संविधानमा व्यवस्था भएको शासकीय स्वरुप र निर्वाचन प्रणाली पूर्ण गलत छः ईश्वर पोख्रेल


१३ कात्तिक । नेकपा (एमाले) का महासचिव ईश्वर पोख्रेलले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने बताएका छन् । संविधान सहमतिको दस्तावेज भएको भन्दै उनले दलहरुले संविधान संशोधनमा पुर्नविचार गर्नुपर्ने जिकिर समेत गरे । ‘संविधान जसरी पनि जारी गर्नुपर्ने भएकाले हामीले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति गर्न बाध्य भएका हौँ,’ पोख्रेलले नेकपा एमाले काठमाडौँ ४ नम्बर वडा कमिटीले दसैँ, तिहार, छठलगायतका पर्वहरुको अवसरमा आयोजना गरेको चियापान कार्याक्रममा भने, ‘एमाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा छ ।’
पछिल्लो समय सरकार ढाल्ने र बनाउँने मात्र खेल हुनको पछाडि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुनु र निर्वाचन प्रणालीमा देखिएको कमजोरीले नै भएको पनि उनले दाबी गरे । ‘समानुपातिक निर्वाचन प्रणालीले गर्दा एक पार्टीले मात्र बहुमत ल्याउने र सरकार चलाउँने अवस्था नभएकाले पनि समस्या भएको छ,’ उनले भने ‘ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था भएन भने सरकार ढाल्ने र बनाउँने खेल दीर्घकालिन समस्याका रुपमा देखा पर्छ ।’ उनले पुरानो शासकीय प्रणाली बदल्नै पर्ने दाबी पनि गरे । उनले अहिलेको शासकीय स्वरुप सरकार परिवर्तन गर्ने राजनीतिक अस्त्र मात्र भएको पनि आरोप पनि लगाए । कार्यक्रममा बोल्दै पोख्रेलले भने– ‘एमालेले सरकार छाडेपछि मोर्चा बदलिएको छ, मिसन बदलिएको छैन ।’
अरुका दानपानीमा नेपालमा राजनीति गर्दा समस्या
कार्यक्रममा बोल्दै पोख्रेलले छिमेकी मुलुक भारतको नाम नलिइ त्यतैतिर संकेत गर्दै गर्दै भने– ‘अहिले अरुका दानापानीमा नेपालमा राजनीति गर्नेले गर्दा समस्या भएको छ ।’ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रवादी भएको भन्दै अरुको दानापानी खानेले नै समस्या सिर्जना गरेको पनि दाबी गरे । माओवादी र कांग्रेसले भारतको दानपानीमा एमाले नेतृत्वको सरकार ढालेकोप्रति  उनको संकेत थियो ।  नेपाल बहुभाषा र बहुसंस्कृति भएको राष्ट्रिय राज्य भएको भन्दै पोख्रेलले कसैले चाहदैँमा बहुराष्ट्रिय देश हुन नसक्ने दाबी पनि गरे ।
गठबन्धनको तमासाले समस्या
कार्यक्रममा बोल्दै पोख्रेलले गठबन्धनका नाममा कांग्रेस र माओवादीले तमासा गरेको पनि आरोप लगाए ।  ‘गठबन्धनले तमासा देखाए पनि एमालेले देशका एजेण्डालाई तलमाथि हुन दिदैँन,’ उनले भने ।  आस र त्रासको धम्कीले सरकार ढलेको भन्दै उनले एमाले कुनै एक देशको आड लागेर बस्न नसक्ने पनि दाबी गरे । उनले अहिले अनुहार नेपाली भएका तर अरु देशको वोलवाल भएकाले समस्या सिर्जना गरेको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्