१० सिट जितेर आउनेले संविधान संशोधनको कुरा गर्नु अर्थहीन छः प्रदीप ज्ञवाली


२९ पुस । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाले निर्वाचन गर्न दिन्न भन्नु अराजक भएको बताएका छन् ।  रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले मधेसी मोर्चाको भनाइ लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको पनि आरोप लगाए ।  उनले मधेसको मसिहा ठान्ने मधेसवादी दलले निर्वाचनमा ८० प्रतिशत सिट जितेर देखाउन चुनौती दिए । उनले  आठ, १० सिट जितेर आउनेले संविधान संशोधनको कुरा गर्नु गलत भएको पनि आरोप लगाए ।

‘निर्वाचनमा गएर जनताको ताजा जनादेश प्राप्त गरी आफू अनुकूल संविधान संशोधन गर्न  म मोर्चालाई चुनौति दिन्छु,’ उनले भने ।  उनले सबैको माग र उद्देश्य निर्वाचनले पूरा गर्ने भन्दै यसको उपयोगबाट चुके मधेसी मोर्चा इतिहासमा सीमित हुने दाबी गरे ।

उनले संविधान कार्यान्वयनको पहिलो पाटो संशोधन नभएर निर्वाचन भएको बताउँदै वर्तमान समयमा निर्वाचन नै सबैको मिलन बिन्दु भएको जिकिर गरे ।  उनले मधेसी मोर्चाकै कारण सङ्घीयताबारे गलत भ्रम फैलन थालेको पनि आरोप लगाए । ‘तराई र पहाड छुट्याउने र जातजातिबीच दूरी बढाउने काम भइरहेको छ,’ उनले भने, ‘सङ्घीयतालाई विफल पार्ने काम विभिन्न शक्ति केन्द्रबाट भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्