मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्ववियु निर्वाचन ८ गते नहुने, विद्यार्थीद्वारा भीसी कार्यालय घेराउ


५ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन यहि भदौ ८ गते हुने भनिए पनि अन्तिम समयमा आएर रोकिएको छ ।

विप्लव माओवादीका विद्यार्थीहरुको निरन्तर अवरोधका कारण उपकुलपतिको कार्यालयले ८ गते हुने भनिएको निर्वाचन यही १३ गर्ने सूचना टाँस गरेको छ । १६ सय ९३ विद्यार्थी रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन मिति तोकिएसँगै अधिकांश विद्यार्थी संगठनका नेताहरुको त्यहाँ पुगेका थिए ।

तर, विप्लव माओवादीका विद्यार्थीको दबाबमा निर्वाचन मिति सारिएको भन्दै अनेरास्ववियु, क्रान्तिकारी नेक्रावि संघ लगायतका विद्यार्थीले उपकुलपतिको कार्यालय घेराउ गरेका छन् । ‘करिब १० वर्षदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विभिन्न कारणले हुन सकेको छैन,’ अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालले भनिन्, ‘निकै लामो संघर्षबाट स्थापना गरेको स्वतन्त्र विद्यार्थी युनियनको अस्तित्व नै संकटमा पर्ने अवस्था सिर्जना भएका बेला मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचनले आम विद्यार्थीहरुमा खुशी छाएको थियो तर अन्तिम समयमा आएर निर्वाचन मिति सार्दा दुःख लागेको छ ।’

बरालले तोकिएकै मितिमा निर्वाचन गराउन उपकुलपतिलाई दबाब दिन उपकुलपतिको कार्यालय घेराउ गर्न लागेको जानकारी दिइन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेक्राविसंघ लगायतका विद्यार्थी संगठनले उम्मेदवारी समेत घोषणा गरिसकेका छन् भने नेपाल विद्यार्थी संघलगायतका विद्यार्थी संगठनले उम्मेदवारी चयन गरेका थिएनन् ।

‘आगामी फागनु १४ गते त्रिभुवविश्वविद्यालय अन्तर्गतका क्यापसहरुमा निर्बाचन हुने निश्चितिप्रायः छ भने मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको यही भदौ ८ गते निर्वाचन सम्म्पन्न गर्नेगरी सम्पुर्ण तयारी पूरा भएको अवस्थामा अन्तिम घडिमामा अनेरास्ववियु क्रान्तिकारी( विप्लव) द्वारा निर्वाचन रोक्नका लागि गरिएको तालाबन्दी घोर निन्दनीय छ,’ अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने, ‘ यो कायर कार्य हो । पुनः १३ गतेको लागि तोकिएको छ । यसले निर्वाचन नै नहुने खतरा देखियो ।’

१५ सय भन्दा बढी विद्यार्थी रहेका कारण त्यहाँ १७ सिटे स्ववियु हुनेछ । त्यस मध्ये अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित १० जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने सात सदस्यका लागि समानुपातिक प्रणाली अपनाउने तयारी भएको छ । त्यसकारण पनि स्ववियुमा कम्तीमा पनी तीन ठूला विद्यार्थी संगठनको उपस्थिति रहने निश्चित जस्तै भएको ।

‘अदालतले नै स्ववियु चुनाव लड्ने विद्यार्थीको उमेर हद २८ वर्ष तोकेको अवस्थामा यहाँ हामीले त्यही उमेरहदलाई राखेर निर्वाचन अघि बढाउने तयारी गरेका छौँ,’ खत्रीले भने, ‘‘यसले अन्य विश्वविद्यालयको निर्वाचनमा पनि सकारात्मक सन्देश दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्