माथिल्लो दोर्दी ए को सुरुङ ब्रेक थ्रु


काठमाडौं,१९ असोज । लिबर्टी इनर्जी कम्पनीले लमजुङको ढोडेनी फलेनीमा निर्माण गरिरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको २ हजार ६ सय २३ मिटर सुरुङको  ब्रेक थ्रु भएको छ ।
कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रबन्धक सञ्चालक आत्माराम घिमिरेले स्वीच अन गरी अन्तिम ब्रेक थ्रु को ब्लास्ट गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश लम्जुङ क्षेत्र १ का सांसद धनञ्जय दवाडी, नेकपा जिल्ला संयोजक कृष्ण अधिकारी, नेपाली कांगे्रस जिल्ला सदस्य हरि बराल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा, श्रीजंग गणका गणपति शिखर जबराको उपस्थिति थियो ।
कम्पनीका अध्यक्ष जोशीले लक्षित समयभित्रै विद्युत् उत्पादन गर्ने प्रतिबद्धता जनाउँदै उत्पादित विद्युत् खेर नजाने कुरा कम्पनी विश्वस्त रहेको बताए । सांसद धनन्जय दवाडीले लमजुङ लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले निर्माण क्रममा देखिने समस्या समाधान गर्न राजनीतिक दल र स्थानीयको पूर्ण सहयोग रहने बताए ।
राजनीतिक दल, स्थानीय, सरकारी निकाय तथा सरोकार समिति र कम्पनीका सम्पूर्ण कर्मचारीको सहयोगले समयमै सुरुङको काम पूरा भएको प्रबन्ध निर्देशक घिमिरेले बताएका थिए । कार्यक्रममा सञ्चालकहरू रामबहादुर पाण्डे, राजेन्द्र वस्ती, दोर्दी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र सरोकार समितिका अध्यक्षको उपस्थिति थियो ।
आयोजनाको हेडवक्र्सदेखि २ हजार ६ सय २३ मिटर सुरुङ र २ हजार ८ सय ५४ मिटर पेनस्टक पाइप निर्माण हुनेछ । हालसम्म आयोजनाको करिब ८० प्रतिशत निर्माण पूरा भएको छ भने आगामी फागुनसम्म आयोजनाका सम्पूर्ण संरचना निर्माण तथा उपकरण जडान गर्ने लक्ष्य छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा ९ वटा बैंकले ऋण लगानी गरेका छन् ।
३ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालम्म २ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ खर्च भएको कम्पनीका सञ्चालक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्