प्रधानमन्त्रीको हठ खेदजनकः विवेकशील साझा


काठमाडौं, २५ असार । विवेकशील साझा पार्टीले डा. गोबिन्द केसीको मागका सम्बन्धमा प्रधानमन्त्री केपी ओलीले प्रदर्शन गरेको हठ र अभिव्यक्ति खेदजनक भएको आरोप लगाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै विवेकशीलले त्यस्तो आरोप लगाएको हो ।
आम नागरिकहरूको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षाका बारेमा समाजवादी भनिएको सरकारको दृष्टिकोण र नीति पूर्णतः गलत दिशातर्फ उन्मुख हुनुलाई आफ्नो पार्टीले दुर्भाग्यपूर्ण ठानेको भन्दै विवेकशीले प्रधानमन्त्री ओलीले प्रदर्शन गरेको हठ र अभिव्यक्ति अत्यन्तै खेदजनक भएको विज्ञप्तिमा जनाएको छ।

‘उदारीकरणका नाममा कसिलो नियमन विना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गर्दा त्यसले नाफा(खोरी व्यापारीकरणको बाटो हुँदै डरलाग्दो माफियाकरणको रूप धारण गर्न लागेको तथ्य जगजाहेरै छ। कैयौँ नेता र तिनका परिवारका लागि सामान्य रोग लाग्दा पनि विदेशमा उपचार गर्नु पानी(पँधेरो जस्तै हुँदा, आम नेपालीले सानो रोगको उपचार गर्न पनि घर(घडेरी नै बेच्नु पर्ने सम्मका पीडा भोगिरहेका छन्। यो घातक प्रवृत्तिलाई बेलैमा रोक्न सकिएन भने यसले समाजमा सोच्नै नसकिने स्तरको डरलाग्दो परिणाम निम्त्याउने छ।’ विवेकशीलको विज्ञप्तिमा भनिएको छ ।

ज्यानको बाजी लगाएर चिकित्सा शिक्षा नीति र कानुनलाई सही बाटोमा डोर्याउन डा. केसीले नेतृत्व गरेको अभियान, सरकारद्वारा गठित केदारभक्त माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन र नागरिक समाजका अगुवा तथा सर्वसाधारणको निरन्तर खबरदारीको विवेकशील साझा पार्टीले उच्च सम्मान गर्ने विज्ञप्तिमा उल्लेख छ । ‘हामी सरकारलाई माथेमा प्रतिवेदनको भावना प्रतिविम्बित हुने गरी तुरुन्तै नयाँ कानुनको मस्यौदा गर्न आग्रह गर्दछौँ। जुन काम सरकारले स्वविवेकले गर्नु पर्दथ्यो, त्यसका लागि एक जना निष्ठावान् नागरिकले ज्यानकै बाजी लगाउनु पर्ने अवस्था आउनु अत्यन्तै दुखद् विषय हो।’ विज्ञप्तिमा भनिएको छ ।

सीमित राजनीतिज्ञ र व्यापारीको स्वार्थ पूर्ति हुने गरी कुनै पनि नीति नबनोस् भन्नेमा पनि हामी सरकारलाई खबरदारी गर्न चाहन्छौँ। यसबारेमा सरकार गम्भीर नभएको खण्डमा विवेकशील साझा पार्टी आम जनताको भावनालाई प्रतिनिधित्व गर्दै कडा प्रतिवादमा उत्रन बाध्य हुनेछ।

डा। गोविन्द केसीले कर्णाली प्रदेशको जुम्लाबाट पन्ध्रौँ पटक अनसन सुरु गरेको आज दश दिन भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा।केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ। अतुलनीय आदर्श बोकेको एक जना सम्मानित नागरिकको तेजोवध गर्न सरकार उद्दत भएको देखिँदै गर्दा, डा केसीको अवस्था तलमाथि भएको खण्डमा सम्पूर्ण दोष प्रधानमन्त्री केपी ओली र उनको सरकारले बोक्नु पर्ने तथ्यप्रति पनि हामी सबै जिम्मेवार पक्षको ध्यान आकर्षण गराउन चाहन्छौं।

प्रतिक्रिया दिनुहोस्