मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको ज्यान गयो


काठमाडौं, ३ असोज । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् ।
उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए।

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् ।

सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ ।

त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ । मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए । कावा राजदूत खरेलले मृत्यु भएका तथा गम्भीर अवस्थामा उपचाररत नेपालीको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।मदिरा कसरी विषाक्त बन्यो भन्ने अनुसन्धानकै क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्