मन्त्री र सांसदलाई टेरेनन् ठेकेदारले, सडक डिभिजन भन्छः भागेपछि हामीले के गर्नु ?


काठमाडौ, १७ भदौ । लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत खाडीचौर–चरिकोट सडक खण्ड १० दिनभित्र सुधार गर्ने सहमति भएको समयसीमा गुज्रिदाँ पनि यात्रुले सास्ती भोग्ने क्रम नरोकिएपछि जनस्तरमा आक्रोश बढेको छ ।
दश दिनअघि वसेको संघीय सरकारका सांसद, प्रदेश सरकारका मन्त्री र प्रदेश सांसदहरु र स्थानीय निकायका जनप्रतिनिधिको उपस्थितिमा निर्माण कम्पनीले १० दिनभित्र सडक सुधार्ने लिखित प्रतिबद्धता जनाएको थियो । तोकिएको अवधिमा सडकको अवस्थामा सुधार नआए कार्वाहीसमेत भोग्न तयार भएका ठेकेदारहरु भने कामै सुरु नगरी वेपत्ता भएका छन । उता, काम नगर्ने ठेकेदारसँग आफूहरुको केही नलाग्ने भन्दै सडक डिभिजन कार्यालय चरिकोटले भने गैरजिम्मेवार जवाफ दिएको छ । ठेकेदारबाट हाकाहाकी अग्रिम कमिशन लिने गरेका कारण डिभिजन कार्यालयले समयमै काम सम्पन्न गराउने कुरामा अग्रशरता लिन नसकेको जनस्तरबाट आरोप लाग्न थालेको छ ।
उक्त सडकका कारण काठमाडौँदेखि चरिकोट आउनका लागी करिब ३ घण्टा लाग्ने बाटो अहिले १० घण्टासम्म पुग्न नसक्ने भएपछि भदौ ७ मा तीन वटै जिल्लाका जनप्रतिनिधिहरुसंग ठेकेदार, आयोजना र कन्सल्ट्यान्टले १० दिनभित्र सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका प्रतिनिधिहरुको आक्रोस पछि गौरी पार्वती निर्माण सेवाका रामकुमार थापा, शंकर माली सुनौलो खिम्तीका दिपक सापकोटा, सडक आयोजनाका आयोजना प्रमुख केदार नेपाल तथा टिएमएस नर्थ स्टार कन्सल्टेन्सीका प्रमुख राजाराम काफ्लेले १० दिनभित्र सडकको खाल्डाखुल्डी पुरेर सहज आवागमनको व्यवस्था मिलाउने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । सो बैठकमा प्रतिनिधि सभा सदस्य पार्वत गुरुङ, प्रदेश न ३ का उद्योग मन्त्री अरुण नेपाल, अर्थ मन्त्री कैलाश ढुंगेल र भौतिक तथा पुर्वाधारमन्त्री केशव स्थापित लगायतको सहभागितामा १० दिनभित्र सडकको खाल्डाखुल्डी टाल्ने, हिलो व्यवस्थापन गर्ने ३ वूँदे लिखित सहमति भएको थियो ।
आगामी चैत महिनासम्म सवै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि अहिलेसम्म जनताले सास्ती वेहोर्नु परेकाले जनता आक्रोशित भएका छन ।
अरनिको राजमार्गको खाडीचौर हुदैँ दोलखा सदरमुकाम चरिकोट जोड्ने ५५ किलो मिटर सडक ठेकेदारको लापरबाहीका कारण अहिले अलपत्र अवस्था रहेको छ । यसैबीच प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेलले खाडीचौर हुँदै दोलखा जोड्ने सडक बन्न ढिलाई हुनुको पछाडि दोलखाली नेताहरुको दोष भएको सोही कार्यक्रममा बताएका थिए ।
चार दशक अगाडि स्वीस सरकारले निर्माण गरेको लामोसाँघु जिरी सडकको चौडा बढाउन भारतीय एक्जिम बैंकले लगानी गरिरहेको छ ।

ठेकेदार भागेपछि हामीले के गर्नु ?

केदार नेपाल, प्रमुख, सडक डिभिजन कार्यालय, लामोसाँघु–जिरी सडक

प्रदेशका मन्त्री र सांसदज्यूहरुको उपस्थितिमा निर्माण कम्पनीका ठेकेदारले १० दिनभित्र सहज ढंगले दुईतर्फी सडक आवत–जावत हुनेगरी ग्राभेलिङ गर्ने हमति जनाएकै हो । तर, जुन दिन त्यस्तो सहमति भयो त्यही दिनदेखि अविरल वर्षाका कारण ठेकेदारले प्रतिबद्धताअनुसार काम सुरु गर्न नै सकेको छैन । मौसममा सुधार हुनेबितिक्कै ग्राभेल हालेर रोलिङ गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सम्झौताअनुसार काम नगरी एउटा ठेकेदार भागेपछि गत जेठबाट नयाँ ठेकेदारले लामोसाँघुदेखि मुडेसम्मको सडकसम्मको एउटा खण्डको जिम्मा लिएको हो । तर वर्षातका कारण भने जस्तो काम हुन सकेन । काम नगर्ने ठेकेदारलाई जिल्ला प्रशासन कार्यालयले थुनेर काम गर्ने शर्तमा छोडेको पनि हो । अब भागेरै हिँड्ने ठेकेदारलाई हामीले के पो गर्न सक्छौं र ?

प्रतिक्रिया दिनुहोस्