प्रचण्ड सरकारको आयु अब चार महिना मात्रैः केपी ओली


१२ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको आयु चार महिना मात्रै रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको एक प्रतिनिधिमण्डलले संविधान कार्यान्वयन र निर्वाचन गराउन भन्दै आज एमाले केन्द्रीय कार्यालय पुगेर ज्ञापनपत्र दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।  ‘प्रचण्ड नेतृत्वको सरकारको आयू अब चार महिना मात्र छ,’ ओलीले भने, ‘अहिलेको गठबन्धनमा रहेका दलमा सहमति कार्यान्वयनको संस्कार छैन । त्यसपछि के हुन्छ हेर्दै जाउँ तर एमालेले निर्वाचन गराउँछ ।’

वर्तमान सरकारले संसद् अवरुद्ध भएका कारण निर्वाचन मिति घोषणा गर्न समस्या भएको भन्दै झूट बोलेको पनि ओलीले आरोप लगाए । ‘संविधान संशोधन प्रस्ताव र निर्वाचन घोषणाबीच कुनै सम्बन्ध छैन,’ उनले भने, ‘सरकारले विभिन्न बाहना नबनाई तत्काल निर्वाचन घोषणा गर्नुपर्छ ।’

ओलीले संविधान बमोजिम तीनवटै तहको निर्वाचन गराएरै छाड्ने उद्घोषण पनि गरे ।  ‘संविधानविपरीत संविधान संशोधन आएकाले संसद्मा छलफल गर्न रोकेका हौँ,’ ओलीले भने, ‘संसद्मा अवरोध हुँदा सरकारलाई निर्वाचन घोषणा गर्न केले रोकेको छ ? के संसद्बाट निर्वाचन घोषणा गर्ने हो र ?’

ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पारित हुने र संविधान संशोधन प्रस्ताव विफल हुने ठोकुवा पनि गरे ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन प्रस्तावका कारण उत्पन्न गतिरोध तोड्न सरकार लचिलो हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्