‘यही वर्ष राजधानीलाई खाल्टाखुल्टी मुक्त बनाउँछु’


२३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकभरि १ सय वटा स्मार्ट भिलेज र दस वटा स्मार्ट सिटीको निर्माण कार्यलाई तिव्रता दिने बताएका छन् । आज व्यवस्थापिका–संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

सम्बोधनकै क्रममा प्रधानमन्त्री दाहालले काठमाडौं–तराई द्रुत मार्गको कामलाई छिटो सुरु गर्ने, काठमाडौंमा फ्लाइओभर निर्माण गर्ने, फोहोर व्यवस्थापन गर्ने जस्ता कार्यलाई पनि आफ्नो कार्यकालबाटै सुरु गर्ने पनि बताएका छन् । उनले काठमाडौंमा एकीकृत बस्ती निर्माण गर्ने, सीतापाइलाबाट धादिङको नौबीसेसम्म सुरुङमार्गको निर्माण कार्य यसै वर्षबाट सुरु गर्ने र तीन वर्षभित्र वागमतिलाई ढलमुक्त बनाउनेजस्ता योजना पनि अघि सारेका छन् ।
त्यसैगरी, प्रधानमन्त्री दाहालले सबै सरकारी कर्मचारीलाई जिम्मेवार बनाउने, त्यसका लागि ‘राष्ट्रिय प्रतिष्ठान’ गठन गर्ने र यसैबाट काठमाडौँ बाहिरी चक्रपथ निर्माण कार्य थाल्नुका साथै पहिलो चरणमा राजधानीलाई खाल्टाखुल्टी मुक्त बनाउने र सबै ठाउँमा सडक पीच गर्ने योजना पनि अघि सारिएको बताए । त्यसैगरी रसुवा–काठमाडौं–लुम्बिनी रेलमार्गको कामलाई यसै वर्षबाट तीव्र रुपमा अघि बढाउने पनि बताएका थिए ।
उनले हतियार उठाउँदा र बिसाउँदा पनि देशको समृद्धिबाहेक अरु केही नदेखेको भन्दै सम्बोधनका क्रममा भने– ‘म बन्दुक उठाउँदा र बिसाउँदा पनि देशको समृद्धिमा देखेको मान्छे हुँ । त्यति मात्र होइन धेरै आँधीबेहोरी सहेर आएको मान्छे, अब देशको समृद्धिबाहेक मेरो अघि केही छैन ।’
उनले पहिलाको जस्तो देशमा राजा–महाराजा नभएको भन्दै देश बनाउने जिम्मा आफ्नै काँधमा आएकाले त्यसै अनुसार अघि बढ्नुपर्ने बताए । ‘अहिले गुनासा र आरोपित गर्ने राजा–महाराजा छैनन्,’ उनले भने– ‘देश बनाउने हामीले नै हो ।’ उनले देशबाट कालोबजारी अन्त्य गर्ने जस्ता कुरामा पनि सरकार कटिबद्ध भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्