धुम्बाराहीमा थरीथरीका सुझाव, ओलीको जवाफ आज


८ असोज । एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको छ । शुक्रबार केन्द्रीय सदस्यहरुले त्यसमा आफ्नो धारणा दिइसकेकाले शनिवार अध्यक्ष ओलीले त्यसको जवाफ दिनेछन् ।

शुक्रबारको बैठकमा सुझाव दिने केन्द्रीय कमिटी सदस्यहरुले पार्टीलाई मजबुत र एकताबद्ध बनाएर लैजानका लागि नेतृत्वपंक्ति एकढिक्का भएर जानुपर्ने, मतभेद र विवादहरुलाई समाधान गरेर निर्वाचनलाई केन्द्रमा राखेर पार्टी परिचालन गर्नुपर्ने, राष्ट्रिय एकता र समृद्धिलाई पार्टीको मूल एजेन्डा बनाउनुपर्ने, पार्टीका नेताहरुले एक अर्काको बद्ख्वाइँ नगरी पार्टीको नीति र नेतृत्वको रक्षा गर्नुपर्ने जस्ता सुझाव दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । उनका अनुसार, स्थानीय तहको पुन:संरचना छिटो गरी निर्वाचनमा जाने वातावरण बनाउन भूमिका खेल्नुपर्ने र राष्ट्रिय एकता, स्वाभिमान, साम्प्रदायिक सद्भाव र भौगोलिक एकतामा खलल पुर्‍याउने गरी आउने कुनै पनि प्रस्तावप्रति सजग हुनुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिएका छन् ।

सुझावका क्रममा केन्द्रीय कमिटी सदस्यहरुले संसदीय क्षेत्र र पार्टी कामका बीचमा राम्रो समन्वय हुनुपर्ने, संसद्मा पेस र पारित भएका कतिपय विधेयकहरु नेपालको संविधान र पार्टी नीतिका विपरीत रहेकाले सच्याउनुपर्ने, सामाजिक–आर्थिक रुपान्तरणलाई सहयोग पुग्ने गरी कार्यक्रम ल्याउनुपर्ने, पार्टीमा मापदण्ड र मूल्यांकन प्रणाली पारदर्शी बनाउनुका साथै आचारसंहिता बनाउनुपर्ने जस्ता सुझावहरु दिएको बताइएको छ ।

को-कोले बोले ?

शुक्रबारको बैठकमा प्रदेश नम्बर १ का तर्फबाट जगन्नाथ खतिवडा, प्रदेश नम्बर ६ का तर्फबाट यामलाल कँडेल, विभागहरुका तर्फबाट रचना खड्का र मोर्चाका तर्फबाट विश्वनाथ प्याकुरेलले समूह छलफलको निचोड राखेका थिए ।

बैठकमा समूह नेताको प्रस्तुतिबाहेक खेम लोहनी, राजन भट्टराई, पार्वत गुरुङ, हिक्मत कार्की, राजेन्द्र राई, रुपनारायण श्रेष्ठ, शिवमाया तुम्बाहाम्फे, जयन्ती राई, बलदेव चौधरी, कमलजंग राई दनुवार, केदार न्यौपाने, किशोर अधिकारी, लालबहादुर थापा, प्रकाश शाह, तिल विश्वकर्मा, लालबाबु पण्डित, भगवती चौधरी, राजन राई, राधा ज्ञवाली, थममाया थापा, खगेन्द्र राई, ममता गिरी, बमबहादुर विश्वकर्मा, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, बेदुराम भुसाल र महेन्द्रबहादुर पाण्डेले आ–आफ्ना सुझावहरु राखेका थिए ।

यसघि टोली नेताबाहेक हिजोको बैठकमा विक्रम शाही, कर्णबहादुर थापा, झपट रावल, प्रतापलाल श्रेष्ठ, श्रीप्रसाद साह, सुरेन्द्र मानन्धर, विरोध खतिवडा, सावित्रा भुसाल, सानुकुमार श्रेष्ठ र काशीनाथ अधिकारीले सुझाव दिएका थिए ।

बैठक आज दिउासो तीन बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्