उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिइने


काठमाडौ, १ असोज । सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गर्ने निर्णय समेत गरेको छ । बैठकले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पुर्योउनुहुने व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय समेत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

त्यसैगरी बैठकले मुलुकी फौजदारी अपराध संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ । बैठकले नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गर्नुका साथै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्