गगन र ओमप्रकाशले भाँडे डा.केसीसँगको वार्ता


काठमाडौं, ९ साउन । गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधि बीचको वार्ता कांग्रेस र विवेकशील साझा पार्टीले भाँडेका छन् ।
हिजो केसी र सरकार पक्षबीच ७ बुँदे सहमति भएको थियो । हिजोको वार्तापछि कांग्रेस नेता गगन थापा, विवेकशील साझाका सुरेन्द्र भण्डारी र ओम अर्यालको होटेल क्रिष्टल थापाथलीमा बैठक बस्यो । सरकारसँग भएको सहमति नमान्ने निश्कर्ष उनीहरुले हिजै निकालेका थिए । आजको वार्तामा केसीका तर्फबाट आएका जीवन क्षत्री र अभिषेक सिंह लचिलो रुपमा प्रस्तुत भएका थिए । तर, विवेकशील साझाका ओम अर्याल र सुरेन्द्र भण्डारीले भने हिजोको सहमति कार्यान्वयन गर्ने प्रक्रियाका विषयमा विवाद झिके ।
सरकारका तर्फबाट ७ बुँदे सहमति अनुरुप संसदमा सरकारले प्रस्तुत गरेको विधेयक संसदमा गइसकेकाले सहमति अनुरुपको संशोधन गर्न लचकता प्रस्तुत गरिएको थियो । विधेयकमाथि संशोधन गर्ने क्रममा संशोधन प्रस्ताव मार्फत केसीका माग अघि बढाउन साझा विवेकशीलका प्रतिनिधिहरु सहमत भएनन् । संसदको प्रक्रिया जेसुकै भए पनि सरकारले अहिले नै संसदले पास गर्ने दस्तावेजमा सहि गर्नु पर्ने जिद्दी गरेका थिए । संसदलाई पनि डिक्टेट गर्नु पर्ने प्रस्ताव साझा विवेकशीलका तर्फबाट आएपछि वार्ता भाँडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्