बातबहादुरहरुले काम गर्न दिएनन्ः प्रधानमन्त्री


sindhupalchok 1 चौतारा । गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट सर्वसाधारणका क्षतिग्रस्त निजी आवासको पुनर्निर्माणको कार्य सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नं. ३, स्याङबोस्थित सर्बे तामाङको भूकम्प प्रतिरोधी घरको शिलन्यास गरेर अभियान सुरु गरेका हुन् ।

प्रधानमन्त्रीको उपस्थितिमा पीडित तामाङ र एकल महिला यदुमाया घोरासैनीलाई सरकारका तर्फबाट निजी आवास पुनर्निर्माण सम्बन्धी अनुदान सम्झौता हस्तान्तरण गरियो । प्रधानमन्त्रीको निर्देशनमा पीडित तामाङलाई बन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र अर्का पीडित घोरासैनीलाई सिन्धुपाल्चोकका नेकपा एमालेका पूर्व सांसद अमृतकुमार बोहराले सम्झौता हस्तान्तरण गरे ।

त्यस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दैै प्रधानमन्त्रीले भूकम्पमा परी दिवंगत भएकाहरुप्रति श्रध्दासुमन व्यक्त गर्नुकासाथै घाइते र पीडितहरुप्रति सहानुभूति प्रकट गरे । ‘हामी अघि बढ्नु छ । अघि बढ्नै पर्छ । देश अघि बढ्छ । त्यो अठोट हामी सबैले लिनुपर्दछ । म यस समयमा सबैमा धैर्यता र संयमताका साथ अघि बढ्न आह्वान गर्दछु,’ उनले भने ।

भूकम्प गएको छ महिनापछि वर्तमान सरकार गठन भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस अवधिमा सरकारले पीडितहरुका लागि सक्दो काम गरेको बताए । ‘तर पनि एकथरी बातबहादुरहरुले एउटा चर्चा चलाउने गरेका छन् कि यो सरकारले केही पनि गरेन । मानौ कि भूकम्प यै सरकारले बोकेर ल्याएको हो कि ! सरकारको अयोग्यताका कारण आएको जस्तो पो गर्छन्,’ उनले भने, ‘भूकम्प गएको बेलामा म अध्यक्ष रहेको नेकपा (एमाले)ले एक महिने अभियान चलाएर त्यत्रो घरहरु र विद्यालयको पुनर्निर्माण गरियो, त्यो जनताले थाहा पाएकै छन् । त्यसबेला पनि बातबहादुरहरुको कमी थिएन, अहिले पनि कमी छैन् ।’

अघिल्लो सरकारले दाताहरुसँग भत्किएका सबै घरहरुको सर्भे गरिसकेपछि मात्र पुनर्निर्माण गर्ने सम्झौता गरेकोले पनि पुनर्निर्माणको कामले गति लिन नसकेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले अब भूकम्प प्रतिरोधी नभएका संरचनाहरुलाई भूकम्प प्रतिरोधी संरचनाबाट विस्थापित गरिने उल्लेख गर्दै भने– ‘बृद्धबृद्धा, अशक्त, एकल महिला, बालबालिकाका घरलाई प्राथमिकतामा राखेर निजी आवासको पुनर्निर्माणको काम द्रुत गतिमा अघि बढ्छ । प्रधानमन्त्रीले वर्तमान सरकारले कसैतिर शीर नझुकाउने, विप्पतको सामना गरेर अघि बढ्ने र कसैले खुट्टा तान्ने कोशिस गरेपनि झट्कारेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्