अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थीबीचको एकीकरणपछि साझा नाम ‘अनेरास्ववियू’ राखिने


काठमाडौ, १ भदौ । अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच एकीकरणपछि स्थापनाकालिन साझा नाम ‘अनेरास्ववियू’ राख्ने सहमति भएको छ ।

एकता कार्यदलको शुक्रबार बसेको बैठकले एकतापछिको नाममा दीर्घ यू राखेर ‘अनेरास्ववियू’ राख्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले यसअघि तयार भएको विधान, राजनीतिक तथा शैक्षिक प्रतिवेदनलाई पास गरेको छ ।

एकतापछि संगठनको केन्द्रीय समितिको संख्या ४ सय ९९ रहनेछ, जसमा पूर्व अनेरास्ववियुबाट २६० र पूर्व अखिल क्रान्तिकारीबाट २३९ जना रहने सहमति भएको छ ।

यसअघि अनेरास्ववियुको कमिटी २०० सदस्यीय थियोे भने क्रान्तिकारीको कमिटी २४३ सदस्यीय थियोे । त्यस्तै यसअघि अनेरास्ववियुले ‘यु’ लेख्थ्यो भने अनेरास्ववियू क्रान्तिकारीले दिर्घ ‘यू सहित ब्राकेटमा क्रान्तिकारी लेख्दै आएको थियो ।

अंग्रेजी नाममा अनेरास्ववियुले फ्रि र क्रान्तिकारीले इन्डिपेन्डेन्ट लेख्ने गरेकोमा अब एकीकृत नाममा इन्डिपेन्डेन्ट लेख्ने सहमति भएको विद्यार्थी नेतृ आरती लामाले बताइन । एकीकृत संगठनको नेतृत्वका बारेमा अर्को वैठकले निर्णय गर्ने बताइएको छ ।

एकताका लागि गठित कार्यादलमा पूर्व एमाले निकट अनेरास्ववियुको तर्फबाट रविन्द्र अधिकारी र नविना लामा एवम् पूर्व अखिल क्रान्तिकारीबाट रमेश मल्ल र रञ्जित तामाङ छन् ।

प्रतिक्रिया दिनुहोस्