संस्थानका खसीवोकामा पशु चिकित्सको चेकजाँच, स्वश्थ मात्र बिक्री गरिने


काठमाडौं, २६ असोज । नेपाल खाद्य संस्थानका खसीबोका तथा च्यांग्रा काठमाडौं भित्रिएका छन् । काठमाडौंको थापाथलीस्थित नेपाल खाद्य संस्थानमा बिहीबारदेखि खसीबोका, च्यांग्रा भित्रिन सुरु भएको छ । पहिलो लटमा पाँच सय च्यांग्रा र करिब तीनसय खसीबोका भित्रिएको संस्थानका निमित्त महाप्रबन्धक श्रीमणि खनालले जानकारी दिए । संस्थानले यसवर्ष च्यांग्रा एक हजार र खसीबोका एक हजार गरी कुल दुई हजारमात्रै खसीबोका र च्यांग्रा ल्याउने भएको छ । संस्थानका निमित्त महाप्रबन्धक खनालले आगामी असोज २८ गतेसम्म खसीबोका र च्यांग्रा आउने क्रम जारी रहने पनि बताए । उनका अनुसार खसीबोका र च्यांग्रा शुक्रबार बिहान ८ बजेदेखि बिक्री सुरु भएको छ । संस्थानले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ५१० रुपैयाँ र च्यांग्राको प्रतिकेजी मूल्य ७१० रुपैयाँ निर्धारण गरेको छ ।
संस्थानले मुस्ताङबाट एक हजार च्यांग्रा र दाङ र हेटौँडबाट एक हजार खसीबोका ल्याउँदैछ । गत वर्ष नेपालगन्जबाट पनि खसीबोका ल्याएकोमा यस वर्ष भने ढुवानीलगायत समस्याका कारण पहाडी क्षेत्रबाटमात्रै ल्याउन लागिएको संस्थानका निमित्त महाप्रबन्धक खनालले बताए । गत वर्ष दुई हजार खसीबोका र च्यांग्रा ल्याउने निर्णय गरेको भए पनि एक हजार आठ सय मात्रै ल्याएको थियो ।
दशैँमा संस्थानले बिक्री गर्ने दुई हजार खसीबोका र च्यांग्राले माग धान्न नसक्ने भएपनि मूल्य नियन्त्रणमा भने सघाउने उनको भनाइ छ । खनालले हिमालय टाइम्ससँग भने, ‘बजारको माग धान्नेभन्दा पनि मूल्य नियन्त्रण गर्ने उद्देश्यका साथ संस्थानले हरेक वर्ष खसीबोका बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबोका कारण निजी क्षेत्रलाई पनि मूल्य नियन्त्रणमा मानसिक दबाब सिर्जना हुन्छ ।
दशैँमा ६० हजारभन्दा बढी खसीबोका खपत हुने गरेको छ, अधिकांश हिस्सा निजी क्षेत्रले आपूर्ति गर्दै आएको छ । खाद्य संस्थानले स्वदेशी खसीबोका र च्यांग्रा बिक्री गर्ने भएपनि निजी क्षेत्रले भने अधिकांश खसीबोका छिमेकी मुलुक भारतबाटै ल्याउने गरेको छ । संकलन र ढुवानी सहजतका कारण भारतबाट आयात गर्दा नेपालभन्दा सस्तो पर्ने व्यवसायीले बताएका छन् ।
यसैबीच काठमाडौं महानगरपालिकाले खसीबोकाको अनुगमन सुरु गरेको छ । कलंकी, बालाजु, बिजुलीबजार र टुकुचाका चौपाया बिक्री केन्द्रको पशुको निरीक्षण गरको छ । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा पशु बजारको अनुगमन गरिएको हो । अनुगमन टोलीले ४ वटा चौपाया बिक्री केन्द्रमा २ हजार ५११ चौपाया जाँच गरेको छ । जसमा सबैभन्दा बढी कलंकीमा १ हजार २४५ वटा खसी, १६५ वटा बोका, ६० वटा भेडा, ७ वटा थुमा र ३६५ वटा च्यांग्रा जाँचिएको हो । २ वटा खसीमा भने समस्या देखिएको अनुगमन टोलीले जनाएको छ ।
पशु चिकित्सकहरूले स्वस्थ खसीबोकामात्रै खरिद गर्न सचेत गराएका छन् । बिरामी खसीबोकामा बाहिरी क्षेत्र नाक र मुखबाट सिंगान र ¥याल बगेको, मलद्वारबाट पातलो दिसा भएर शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, लंगडाउने, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिन छिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुईं कोट्ट्याउने, घरीघरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण हुन्छन् । कडाखालको ज्वरो, पिपिआर, रेबिज, घुमाउने, खोरेत र क्षयरोग लागेका खसीबोकाको मासु मानव स्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ । यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु सेवन गर्दा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने प्रबल सम्भावना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्