काठमाडौं महानगरपालिकाको बजेट १३ अरव २ करोड


काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५।७६ का लागि १३ अरव २ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाको आईतबार नगरसभामा उपप्रमुख हरिप्रभा खड्गीले आगामी आर्थिक वर्षका लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट पेश गरेकी हुन् ।

महानगरलाई स्वच्छ, सुरक्षित र जीवन्त बनाउने लक्ष्यसहित पेश गरिएको बजेटमा आन्तरिक आयतर्फ ४ अरव ९० करोड २१ लाख ७५ हजार, बाह्य स्रोततर्फ ५ अर्ब १९ करोड र अन्य १ अर्ब ४ करोड राजस्व प्राप्त हुने अनुमान गरिएको छ । उपप्रमुख खडगीले बजेटको सबैभन्दा ठूलो हिस्सा ३ अर्ब ६ करोड २५ लाख बजेट वडास्तरको पूर्वाधार विकासका लागि विनियोजन गरिएको स्पष्ट पारिन् ।

महानगरपालिकाले शिक्षामा १ अर्ब ९० करोड ४६ लाख, हनुमानढोका स्वयम्भु जोडने पदमार्ग निर्माणका लागि ५१ करोड, महानगरपालिकाका भवन निर्माण तथा गाडी खरिदका लागि २ अर्ब ३६ करोड १ लाख बजेटको व्यवस्था गरिएको छ । बजेटमा सूचना प्रविधिको विकासका लागि २१ करोड ५८ लाख बजेट विनियोजना गरिएको छ । उपप्रमुख खडगीले सहरको सुरक्षाका लागि सिसी क्यामेरा जडानमा पनि सो बजेट खर्च हुने स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्