विकास भनेको बाटो कि शिक्षा ?


योगेश भट्टराई

हामी शब्दका बारेमा कहिलेकाँहि अनावश्यक विवाद गर्छौ । संविधान निर्माणको प्रकृयाका बेला हामीले राज्यको शासकीय स्वरुपको सन्दर्भमा कुरा गर्दा बारम्वार प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गर्यौं ।

माओवादीले राष्ट्रपति भनेको थियो, हामीले प्रधानमन्त्री भनेका थियौं । तर त्यो गलत छ भन्ने सन्दर्भमा नेपाली कांग्रेसको तर्क कम्युनिष्टहरु अधिनायकवादी हुन्छन्, उनीहरुले अधिनायकवादी शासन खोज्नका लागि यस्तो कुरा गरेका हुन् भन्ने आरोप लगायो । त्यो  कांग्रेसको असाध्य कमजोर बुझाइ थियो ।

मैले भन्ने गरेको थिए–आफूलाई दुनियाँको सबैभन्दा प्रजातान्त्रिक भन्ने मुलुक अमेरिकामा प्रत्यक्ष कार्यकारी राष्ट्रपति नै छ । आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै वैकल्पिक व्यवस्थाको हिसावले विकास गरेको समाजवादी चीनमा पनि राष्ट्रपतिय प्रणाली नै छ । त्यसैले यो प्रणाली कुन देशको कुन वादको  भन्ने हुँदैन त्यो प्रणालीले कसका हितमा काम गर्छ भन्ने कुरा ज्यादा महत्वपुर्ण हो ।

हामीले जनवादी शिक्षा प्रणालीको कुरा गर्यौं । धेरै पहिले दखि हामीहरुले यो शव्द प्रयोग गर्दै आइरहेका छौं । हामी स्वयं अनेरास्ववियूमा रहँदा कस्तो शिक्षा प्रणाली को विकास गर्ने भन्ने बारेमा बारेमा अनेक प्रशिक्षण चलायौं । विद्यार्थीकालमा कहिलेकाहि हामीलाई अपठेरो पनि पथ्र्यो। त्यो के भने, जनवादी शिक्षा भनेका छौं, केहि न केहि भिन्नता देखाउनै पथ्र्यो । भिन्नता खोज्न हामीलाई धेरै कठिन पनि हुन्थ्यो । खोजेर ल्याउनु पर्ने भएकाले त्यो ज्यादा वनावटी पनि हुन्थ्यो ।

त्यसपछि हामीले अनेरास्ववियूमा नयाँ दृष्टिकोण अगाडी बढायौं । ०५२ सालमा विराटनगरमा भएको १३ औं राष्ट्रिय सम्मेलनमा म आफैले प्रतिवेदन प्रस्तुत गरेको थिएँ, त्यहाँ मैले जनवादी शिक्षा भन्ने च्याप्टर उल्लेख नै गरिन, बैकल्पिक शिक्षा प्रणाली उल्लेख गरे, त्यो ज्यादा उपयुक्त हुन्छ भन्ने लाग्यो । शिक्षाले आखिर सेवा गर्ने भनेको व्यवस्थालाई नै हो । पुजिवादी विचार अन्र्तगत कुनै व्यवस्था वनाइन्छ भने त्यहाँको शिक्षाले, राजनीति ले र अरु अनेक नीतिहरुले त्यो व्यवस्थालाई नै सहयोग पुर्याउछन्, त्यसलाई बलियो ब्बनाउने नै काम गर्छन् ।

हामी समाजवादीहरुले समाजवादी राज्य व्यवस्थाको कुरा गर्छौ भने हाम्रो शिक्षा नीतिले, अरु योजना र नीतिहरुले हामीले बनाउन खोजेको व्यवस्थालाई नै बलियो बनाउने हो । दुईटा विचारहरुका वीचमा भिन्न्ता त्यहिनेर प्रकट हुन्छ । हामीले जुन विचार बोकेका छौं, चाहे जनवादी शिक्षा भन्नुस वा बैकल्पिक शिक्षा भनौं, त्यो  शिक्षाले मूलत द्धन्दात्मक भौतिकवाद भन्नुस्, द्धन्दात्मक भौतिकवादलाई त्यसले बोक्छ कि बोक्दैन ? हाम्रा विद्यार्थीहरुलाई द्धन्दात्मक भौतिकवादी विधीवाट समाजलाइ, दुनियाँलाई बुझ्ने दृष्टिकोण दिन्छ कि दिदैन ?

हामीले दिने शिक्षाले हाम विद्यार्थीहरुको चेतनालाई आलोचनात्मक बनाउँछ कि बनाउँदैन ? हामी माक्र्सवादी हौं भने बुझ्नु पर्ने कुरा हो, माक्र्सवादले व्यक्तिलाई आलोचनात्मक बनाउँछ । हामीले  दिएको शिक्षाले आलोचनात्मक बनाउँदैन र कुनै पनि कुरा, व्यर्थको अन्धभक्त मात्र बनाउँछ भने त्यो शिक्षा माक्र्सवादी, द्धन्दात्मक भौतिकवादी शिक्षा हुँदैन । त्यो आध्यात्मिक शिक्षा हुन्छ, हामी त्यस्तो शिक्षा दिने पक्षमा छैनौं ।

आजभोली विश्वभर एउटा बहस चलिरहेको छ । आज त्यो बहस नेपाली समाजमा पनि आवश्यक छ । आज नभए पनि भोलीका दिनमा यो बहस गर्नैपर्छ– हामी बलियो नेता खोजिरहेका छौं कि बलियो प्रणाली खोजिरहेका छौं ? यो ज्यादै महत्वपुर्ण कुरा हो । आज समाजिक संजालहरुमा हेर्ने हो भने त्यहाँ हामीले बलियो नेता खोजिरहेको प्रष्ट देखिन्छ । तर,बलियो नेता खोजेर हुदैन, बलियो प्रणाली खोज्नुपर्छ । यदि वलियो प्रणाली बनाइयो भने त्यो प्रणालीभित्र नेता स्वत बलियो हुन्छ ।

बलियो नेता खोजियो, प्रणाली केहि पनि छैन भने त्यो नेताले केहि पनि गर्न सक्दैन । त्यस्तो नेताप्रतिको जनताको विश्वास भताभुङ हुन्छ र अर्को वर्ष देखि त्यो नेतालाई गाली गर्न थालिन्छ । आजका दुनियाँका पुजिवाँदी पश्चिमा मुलुकहरुले वा चीनले वा अरु जति पनि प्रगति गरिरहेका मुलुकहरु छन्, तीनले सबैभन्दा पहिले संस्थाहरु, प्रणालीहरुलाई बलियो बनाएको हुनाले नै  ती राष्ट्र वलियो भएका छन् । हामीले पटक–पटक नेता बलियो बनाउन खोज्यौं । नेता बलियो बनायौं भने त्यसले कहिले काहि गलत बाटो पनि लिइदिन्छ ।

६ लेनको चौडा र बलियो बाटो बनायौं भने त्यहाँ पचास चक्के ट्रक पनि गुड्न सक्छ । तर, बाटो छैन , पचास चक्के ट्रक गडाउन खोजियो भने दुर्घटना हुन्छ । त्यसकारण, शिक्षाले त्यो चेतना दिनु पर्छ । हामीले भनेको शिक्षाले देशभक्तिपुर्ण भावना दिनुपर्छ , व्यक्तिलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने बाटो देखाउनुपर्छ । जनवादी वा बैकल्पिक वा प्रजातानित्रक वा समाजवादी जे भने पनि त्यो लाई प्राथमिकता दिएका छन् कि छैनन । हाम्रो जनशक्तिको निर्माण त्यस अनुसार भएको छ कि छैन ? आज भूकम्प पछिको पुर्ननिर्माणका लागि  प्राधिकरण बनेको छ ।

हामीलाई हजारौं इन्जिनियर चाहिएको छ, हजारौं मध्यम वर्गको सीप भएको जनशक्ति चाहिएको छ । त्यो जनशक्ति हामीले पुर्ति गर्न सक्छौं कि सक्दैनौं ? आज पसिना मात्र बगाउने अदक्ष नेपाली युवालाई विदेशमा पठाएर हामीले सात सय अर्व भन्दा वढी रेमिट्यान्स ल्याइरहेका छौं । त्यसमा २० प्रतिशत मात्र सीपयुक्त बनाएर पठाउने हो भने त्यो भन्दा दोब्बर रेमिट्यान्स भित्रिन्छ । तर, हाम्रो शिक्षाले त्यो दिशा बोकेकै छैन । हामी विदेश जाँदा त्यहाँका कम्पनी मालिकहरुले भन्छन्–‘तपाइले अलिकति प्लम्विङ गर्न जानेको मान्छे पठाइदिनुस् हामी दोब्ब्बर तलव दिन्छौं । अलिकति सीप भएको मान्छे पठाउनुस् न दोब्बर तलव दिन्छौं ।’ हामीले ती नीतिहरुलाई राम्रो सँग पछ्याइरहेका छैनौं ।

नेकपा एमालले नौ महिने शासन कालमा ‘आफ्नो गाऊँ, आफै बनाऔं’ कार्यक्रम ल्यायो । यस्तो कार्यक्रमले नेपालको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउाछ, ग्रामिण अर्थतन्त्रलाई शहरसँग जोड्छ, गाऊामा रोजगारीको अवसर सृजना हुन्छ, गाऊँमा सहरीकरणको विकास हुन्छ, गाऊाबाट विकासका आधार निर्माण हुन्छन् र जनसहभागिताका माध्यमबाट राष्ट्रले विकासको तरंग पैदा गर्छ भनेर नै त्यो कार्यक्रम ल्याइएको थियो । त्यस कार्यक्रमले नेपालमा साच्चै ठूलो क्रान्ति पनि ल्यायो । गाऊमा तीन लाख रुपैयाा पठाउँदा ३० लाखका काम भए ।

आज ३० लाख पठाउँदा तीन लाखको काम भएको छैन । हिजो हामी नै थियौं, तीन लाख पठाउँदा ३० लाखको काम गथ्र्यौ, आज पनि हामी नै छौं, तीस लाख पठाउँदा तीन लाखको कामशिक्षाले यो दिशा निर्दिष्ट गर्नुपर्छ ।

आज हामीकहाँ धेरै कुराहरु मिलिरहेका छैनन् । एउटै कुरा म भन्छु–हाम्रो राष्ट्रिय आवश्यकता के हो ? र, त्यो आवश्यकतालाई शिक्षाले बोकेको छ कि छैन ? हाम्रा नीति निर्माताहरु चोह त्यो राष्ट्रिय योजना आयोगमा हुन् अथवा कतै हुन्, उनीहरुले जे नीति बनाउँछन्, त्यो नीति अनुसार शिक्षालाई पुर्नसंरचना गर्ने काम भएकै छैन।

हाम्रा राष्ट्रिय आवश्यकता र नीति एकातिर छन्, शिक्षा अर्कातिर दौडिरहेको छ । हाम्रो मुलुकको समृद्धिको मुख्य आधार भनेको कृषी, जलस्रोत, पर्यटन आदि हुन् भन्ने गरेका छौं । अनि शिक्षाको पुर्नसंरचना गर्ने, शिक्षाको नीति बनाउने  अथवा यो देशको समृद्धिका निम्ति नीति बनाउने हरुले कृषि, जलस्रोत र पर्यटनमा आधारित शैक्षिक व्यवस्थाको व्यवस्था गरेका छन् कि छैनन् ? हाम्रा विश्वविद्यालयहरुले त्यसो गर्दैनौं । दक्षिण कोरिया जाँदा त्यहाँ हामीलाई पढाइयो–१९६२ मा त्यहाँ पनि हाम्रो आफ्नो गाऊँ आफै वनाऔं भन्ने जस्तै कार्यक्रम ल्याइएको रहेछ ।

त्यसले दक्षिण कोरियाको ग्रामिण अर्थतन्त्रलाई, त्यहााका गरिब जनतालाई राज्यको तर्फबाट आवश्यक इन्टेन्सििभ दिदै माथि ल्यायो । अहिले पनि त्यहाँ त्यो कार्यक्रमको ‘फलो अप भइरहेको छ । त्यसको रिसर्च गर्ने संस्था नै सयौं छन् । त्यसले पारेको प्रभाव बारे शोधपत्र बनाएर हामीलाई त्यहाँ जाँदा उनीहरुले पढाउने गरेका छन् । तर, हामीले यति ठूलो क्रान्ति गरेका थियौं ०५१ सालमा एमाले सरकारका बेला ।

तर कुनै पनि विश्वविद्यालयमा, कुनैपनि पाठ्यक्रममा त्यो नौ महिने शासन कालको, आफ्नो गाऊँ आफै बनाऔं कार्यक्रमको पढाइ भएन । त्यस्ता कार्यक्रमबारे फलो अप नहुँदा ती कार्यक्रम आउने र हराएर जाने गरेका छन् । अनि कुनै विचारवादमा गएर त्यस्ता कार्यक्रम विवादित निदिन्छन् । नाम के राख्ने भन्नेमा विादिन भइदिन्छ ।  यस्ता खालका कार्यक्रमहरु शिक्षाले दिनुपर्छ ।

एकपटक, अन्नपुर्ण होटलमा गिरिजाप्रसाद कोइराला र डा केदारभक्त माथेमाका वीच रोचक बहस भएको थियो । त्यो कार्यक्रममा म पनि थिएँ । गिरिजाबाबुले भन्नुभयो–बिकास भनेको बाटो हो । केदारभक्त माथेमाले भन्नुभयो–बिकास भनेको शिक्षा हो । पाँच–सात मिनेट मज्जाले सवाल– जवाफ चल्यो ।

आज पनि हामी नेताहरुलाई गाऊँतिर घुम्न जाँदा त्यहाँका जनताले ‘हजुर, बाटो बनाइदिनु पर्यो, विजुली ल्याइदिनु पर्यो’ भन्छन् । राम्रो विद्यायलय बनाइदिनु पर्यो, यो शिक्षकले राम्रो पढाएन , राम्रो पढाउने शिक्षक पठाइदिनु पर्यो भन्दै भन्दैनन् । शिक्षामा सुधार गर्ने कुरा चाहिँ भन्दै भन्दैनन् । शिक्षामा सुधार गर्ने कुरा नै विकासको मुख्य कुरा हो, चाहे त्यो शिक्षालाई जुनसुकै नाम दिऔं । विकासको पुर्वाधार नै त्यहि हो ।

                                                                     भट्टराई  नेकपा (एमाले)का सचिव हुन् । 
 

प्रतिक्रिया दिनुहोस्