मूल्य घटाएको विरोधमा चितवनमा सडकमा दुध पोखेर प्रदर्शन


 

चितवन, ५ असार । दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । दुग्ध विकास संस्था ९डिडिसी० र डेरी उद्योगले प्रतिलिटर करीब रु तीन दूधको मूल्य घटाएको किसानको आरोप छ ।

राप्ती नगरपालिकाको दुग्ध उत्पादक सहकारी संस्था नगर समन्वय समितिका अध्यक्ष डिल्लीप्रसाद थपलियाले लागत मूल्य नपाइरहेको अवस्थामा विभिन्न बहाना बनाएर दूधको मूल्य घटाएकाले बाध्य भएर दूध पोख्नुपरेको दुखेसो गरे ।

उनका अनुसार राप्तीमा रहेका छ वटा सहकारीले सामूहिक रुपमा दूध सडकमा पोखेका हुन् । यहाँ भण्डारा, परेवाश्वरी, शहीद बलराम, भगवती, नवउद्यमी र जनमुखी दुग्ध उत्पादक सहकारी संघले दूध संकलन गरेर डेरी उद्योगलाई पठाउँदै आएको छ ।

कुनै छलफल नै नगरी किसानलाई मार पार्ने गरी दूधमा रु तीन प्रतिलिटरका दरले मूल्य घटाएको किसानले आरोप लगाएका छन् । यसअघि पनि निजी डेरीले करीब रु दुई दूधको मूल्य घटाएका थिए ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले सस्तोमा पाउडर दूध आयात गरेकाले यसरी किसानको दूधमा मूल्य घटाएको आरोप लगाए।

अहिले दूधबाट पाउडर बनाउनुपर्ने अवस्था सिर्जना भएकाले बाध्य भएर दूधको मूल्य घटाउनुपरेको डिडिसीले प्रतिक्रिया दिएको भन्दै उप्रेतीले त्यो भनाइ सही नभएको दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्