विप्लवको प्रहरी चौकी ‘कब्जा गर्ने प्रयास असफल:हेलिकोप्टरबाट थप सुरक्षाकर्मी पठाइयो


 
सोलुखुम्बु, २० जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले सोलुखुम्बुस्थित एक प्रहरी चौकी कब्जाको प्रयास गरेपनि असफल भएको छ ।

विप्लव समूहले गए राति ९आइतबार० महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको भए पनि असफल भएको हो । मध्यराति १२ बजेतिर २५–३० जनाको विप्लव माओवादीका कार्यकर्ता चौकी पुगेका थिए । चौकीका प्रहरी भने पुर्व सुचना पाएर हतियारसहित भाविसकेका थिए ।

माओवादी कार्यकर्ता कब्जाको लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएको जनाइएको छ । प्रहरी र माओवादी कार्यकर्ताबीच भेट नभए पनि मध्यान्न १२ बजेदेखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको जनाइएको छ ।

महाकुलुङ क्षेत्रमा केही दिनदेखि विद्युत नभएका कारण नेपाल टेलिकमद्वारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ । यता जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले जानकारी दिएका छन् ।

उनले यसबारे अहिले नै केहि कुरा भन्न नसकिने बताएका छन् । प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली सो क्षेत्रमा हेलिकप्टरमार्फत पुगिसकेका छन् । छेस्काम सदरमुकाम सल्लेरीदेखि करीब २५ कोषको दूरीमा पर्छ ।काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्