कोपिला निमोठेर फलको आशा गर्नु बेकार छ


९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले छापामार शैलीमा सरकार छाडेको दाबी गरेका छन् । अविश्वासको प्रस्तावबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा लिखित मन्तव्य दिँदै ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले संसद् र संसदीय अभ्यास आफैँमा फोहोरी खेल नभएको भन्दै त्यसलाई फोहोरी बनाएको पनि दाबी गरे । ‘वागमती आफैँ प्रदुषित हुँदैन,’ उनले भने, ‘वागमती मान्छेले प्रदुषित गर्छन् । संसद र संसदीय अभ्यास पनि आफैँमा फोहोरी खेल होइन । हामीले नै बनाएको हो ।’

उनले संसदमा म्याचफिसिङ गर्दा समस्या भएको पनि दाबी गरे । ‘संसद्मा म्याचफिसिङ भयो,’ उनले भने, ‘यो सम्माननीय संसद्लाई निजी स्वार्थ बनाउँदा अपराधिकरण भएको छ ।’ उलने सहमतिको नाममा कोपिला लागेको बोट उखेलेर माओवादीले फलको आस गरेको पनि आरोप लगाए । ‘धान फलेको खेतमा डोजर चलाएर धानको कुन्यौँ लगाउने कुरा कत्तिको संभव छ ?,’ उनले भने, ‘नजर एकातिर निशाना अर्कैतिर यो कसरी संभव हुन्छ ?’ उनले माओवादीको कुनै भर नभएको भन्दै एक माघले जाडो नजाने पनि दाबी गरे ।

‘तपाईँहरु पनि सजग हुनुहोला,’ कांग्रेसप्रति संकेत गर्दै भने, ‘यस्तै समस्या तपाईँहरुलाई पनि आउँछ । एक माघले जाडो जाँदैन ।’ उनले सम्बोधनका क्रममा भारतसँग भएको चिसो सम्बन्धलाई सुधार गरेको, सुशील कोइराला नेतृत्वको सरकारले अलपत्र छाडेका कामलाई पूरा गरेको, एकतर्फी परनिर्भरताको अन्त्य गरेको जस्ता कुरा पनि उल्लेख गरे । तर, ती सबै कुरालाई अस्वीकार गर्नु अनौठो भएको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्