व्यवस्थापन नसुधारे निगमलाई सरकारले एक पैसा पनि दिदैन: प्रधानमन्त्री ओली


काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वायुसेवा निगमको व्यवस्थापन नसुधारे सरकारले ऋण वा लगानीका नाममा एक रुपैयाँ पनि नदिने बताएका छन् ।

नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म निगमलाई सरकारले एक रुपैयाँ पनि दिन नसक्ने बताएका छन् । वायुसेवा व्यवस्थापनले जहाज किन्ने तर, उडाउन नसक्ने र घाटामा छ भनेर सरकारसँग पैसा मागिरहने क्रम कहिलेसम्म भन्दै प्रधानमन्त्री ओलीले उल्टै प्रश्न गरेका छन् ।

उनले भने, ‘जहाज छन् तर, उडाउने पाइलट छैनन् । गन्तव्य छैन । कहाँ उडाउने टुङ्गो छैन । व्यवस्थापन भद्रगोल छ । यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्‍यो । आफैं सक्ने भए छिट्टो गर्न पर्‍यो ।’ उनले थपे, ‘गर्नुपर्ने काम नगर्ने यति र उति अर्ब चाहियो भन्दैमा पैसा दिन सकिंदैन । यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ ।’

उनले निजी क्षेत्रले सञ्चालन गर्दा जे पनि सफल हुने र सरकारी हुँदा जे पनि असफल हुनुको कारण के हो रु निगमले जवाफ दिनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले निगमलाई सुधार्न आफू तयार रहेको जानकारी गराउँदै ठोस कार्ययोजना ल्याए थप विमान किन्न सरकारको सहयोग गर्ने बताएका छन् ।

विमान खरिद गर्दा कमिसनको खेल हुनेतर्फ औंल्याउँदै प्रधानमन्त्री ओलीले सरकारलाई कमिसन नचाहिएकाले निगमका पदाधिकारीलाई पनि कमिसनको पछि नलागी संस्था बनाउनेतर्फ लाग्न निर्देशन दिए ।

ऋण लिएर किनेको वाइड बडी जहाज चलाउन नसकेको निगमले किस्ता तिर्नकै लागि सरकारसँग आर्थिक सहयोग माग्दै आएको छ ।

राष्ट्रिय ध्वजावाहक भएकाले काँध थाप्न सरकार तयार भए पनि आँखा चिम्लेर पैसा मात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराएका छन् । सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने पनि उनले बताए ।

सधैं सरकारको मुख ताकेर नबस्ने सुझाव दिँदै ओलीले नाम वायुसेवा भए पनि दान पूण्यको काम नभएको भन्दै उनले एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो नभएको बताए ।

‘६१ वर्षको अवधिमा उन्नति प्रगति कति भयो रु ३९ अर्ब ऋण छ । यो दान पूण्यको मात्र क्षेत्र होइन । नाम सेवा निगम भए पनि व्यापार हो । निःशुल्क स्वास्थ्य शिविर राखे जस्तो होइन’, प्रधानमन्त्री ओलीले भने भने, ‘आफैंले आम्दानी गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्