युएन पार्कमा प्रहरीको गोली लागेर गुन्डा ‘नाइके’ लामा घाइते


काठमाडौ, २८ जेठ । शंखमुलस्थित यूएन पार्कमा ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली हानेको हो । युएन पार्क पुगेका प्रहरी टोलीमाथि जाइलागेपछि प्रहरीले गोली चलाएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए । प्रहरीको गोलीबाट लामा घाइते भएका छन । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। उनको दायाँ खुट्टामा गोली लागेको छ। लामाको साथबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोली बरामद गरिएको अपराध महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। प्रहरीका अनुसार लामाले पछिल्लो समय व्यापारीलाई धम्क्याएर पैसा असुल्दै आएका थिए। उनको लगानी क्यासिनोमा मिटरब्याजमा पैसा लगाउने पनि रहेको बताइएको छ। लामालाई विभिन्न हत्या प्रयासमा तथा फिरौतीमा पनि संलग्न रहेको अभियोग लागेको छ। उनी यसअघि दुईपटक पक्राउ परेर छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्