प्रतिनिधिसभाको नयाँ निर्वाचन मिति घोषणा गरेर राजीनामा दिनेसम्मको सुझाव


२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा संविधानविद्सँग कानुनी परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि संवैधानिक जटिलताका बारेमा संविधानविद्सँग छलफल गरेका हुन् ।

छलफलमा कानुनविद्ले प्रधानमन्त्री ओलीलाई वर्तमान संवैधानिक जटिलता फुकाउन तीन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए उनका अनुसार संविधानविद्ले प्रधानमन्त्रीलाई नेपालको संविधान २०७३ को धारा २९८ अनुसार सरकार यही संसद्बाट फेरि बन्ने नसक्ने बताउँदै संविधान संशोधन गरेर जटिलता फुकाउन सुझाव दिएका थिए ।

यसैगरी, बाधा अडाउन फुकाएर र प्रतिनिधिसभाको नयाँ निर्वाचनको मिति घोषणा गरेर प्रधानमन्त्री पदबाट राजीनामा दिन पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएको दाहालले जानकारी दिए ।

परामर्शका क्रममा प्रधानमन्त्री ओलीले संविधानविद्सँग आफू संविधानप्रति प्रतिबद्ध रहेको बताउँदै को रहनेभन्दा पनि प्राप्त उपलब्धिको रक्षा हुनुपर्नेमा जोड दिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले संविधानविद्लाई सरकार ढलेपछि नयाँ सरकार बन्न सक्छ वा सक्दैन र बन्न सक्छ भने संविधानको कुन धाराअनुसार बन्न सक्छ भनेर सुझाव माग्नु भएको छलफलमा सहभागी नेपाल बारका पूर्वमहासचिव सुनिल पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले महान्याधिवक्ता हरि फुयाल,नेपाल वार एसोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, वरिष्ठ अधिवक्ता डा।चन्द्रकान्त ज्ञवाली, रविनारायण खनाल र वारका पूर्व महासचिव सुनिल पोखरेल, गोविन्द बन्दी, रमेश वडालसँग परामर्श गरेका थिए ।

संविधानविद्हरुसँगको छलफलमा उपप्रधानमन्त्रीहरु भीम रावल, सिपी मैनाली, कमल थापा र विजयकुमार गच्छेदारसहित अर्थमन्त्री विष्णु पौडेल र कानुनमन्त्री अग्नि खरेल सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्