नेकपाको विधानप्रति लेखा र निर्वाचन आयोगको संशोधन प्रस्ताव


काठमाडौं, १२ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विधानप्रति तत्कालीन एमालेको केन्द्रीय लेखा आयोग र निर्वाचन आयोगले आपत्ति जनाएको छ । आयोगलाई केन्द्रीय कमिटी मातहत राख्न प्रस्ताव गरिएकोमा आपत्ति जनाउँदै दुवै आयोगका नेताहरुले मंगलबार महासचिव विष्णु पौडेललाई भेटेर लिखित संशोधन सुझाव पेश गरेका हुन् ।
यसअघि केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष अमृतकुमार बोहराले केन्द्रीय आयोग महाधिवेशनप्रति जिम्मेवार भएकाले केन्द्रीय कमिटी मातहत राख्न नहुने भन्दै अध्यक्ष केपी ओली र प्रचण्डसमक्ष लिखित सुझाव पेश गरेका थिए । एमालेका तीनओटै आयोगहरुले स्वतन्त्र हैसियत र मर्यादा कायम हुनेगरी विधानमा व्यबस्था गर्न माग गरेका छन् । त्यस्तै, अहिले कायम संख्या कटौति गर्न नहुने तीनओटै आयोगको माग छ ।
‘हामीले आयोगको स्वतन्त्र हैसियत र संख्या कायम रहनेगरी विधान सम्पादन गर्न माग गरेका छौं’ निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी‘प्यासी’ले भने ।
जनसंगठनका पदाधिकारीलाई प्रदेश सदस्य मर्यादाको माग
यसैबीच, नेकपाका जनसंगठनहरुले पदाधिकारीहरुको हैसियत पार्टीको प्रदेश कमिटी सो सरह हुनेगरी विधान र नियमावली सम्पादन गर्न माग गरेका छन् । अहिले प्रस्तावित विधानमा जिल्ला कमिटी सदस्य सरहको मर्यादामा राखिएको भन्दै जनसंगठनका पदाधिकारीहरुले आपत्ति जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्