हुँदै नभएको प्रदेश प्रहरीका लागि करोडौंका गाडी


काठमाडौं, ८ असोज । गठन नै नभएको प्रदेश प्रहरीका लागि सुदूरपश्चिम सरकारले तीन करोड ३३ लाखका नौवटा गाडी किनेर साढे २ महिनादेखि चौरमा थन्क्याएको छ ।

बजेट सक्न गत आर्थिक वर्षको अन्तिमतिर १८ असारमा ३६ लाख ९९ हजारको दरले टाटा कम्पनीका गाडी किनिएका हुन् । प्रदेश प्रहरी नै नबनेका कारण ती गाडी आन्तरिक मामिला मन्त्रालयको चौरमा राखिएका छन् ।

मिडियाले यसबारे चासो राखेपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले किनिएका गाडी संघीय सरकारमातहत रहेको नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ । सुदूरपश्चिमका नौवटै जिल्ला प्रहरी कार्यालयलाई एक–एक गाडी दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुनसचिव किशोरकुमार चौधरीले बताए ।

अब हालका जिल्ला प्रहरीलाई नै बाँडिदिन्छौँ
प्रकाशबहादुर शाह, आन्तरिक मामिलामन्त्री, सुदूरपश्चिम सरकार
प्रदेश प्रहरी चाँडो गठन हुन्छ भन्ने ठानेका थियौं । त्यसैले बजेट छुट्यायौं र गाडी किन्यौं । तर, संघमा कानुन नबन्दा नेपाल प्रहरी प्रदेशमा समायोजन हुन सकेन । अनियमितता गर्न वर्षको अन्तिममा खरिद गरेको भने होइन । टेन्डर प्रक्रिया लामो भएकाले ढिलो भएको मात्रै हो ।

सडक सञ्जालको सबैभन्दा कम सुविधा भएको कर्णाली सरकारले सबैभन्दा चाँडो किन्यो प्रदेश प्रहरीलाई १४ गाडी
कर्णाली सरकारले पनि गत वर्ष प्रदेश प्रहरीका लागि तीन करोड ३० हजारमा १४ गाडी किन्यो । २ मिनी ट्रक, दुई टाटा जेनुन, ८ बोलेरो क्याम्पर र एक–एक टाटा सफारी र स्कारपियो फाइभ एस खरिद गरिएका थिए ।

तर, लामो समयसम्म थन्क्याइएका गाडी अन्ततः नेपाल प्रहरीको जिम्मा लगाइएको छ । ‘प्रदेश प्रहरी गठनमा ढिलाइ भएकाले मन्त्रिपरिषद्बाट निर्णय गराएर कर्णाली नेपाल प्रहरीलाई मैले नै गाडी हस्तान्तरण गरेको हुँ,’ आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले भने । प्रदेशको शान्तिसुरक्षा प्रभावकारी बनाउन प्रहरीलाई दुई चरणमा गाडी खरिद गरिएको उनले बताए ।

प्रदेश १– गत वर्ष प्रदेश प्रहरीका लागि भन्दै ११ करोडका २४५ मोटरसाइकल र १५ पिकअप भ्यान किन्यो, तर सशस्त्र र नेपाल प्रहरीलाई बाँड्यो । चालू आवमा थप २३५ थान मोटरसाइकल किन्ने योजना
प्रदेश २– प्रदेश प्रहरीका लागि गत वर्ष करिब १६ करोड विनियोजित, जिल्ला प्रहरीका लागि ४३ लाखको गाडी किनियो । यो वर्ष १६ गाडी र तीन दमकल किन्न साढे तीन करोड बजेट

प्रदेश ३– गत वर्ष प्रदेश प्रहरीका लागि गाडी किन्न ८ करोड बजेट, तर खर्च गरिएन । सो रकम यो वर्ष खर्च गरिने

गण्डकी – नेपाल प्रहरीका लागि गत वर्ष ७१ लाखमा ३५ मोटरसाइकल किनिए । यो वर्ष प्रदेश प्रहरीका लागि झन्डै ३७ करोड बजेट, गाडी किन्न तीन करोड छुट्याइयो

प्रदेश ५– ऐन नबनेकाले अघिल्लो वर्ष प्रदेश प्रहरीका लागि बजेट नै छुट्याइएन यो वर्ष बजेट छ, तर कानुन अभावले खर्च गरिएको छैन । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्