चिलीका हिमनदी जोगाउन पर्यावरणकर्मीहरु एकजुट


 

सान्टीयागो, चिली, ।  चिलीमा दक्षिण अमेरिकाको कूल हिमनदीको पाँच भागको चार भाग छ र ध्रुवीय क्षेत्रभन्दा बाहिर विश्वमै सबैभन्दा ठूलो हिउँक्षेत्र छ, तर तिनीहरु खानी उद्योगबाट सिर्जित धुलोबाट जोखिममा पर्न थालेका छन् ।

चिलीको क्याथोलिक विश्वविद्यालयका जलवायु वैज्ञानिक फाब्रिस लाम्बार्टको विचारमा चिलीका २४,११४ वटा हिमनदीहरु खानीसँग सम्बन्धित कृयाकलापबाट खतरामा पर्न थालेका छन् । उहाँ भन्नुहुन्छ– तर प्रत्यक्ष कारण र असर स्थापित गर्न भने अझै पनि कठिनाइ छ ।

“खानीबाट निस्किने धुलो हिमनदीमा मिसिन्छ, सेतो हिमसतह पूरै धुलोले ढाकिन्छ । प्रष्टै छ, धुलोका कणले सौर्य ऊर्जा सोच्छ र यसले तिब्र गतिमा हिमनदी पग्लिन्छ,” लाम्बार्टले भन्नुभयो । “यो ठूलै समस्या हो किनभने चिलीका कतिपय हिमनदीका छेउमै खानीहरु रहेका छन् ।”

चिलीमा कार्यरत गैसस दिगो चिलीका निर्देशक सारा लाराइनको भनाईमा छिमेकी देश अर्जेन्टिनाको झैं चिलीमा पनि हिमनदीको सुरक्षाका लागि कडा कानुन आवश्यक छ । उहाँ भन्नुहुन्छ – तर शक्तिशाली खानी उद्योगीहरुले यस्तो प्रस्तावलाई बीचमै तुहाइदिन्छन् ।

“सन् २००५ देखि नै छ सात वटा हिमनदी संरक्षण परियोजनाहरु सांसदहरु समक्ष प्रस्तुत गरिएको हो तर हरेक पटक यस्ता परियोजनालाई खानी क्षेत्रले कार्यान्वयनमा लैजानै दिएका छैनन्,” उहाँ भन्नुहुन्छ ।

चिलीको खानी परिषदका सभापति जोकिन भिल्लारीनो यस्तो कानुन आवश्यक नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सत्तरी प्रतिशतभन्दा बढी खानीहरु हिमनदीको वरपर नै छैनन् ।”

तैपनि, हालको कानुनमा विद्यमान हिमनदीलाई नोक्सान हुनबाट जोगाउन कम्पनीहरु बाध्य हुने व्यवस्था गरिएको छ । लाम्बार्टका अनुसार, “उद्योगीहरुले अरु पाँच वर्ष खानी बन्द गर्ने छैनन्, तर खानी उद्योगलाई तहसनहस नपारी हिमनदीहरु पनि जोगाउने चुनौती हामीमाझ छ किनभने खानी पनि हाम्रो मुलुकको अर्थतन्त्रको अत्यावश्यक भाग हो ।”

चिलीको अर्थतन्त्र मुख्य रुपमा खानीमा निर्भर छ । चिलीमा बर्सेनि करिब ५६ लाख टन तामा उत्पादन हुन्छ । यो विश्वकै तेस्रो ठूलो उत्पादन हो ।

वातावरणीय कानुन विज्ञ पिलार मोरागाको भनाईमा चिलीमा हिमनदीको संरक्षणका लागि कडा कानुनी संरचनाको तत्काल जरुरी भइसकेको छ ।

सन् २०१४ मा हिमनदीको नजिकमा रहेका कतिपय असुरक्षित औद्योगिक कृयाकलापहरुमा प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको थियो । तर विधेयकमा धेरैवटा कामै नलाग्ने संशोधन गरियो र अन्ततः जुन महिनामा राष्ट्रपति सेबास्टियन पिनेराको सरकारले विधेयक नै फिर्ता लियो ।

सरकारको भनाइमा जैविक विविधताको संरक्षण गर्न तथा मुलुकका राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रहरुलाई सुरक्षित गर्न विद्यमान नियमहरु नै पर्याप्त छन् । तर विज्ञहरुले चिलीका सबै हिमनदीहरु संरक्षित निकुञ्ज क्षेत्रभित्र नरहेको भन्दै असन्तोष प्रकट गरेका छन् ।

“चिलीमा ८६.४ प्रतिशत हिमनदीहरु संरक्षित क्षेत्रमा छन्, तर मुलुकका मध्य र उत्तरी क्षेत्रमा हिमनदीको संरक्षणका लागि कुनै उपाय अबलम्बन गरिएको छैन, र यही क्षेत्रमा दिनानुदिन पानीको अभाव बढ्दै गएको छ,” लाम्बार्टले भन्नुभयो । “यी क्षेत्रको जलवायु प्रक्षेपणले आगामी ५० वर्षभित्रै आकाशे वर्षामा ३० प्रतिशतले कमी आउने देखाएको छ ।”

हिमनदीहरु हिउँको सुगठित स्वरुपबाट बनेको हुनाले कम वर्षा हुनेक्रम बढ्दै गएमा हिमनदीहरुको पुनरुत्पादनमा व्यापक असर पर्दछ किनभने गृष्म ऋतुमा हिउँ पग्लनेक्रम सबैभन्दा बढी हुन्छ ।

खानी उद्योगका सञ्चालकहरुले सरकारी अधिकारीहरुमाथि दबाब दिएको अस्वीकार गरेका छन् । उनीहरुले अरु नयाँ नियमहरु रोक्ने सरकारको निर्णयको स्वागत गरेका छन् । “सरकारले राजनीतिक जोखिम मोलेर पनि जिम्मेवारीपूर्ण निर्णय गरेको हाम्रो ठम्याइ छ । यो राम्रो सोचबिचार गरेर गरिएको निर्णय हो,” भिल्लारिनोले भन्नुभयो ।

वातावरणविदहरु अझै पनि आशावादी नै छन् किनभने वातावरणमन्त्री मार्सेला कुबिल्लोसले दुई साताअघि मात्र हिमनदीको संरक्षणका लागि प्रभावकारी समाधान खोजी गर्नेगरी विज्ञहरुको एउटा समिति निर्माण गरिएको घोषणा गर्नुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्