देश विभाजन गर्न खोज्नेहरुलाई नांगेझार पार्नुपर्छः माधव नेपाल


२ माघ ।  नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश टुक्राउने पक्षलाई रोक्न नसके देश चक्रव्यूहमा फस्ने चेतावनी दिएका छन् । भक्तपुरबाट प्रकाशित समय समाज साप्ताहिक पत्रिकाको १२ औं वर्ष प्रवेश एवं ‘सपनाको राजधानी’ पुस्तक विमोचनमा बोल्दै नेपालले यस्तो चेतावनी दिएका हुन् । ‘अहिले जात र धर्मका कुराहरु उठिरहेका छन्,’ उनले भने, ‘यस्ता संवेदनशील पक्षलाई रोक्न नसके देश चक्रव्यूहमा फस्ने खतरा छ ।’
पूर्वप्रधानमन्त्री नेपालले देशलाई एकताबद्ध बनाएर अघि लैजानुपर्ने बेलामा बिखण्डनमा लैजाने प्रयास भइरहेको भन्दै त्यस्तालाई जनता सामू नाङ्गेझार पार्नुपर्नेमा जोड दिए । संविधान कार्यान्वयनलाई संशोधनसँग बार्गेनिरङको विषय बनाएकोमा पनि उनले आपत्ति व्यक्त गरे । ‘संविधान संशोधनसँग संविधान कार्यान्वयनलाई जोडेर संशोधन नभए निर्वाचन पनि हुँदैन भन्ने अतिवाद देशकै लागि खतरा हो,’ उनले भने, ‘निर्वाचनको मिति घोषणा गर्ने कुरामा प्रधानमन्त्री गम्भीर भएनन् ।’

भारतमा समेत चुनावमा धार्मिक र जातीय कुरा उठाउन नपाउने फैसला भएको प्रसंग कोट्याउँदै नेपालले जातीय द्वन्द्व सृजना गर्ने र देशलाई अलग गर्ने धारणालाई अस्वीकार गर्ने दाबी गरे ।  कार्यक्रममा सांसद् रामेश्वर ढुङ्गेल र केदार सञ्जेलले पनि समयमै निर्वाचन गर्न नसके देश असफल हुने दाबी गरे । उनीहरुले सरकारले निर्वाचनका कार्यक्रम छिटो अगाडि बढाउनुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका जिल्ला संयोजक डीपी ढकाल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष सुर्यमणि गौतम, महासंघ भक्तपुर शाखाका अध्यक्ष अमर भुजू, पत्रकार अखण्ड भण्डारी, समय समाज साप्ताकिका सम्पादक सोम शर्मा (बजगाईं) लगायतले पनि बोलेका थिए ।

नेपालले भक्तपुर जिल्लाबाट वर्षको उत्कृष्ट समाचारदाताका रुपमा कान्तिपुर दैनिकका भक्तपुर संवाददाता लीला श्रेष्ठलाई नगदसहित ‘क्रियाशील पत्रकार सम्मान’ले सम्मानित गरे ।

र्यक्रममा पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील संस्थाहरु नेपाल पत्रकार महासंघ भक्तपुर, क्रियाशील पत्रकार मञ्च भक्तपुर, रफत सञ्चार क्लब भक्तपुर, पत्रकार दीपक लामिछाने, श्याम सुन्दर बस्नेत,  जिल्ला विकास समिति भक्तपुर, मध्यपुर थिमि नगरपालिका, अनन्तलिङ्गेश्वर नगरपालिका, सूर्यविनायक नगरपालिका, नगरकोट नगरपालिका र चाँगुनारायण नगरपालिकालाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रम समय समाज प्रकाशन प्रालिका अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्