डोल्पामा नमिलेपछि वामदेवका लागि पार्टीभित्रैबाट उपयुक्त विकल्प खोजिदै


काठमाडौ, ३१ भदौ । उपनिर्वाचनमार्फत संघीय संसद्ममा आउने कसरतमा रहेका नेकपा सचिवालय सदस्य वामदेव गौतम डोल्पाको विकल्पमा बाँके क्षेत्र नं. ३ तिर केन्द्रित भएका छन् । यसपटक वामदेवका लागि पार्टीभित्रैबाट उपयुक्त निर्वाचन क्षेत्रको खोजी सुरु भएको हो ।
डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा नदिने बताएपछि वामदेवका लागि पार्टी महासचिव विष्णु पौडेलले बाँके–३ का सांसद नन्दलाल रोकायासँग कुराकानी गरेका हुन् । अध्यक्षद्वय केपी ओली र प्रचण्डले ग्रिन सिग्नल दिएपछि महासचिव पौडेलले शुक्रबार संसदीय दलको कार्यालयमा रोकायसँग छलफल गरेका हुन् । रोकायको मनस्थिति बुझेका पौडेलले कुनै निर्देशन भने दिएका छैनन् ।

‘कसैले छाडिदिए संसद्मा आउन पाए हुन्थ्यो भन्ने वामदेव कमरेडको इच्छा हुन सक्ला, तर अहिलेसम्म उहाँले मसँग त्यस्तो कुराकानी गर्नुभएको छैन,’ रोकायले नयाँ पत्रिकासँग भने, ‘महासचिवले बुझ्न खोज्नुभएको रहेछ, मैले राष्ट्रिय आवश्यकता ठानेर पार्टीले नै औपचारिक निर्णय गर्छ भने मान्ने कुरा हुन्छ, तर व्यक्तिगत रूपमा चाहिँ कसैका लागि छाड्ने कुरामा सहमत हुन सकिँदैन भन्ने कुरा राखेको छु ।’ -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्