नेकपामा १ सय ४६ जनाको पोलिटब्यूरो, १ सय ८८ जनाको प्रदेश र १ सय ७० जनासम्मको जिल्ला कमिटी, मन्त्रालयका समानन्तर केन्द्रीय विभाग


काठमाडौं, १ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा १ सय ४६ जनासम्मको पोलिटब्यूरो बन्ने भएको छ । प्रदेश र जिल्ला कमिटीहरु भने धेरै जम्बो बन्ने भएका छन् ।
महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले विहिबार पार्टी नेतृत्वलाई बुझाएको विधान मस्यौदामा केन्द्रीय कमिटीको एक तिहाई नबढ्नेगरी पोलिटब्यूरो कमिटी बनाउने भनिएको छ । त्यसअनुसार नेकपाले १ सय ४६ जनासम्मको पोलिटब्यूरो बनाउनसक्ने छ ।

त्यस्तै, प्रदेश संगठन कमिटीहरु न्युनतम २० निर्वाचन क्षेत्र भएका प्रदेशले १ सय ७५ जनाको प्रदेश संगठन कमिटी बनाउनसक्ने विधानमा प्रस्ताव गरिएको छ । तर, २० भन्दा बढि निर्वाचन क्षेत्र भएका प्रदेशहरुले क्रमश ः प्रति निर्वाचन क्षेत्र १ जना सदस्य थप्नेसक्नेछन् । यसअनुसार सबैभन्दा बढि ३३ निर्वाचन क्षेत्र भएको प्रदेश नम्बर ३ ले १ सय ८८ जनासम्मको प्रदेश संगठन कमिटी गठन गर्नसक्नेछ ।

त्यस्तै, एक निर्वाचन क्षेत्र भएका जिल्लाले १ सय २५ जनाको जिल्ला कमिटी बनाउनसक्नेछन् भने एकभन्दा बढि निर्वाचन क्षेत्र भएका जिल्लाले प्रति निर्वाचन क्षेत्र ५ जनासम्म थपेर कमिटी निर्माण गर्नसक्नेछन् । विधानले व्यवस्था गरेअनुसार १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा १ सय ७० जनाको जिल्ला कमिटी बन्नेछ ।

तल्ला कमिटी र जनसंगठनहरुको एकीकरण गर्न बनेका कार्यदलहरुले विधान र नियमावली नटुंगिदा काम अघि बढाउन असहज भएको भन्दै गुनासो गरिरहेका बेला महासचिव नेतृत्वको कार्यदलले विधान र नियमावलीको अन्तिम मस्यौदा अध्यक्ष केपी ओली र प्रचण्डलाई बुझाएको हो । शनिबार स्थायी समिति बैठकबाट दुवै पारित गरेर प्रकाशन गर्ने नेकपाको तयारी छ ।
यसरी बन्नेछन्, अरु तल्ला कमिटी
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको संख्या तोकिएको छैन । तर, क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्य, महानगर÷उपमहानगर÷नगर÷गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष पनि क्षेत्रीय कमिटीमा पदेन सदस्य रहने विधानमा प्रस्ताव गरिएको छ । अन्य थप २० प्रतिशत मनोनित गरिने प्रस्तावित विधानमा भनिएको छ । त्यस्तै, महानगर कमिटी–७५ सदस्यीय, उपमहानगर कमिटी–६५ र नगर कमिटी र गाउँपालिका कमिटी–५१ सदस्यीय बनाउने प्रस्ताव छ । वडा कमिटी–२५ सदस्यीय बनाउने र प्रारम्भिक कमिटी–१५ सदस्यीय हुने भनिएको छ ।
सचिवालयभन्दा स्थायी समिति शक्तिसाली    
अहिलेको संरचनाअनुसार सबैभन्दा माथि दुई अध्यक्ष रहेको ९ सदस्यीय केन्द्रीय सचिवालय रहे पनि विधानले स्थायी समितिलाई शक्तिसाली कमिटीको रुपमा प्रस्ताव गरेको छ । सचिवालयलाई दैनिक कार्यसम्पादन गर्ने प्रशासनिक निकायमा सिमित गर्दै स्थायी समितिलाई सबैभन्दा माथिल्लो शक्तिसाली राजनीतिक निकायका रुपमा प्रस्ताव गरिएको हो । सचिवालयले केन्द्रीय कार्यालय संचालन, बैठकको कार्यसूचि बनाउने र प्रतिवेदनको तयारी गर्ने काम गर्नेछ भने सबै महत्वपूर्ण राजनीतिक निर्णयहरु भने स्थायी समितिबाटै हुनेगरी विधानको मस्यौदा तयार भएको हो ।

मन्त्रायका समानन्तर ३२ केन्द्रीय विभाग
नेकपाले नियमावलीमा ३२ ओटा केन्द्रीय विभाग बनाउन प्रस्ताव गरेको छ । केन्द्रीय विभाग नीति निर्माण गर्ने निकायका रुपमा राज्यका समानन्तर मन्त्रालयका नाममा प्रस्ताव गरिएको कार्यदल सदस्य खिमलाल देवकोटाले बताए । ंसंघीय तथा संसदीय मामिला विभाग, स्थानीय तह मामिला विभाग, प्रदेश संसदीय मामिला विभाग, खानेपानी तथा सरसफाई विभाग जस्ता केही नयाँ विभागहरु बनाउन प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्