अखाद्य बस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ : मन्त्री खनाल


काठमाडौं, २३ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि जेल हालिने बताएका छन् । सोही कारण सरकारले एक वर्षभरी दुध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरेको उनले स्पष्ट पारे । फोकस नेपाल नामक संस्थाद्धारा मंगलबार आयोजित समृद्धिका लागि सहकार्य, कृषि क्षेत्रको विकास अपरिहार्य विषयक कार्यशालामा उनले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको बताए । मुख्य सहरमध्ये झण्डै ५० लाख मानिसेको बसोवास भएको काठमाडौंमा अखाद्य बस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको उनको भनाई छ । अनुगमन र कडाई पछि अहिले दुध ढुक्कले खान मिल्ने अवस्थामा पुर्याएको भन्दै मन्त्री खनालले तेल, पानी र मासुमा भने अझै सुधार नभएको बताए । उनले भने ‘अहिले नै म पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा छैन, राज्यले नियमन गर्ने संयन्त्रको विकास नै गर्न सकेको रहेनछ तर केही समयपछि नै खान मिल्ने बनाइन्छ, अखाद्य बस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ ।’
अनुगमन गर्दा खान नमिल्ने पानी बिक्री गर्ने २२ वटा पानी उद्योगमा तालावन्दी गरिएको पनि मन्त्री खनालले जानकारी दिए । यस्तै उनले अहिले कृषि क्षेत्रको अवस्था दयनीय भएको पनि बताएका छन् । २ करोड ८० लाखको दुई तिहाई अर्थात झण्डै ६५ प्रतिशत मानिसले खेती गर्ने कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट, सरकार र नेताको प्राथमिकता आदि कारणले कृषि क्षेत्रको अवस्था दयनीय भएको पनि उनले गुनासो गरे । उनले भने ‘सामान्य गमलामा छर्केको भरमा आफूलाई पुग्ने धनियाँ उत्पादन गर्न सकिन्छ तर हामी वार्षिक १३ करोडको धनियाँ विदेशबाट आयात गर्छौं, एक सय २५ देखि ३० अर्बको धान चामल आयात हुने गरेको छ । उनले कृषि प्राथमिकतामा नपरेको भन्दै सरकारको सोचाई बदलिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्