सिमानामा हुने डुबानको अध्ययनप्रति दुवै प्रधानमन्त्री सन्तुष्ट


काठमाडौँ, १६ भदौ । नेपाल र भारतका प्रधानमन्त्रीले सीमावर्ती इलाकामा हुने गरेको डुबान समस्याका सम्बन्धमा संयुक्त कार्यदलले अध्ययन गरिरहेकामा सन्तुष्टि व्यक्त गरेका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चौथो शिखर सम्मेलनको समापनपश्चात् आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तामा उक्त विषयमा सन्तुष्टि व्यक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वार्ताका क्रममा केही महिनाअघि नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका वार्तामा भएका समझदारी क्रमशः कार्यान्वयन भइरहेकामा दुवै पक्षबाट सन्तुष्टि व्यक्त गरिएको थियो । समझदारीअनुुसार भारतले नेपाललाई केही हवाई रुट प्रदान गरिसकेको र केही प्रदान गर्ने विषयमा प्राविधिकरुपमा छलफल भइरहेको बताउँदै आन्तरिक जलमार्ग, रक्सोल–काठमाडौँ रेलमार्ग, जोगवनी विराटनगर रेलमार्ग, जयनगर–बर्दिवास रेलमार्ग तथा टनकपुरको सडकका सम्बन्धमा भइरहेको कामप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरे ।

विगतमा भएका समझदारी नेपालको आउँदो संविधान दिवसअगावै कार्यान्वयन गरिने विषयमा पुनःप्रतिबद्धतासमेत जनाइयो । वार्ताका क्रममा आउँदो पाँच वर्षका लागि नेपाललाई आवश्यक पर्ने मलखाद उपलब्ध गराउने विषयमा समेत गृहकार्य भइरहेको विषयमा पनि छलफल भएको थियो । नेपाली कृषकले अदुवा निर्यातका सम्बन्धमा भोगिरहनु परेको समस्यालाई भारतले अन्त्य गरिदिएकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्