अनुदानमा मात्रै रेल ल्याउनुपर्छ–डा.महत


काठमाडौ, ९ असार । नेपाली कांग्रेसका सह महामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले नेपालले आफै रेल निर्माण गर्न नसक्ने भएकाले अनुदानमा मात्रै रेल ल्याउनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपालका आफ्नै आन्तरिक आवश्यकताहरु पूर्ति गर्न धौ,धौ परेको अवस्थामा भारत र चीन दुवै देशबाट अनुदानमा मात्र रेल ल्याउनुपर्ने बताएका हुन् ।

उनले भने, हाम्रा आफ्नै आन्तरिक आवश्यकताहरु धेरै छन्, ती आवश्यकत्ताहरु पूर्ति गर्नको लागि नै हामीलाई अहिले धौ,धौ छ, अहिलेको अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन ।त्यसैले भारत र चीन दुबै देशको अनुदानमा मात्र रेल ल्याउनुपर्छ, ।

साझेदारीमा पनि बनाउन सक्ने अवस्थामा नेपाल नभएको जीकिर गर्दै उनले भने, रेल चिनियाँ अनुदानमा बनाउने हो, ऋणमा त हामीले बनाउन सक्दैनौं, हामी बनाउने पक्षमा पनि छैनौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा खासै नयाँ सम्झौताहरु नभएको उल्लेख गर्दै उनले भने, ‘रेलको सम्झौता नयाँ होइन, म परराष्ट्रमन्त्री हुँदाखेरि नै बेल्ट एण्ड रोड ईनिसिएसशनमार्फत सम्झौता गरेको थिएँ, अरुखाले द्धिपक्षीय सम्झौताहरु पनि भएका थिए ।’दुवै छिमेकी मित्रराष्ट्र भारत र चीन आर्थिक रुपमा सक्षम भएकोले नेपालजस्तो मित्रराष्ट्रलाई रेल ल्याएर गिफ्ट गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्