अर्जेन्टिनाको अग्निपरीक्षा


रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज ४ खेल हुँदैछन् । समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका अष्ट्रेलिया र पेरूले प्रतिस्पर्धा गर्दैछन्। खेल सोचीमा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ।

दोस्रो खेलमा बेलुका ७ः४५ मा समुह सी कै डेनमार्क र फ्रान्स भिड्नेछन्। सो खेल लुज्निकी रंगशाला मस्कोमा हुनेछ। यी दुई टोलीबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ। फ्रान्ससँगको खेलमा बराबरी र अस्ट्रेलियाले पेरुलाई हराउन नसकेमा डेनमार्क अघिल्लो चरण पुग्नेछ । फ्रान्सलाई हराउन सकेमा भने डेनमार्क समूह विजेता बन्नेछ । अस्ट्रेलियाको सम्भावनाका लागि उसले पेरुलाई हराउनु पर्नेछ र गोल अन्तर पनि डेनमार्कको भन्दा बढी हुनु पर्नेछ ।

सेन्ट पिटर्सबर्ग रंगशालामा हुने अर्को खेलमा राती ११ः४५ मा समूह डी का अर्जेन्टिना र नाइजेरिया आमने सामने हुनेछ।   यो समूहबाट क्रोएसियाले अन्तिम १६ मा स्थान बनाइसकेको छ र आइसल्याण्डसँगको खेलमा बराबरी गरेमा उ समूह विजेता बन्नेछ । अर्जेन्टिनामाथि जित निकालेमा नाइजेरिया छनौट हुनेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई नहराएको अवस्थामा नाइजेरियाका लागि अर्जेन्टिनासँगको खेलमा बराबरी पनि काफी हुनेछ ।

अर्जेन्टिना अहिले गर या मर को अवस्थामा छ। अर्जेन्टिनाले जितेर मात्र पुग्दैन अन्य टोलीको खेलमा पनि निर्भर हुनुपर्नेछ। यो समूहमा क्रोएसियाको ६, नाइजेरियाको ३ तथा अर्नेन्टिना र आइसल्याण्डको समान १–१ अंक छ।  यता ११ः४५ मै रोस्टोभ एरिना सामरा रंगशालामा हुने आजको अर्को खेलमा क्रोएसिया र आइसल्याण्ड खेल्दैछन्।

प्रतिक्रिया दिनुहोस्