिकासँगै जापान र चीनसमेत सशंकित भए ।

चरम भोकमरीमा परेको उत्तर कोरिया
९० को दशक उत्तर कोरियाका लागि निकै कष्टकर रह्यो । विशेषतः सन् १९९४–१९९८ सम्म व्याप्त आर्थिक मन्दी तथा भोकमरीका कारण उत्तर कोरियाली नागरिक दर्दनाक जीवन बाँच्न बाध्य भए । किम जोङ इलको शासनकालमा उत्तर कोरियाले यस्तो विषम परिस्थितिको सामना गर्नुपरेको थियो । अर्थतन्त्रलाई व्यवस्थित गर्न नसक्नु र सोभियत संघले गर्र्दै आएको सहयोग गुम्नुले पनि उत्तर कोरियामा ठूलो संकट देखियो । उत्तर कोरियाको खाद्यान्न उत्पादन र खाद्यान्न आयातमा पनि कमी आयो । अर्कातर्फ लगातारको बाढी तथा खडेरीका कारण उत्तर कोरियाको अवस्था थप कष्टकर बन्न पुग्यो । प्राकृतिक प्रकोपको सामना गर्न उत्तर कोरिया असमर्थ भयो । भोकमरीका कारण आठ लाखदेखि १५ लाख उत्तर कोरियालीको मृत्यु भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार कुपोषणका कारण एक हजार बालबालिकामध्ये ९३ जनाको मृत्यु हुने गरेको थियो । विश्लेषक एन्ड्रेई लान्कोभका अनुसार अहिले उत्तर कोरियाको अवस्थामा सुधार भएको छ ।

दक्षिण कोरिया कसरी समृद्ध भयो ?
उत्तर कोरियाको तुलनामा दक्षिण कोरिया निकै अगाडि छ । दक्षिण कोरियाको अर्थतन्त्र एसियाको चौथो तथा विश्वको ११औँ ठूलो अर्थतन्त्रमा पर्छ । दक्षिण कोरियाले मिश्रित अर्थव्यवस्था अँगालेको छ । सन् १९५० को दशकसम्म दक्षिण कोरिया अति गरिब देशको सूचीमा रहेको थियो । सन् १९६० मा सैन्य कु गरेर सत्तामा आएका पार्क चुङ हीले दक्षिण कोरियाको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेले । देशको अर्थतन्त्र सुदृढ बनाउन उनले दुई दर्जनभन्दा बढी धनाढ्य व्यापारीलाई नियन्त्रणमा लिएर उनीहरूको अधिकांश सम्पत्ति सरकारीकरण गरे ।

चुङ हीले आर्थिक वृद्धिका लागि पहिलो पञ्चवर्षे योजना (सन् १९६२–१९६६¬) सुरु गरे । यसरी सन् १९६० देखि १९८० को दशकसम्म दक्षिण कोरियाले व्यापक विकास ग-यो । गुणस्तरीय शिक्षा तथा प्राविधिक क्षेत्रमा गरेको लगानीका कारण आज विश्वसामु दक्षिण कोरियाले बलियो हैसियत बनाएको छ । सन् १९९० देखि २००० को दशकमा दक्षिण कोरियाले उच्च प्राविधिक उद्योगको विकास ग¥यो । अहिले पनि उसको हुन्डाई अटोमोबाइल र सामसुङजस्ता कम्पनीले विश्व बजारमा दबदबा बनाइरहेको अवस्था छ । स्मार्टफोन, टिभीजस्ता उत्पादनका साथै सूचना–प्रविधि उद्योगका कारण दक्षिण कोरियाको अर्थतन्त्र निकै माथि उठेको छ ।

जापानको उपनिवेशदेखि कोरिया विभाजनसम्म
विभाजनपूर्वको सिंगो कोरिया सन् १९१०–४५ सम्म जापानको कठोर उपनिवेशमा रहन पुग्यो । वर्षौं चलेको युद्धमा जापानले कोरियालार्ई पराजित गरेर आफ्नो अधीनमा पारेको थियो । त्यसपछि जापान–कोरिया सन्धि भयो । सन्धिअनुसार जापानको संरक्षित राज्यका रूपमा कोरिया रहनुपर्ने भयो । तर, सन् १९१० अगस्ट २२ का दिन कोरिया र जापानी उपनिवेश पक्षबीच भएको सम्झौतापछि भने कोरिया पूर्ण रूपमा जापानको अधीनमा प-यो । त्यसपछि कोरियाली नागरिक जापानी साम्राज्यको प्रत्यक्ष सैन्य शासनमा परे । जापानको क्रूर दमन, चरम यातना र शोषणमा कोरियाली बाँच्न बाध्य भए । कोरियाको सिंगो पहिचान र अस्तित्व मेटाउन जापानी साम्राज्यवाद पछि परेन । यतिसम्म कि कोरियाभित्रै कोरियाली भाषा र संस्कृतिमाथि प्रतिबन्ध लगाइयो । विद्यालय तथा शैक्षिक क्षेत्रमा जापानी वर्ण र भाषाको सिकाइलाई मात्र अनुमति दिइयो । सरकारी तथा व्यापारिक प्रयोजनमा पनि जापानी भाषाले मात्र स्वीकृति पाउन थाल्यो । त्यति मात्र नभएर वास्तविक इतिहास मेटाउने उद्देश्यका साथ दुई लाखभन्दा बढी ऐतिहासिक कोरियाली दस्ताबेजसमेत जलाइएको थियो ।

साथै, जापान तथा अन्यत्र रहेका उसका उपनिवेशमा शारीरिक श्रमका लागि झन्डै सात लाख कोरियालीको प्रयोग गरिएको थियो । जापानका उद्योगमा काम गराउन तथा युद्धका क्रममा अघिल्लो पंक्तिमा रहेर लड्ने लडाकुका रूपमा पनि कोरियालीको नै प्रयोग गरियो । प्रशान्त क्षेत्रमा हुन सक्ने युद्धमा प्रयोग गर्न जापानले उनीहरूलाई नियन्त्रणमा राखेको थियो । जापानी शासकले सन् १९३९ मा कोरियाली नाम परिवर्तन गरेर जापानी नाम राख्न दबाब दिए । यसकारण ८० प्रतिशतभन्दा बढीले कोरियाली नाम परिवर्तन गरी जापानी नाम राखे । सन् १९३९ बाट दोस्रो विश्वयुद्ध उत्कर्षमा पुग्दै गर्दा जापानी लडाकुको यौन प्यास मेटाउनकै लागि लाखौँ कोरियाली महिला तथा किशोरीलाई यौनदासी बनाइएको थियो । दोस्रो विश्वयुद्ध अन्त्यको चरणमा पुग्दै गर्दा अमेरिकाले सन् १९४५ अगस्ट ६ का दिन जापानका हिरोसिमा र नागासाकीमा एटम बम खसालेपछि जापान हारको नजिक पुग्यो । नभन्दै केही दिनपछि अगस्ट १५ का दिन जापानले आत्मसमर्पण ग-यो । त्यससँगै कोरिया पनि जापानको उपनिवेशबाट मुक्त भयो । खैर, जापानी उपनिवेशबाट मुक्त भए पनि अमेरिका र तत्कालीन सोभियत संघबीचको शीतयुद्धको चपेटामा परेको कोरिया विभाजनको सिकार हुन पुग्यो ।

यसरी भएको थियो विभाजन
जापानी उपनिवेशबाट मुक्त भएको कोरियाले स्थायित्व पाएन । दोस्रो विश्वयुद्धमा विजयी भएको शक्ति तथा महाशक्ति राष्ट्र बन्ने होडमा रहेका तत्कालीन सोभियत संघ र अमेरिकाको आँखा कोरियामाथि गयो । दोस्रो विश्वयुद्धताका उत्तर कोरियाली क्षेत्रमा सोभियत संघको प्रभाव थियो भने दक्षिण कोरियाली क्षेत्र अमेरिकी नियन्त्रणमा थियो । उत्तर कोरियाली क्षेत्रमाथि नियन्त्रण बनाएको सोभियत संघको बढ्दो प्रभाव तथा साम्यवाद रोक्न चाहन्थ्यो अमेरिका । उता, कुनै पनि हालतमा अमेरिकाको प्रभुत्वलाई निस्तेज बनाउन सोभियत संघ लागिपरेको थियो । कोरियाली प्रायद्वीपलाई एउटै राष्ट्र बनाउने उद्देश्यले सन् १९४६–४७ मा अमेरिका र सोभियत संघबीच शिखरवार्ता भयो । तर, कुनै सहमति हुन सकेन । उत्तर कोरियाली क्षेत्रमा साम्यवादी आदर्श छाड्न सोभियत संघ तयार भएन भने दक्षिणमा प्रजातान्त्रिक आदर्श छाड्न अमेरिका ।

यसकारण, उत्तर कोरियाली क्षेत्रमा कम्युनिस्ट सत्ता स्थापनार्थ सोभियत संघले अन्तरिम सरकारका लागि किम इल सङ (किम जोङ उनका हजुरबुबा) लाई उत्तर कोरियाको सर्वोच्च नेता घोषणा ग-यो । दक्षिण कोरियामा अमेरिकी दृष्टिकोणअनुसार प्रजातान्त्रिक राज्यको स्थापना गर्ने उद्देश्यले अमेरिकाले चुनाव गरायो । चुनावमा कम्युनिस्टविरोधी नेताका रूपमा चिनिने स्याङमान री विजयी भए ।

यस्तो माहोलबीच सन् १९४७ नोभेम्बरमा अमेरिकाले संयुक्त राष्ट्रसंघको ढोका ढकढक्यायो र उत्तर कोरियामा पनि स्वतन्त्र चुनाव हुनुपर्ने माग ग-यो । तर, राष्ट्रसंघमा अमेरिकाको प्रभाव भएकाले चुनाव हुने भयले सोभियत संघले उक्त मागमा समर्थन नजनाउने घोषणा ग-यो । दक्षिणमा विकसित राजनीतिलाई जवाफ दिने उद्देश्यले सोभियत संघले सन् १९४८ सेप्टेम्बर ९ का दिन कम्युनिस्ट नेताका रूपमा किम इल सङको अन्तरिम सरकारलाई अधिकार हस्तान्तरण ग¥यो । यसरी सोभियत संघ र अमेरिकाको प्रभाव क्षेत्रका आधारमा सिंगो कोरिया उत्तर र दक्षिणमा विभाजित हुन पुग्यो । र, ३८औँ समानान्तर रेखा ¬(पूर्वी एसियाको ३८ डिग्री अक्षांश) मा उत्तर र दक्षिण कोरियाको सीमा विभाजन गरियो ।

किममा आएको चामत्कारिक परिवर्तन
‘आजै रकेट हान्छु, भोलि नै रकेट हान्छु’ भनेर धम्की दिँदै आएका उत्तर कोरियाली सर्वोच्च नेता किममा एकाएक आएको परिवर्तनबाट सारा विश्व अचम्मित छ । यद्यपि, उनलाई शान्तिको बाटोमा ल्याउन दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र चिनियाँ राष्ट्रपति सी जिनपिङले महत्वपूर्ण भूमिका खेलेको अनुमान छ । गत फेब्रुअरीमा दक्षिण कोरियामा भएको हिउँदे ओलम्पिकले दुई कोरियालाई नजिक ल्याएको थियो । उक्त ओलम्पिकमा उत्तर कोरियाको सहभागिताका लागि मुन जायले निकै ताकेता गरेका थिए । किमलाई भेट्न उनले दक्षिण कोरियाका उच्च अधिकारीलाई उत्तर कोरिया पठाएका थिए । सोही अवसरमा किमले मुन जायसँग भेट्ने घोषणा गरेका थिए । यसैगरी, गत मार्चमा किमले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनमै पुगेर भेटेका थिए । भेटका क्रममा सीले पनि दुई कोरियाबीचको सम्बन्ध सुधारमा जोड दिएका थिए ।

पछिल्लोपटक किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्ने चर्चा चलिरहँदा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले नै मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन् । यसैगरी, परमाणु हतियार परीक्षणलाई तीव्रता दिएसँगै संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले गत सेप्टेम्बरमा छैटौँपटक परमाणु हतियार प्रक्षेपण गरेपछि चीन र रुसले समेत संयुक्त राष्ट्रसंघीय सुरक्षापरिषद्ले ल्याएको उत्तर कोरियामाथिको प्रतिबन्ध प्रस्तावमा सहमति जनाएका थिए । यसरी, आफ्नो पक्षधर मानिएका चीन र रुस पनि परमाणु कार्यक्रमका कारण असन्तुष्ट भएपछि किममा दबाब बढेको थियो ।

स्रोत: नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्