राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ती


काठमाडौं,२१ असार । सरकारले यसअघिको सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने भनी गरेको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
संसदबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको समयमा निर्वाचन आयोगको सहमति लिएरै गरेको राजनीतिक नियुक्तिहरु खारेज गर्नु कानुनी व्यवस्थाको विपरीत रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘शेरबहादुर देउवा जननिर्वाचित व्यवस्थापिका संसदबाटै निर्वाचित प्रधानमन्त्री भएको, उहाँको मन्त्रिपरिषदले आचारसंहिताका बेलामा भएको आवश्यक नियुक्ति पनि निर्वाचन आयोगको सहमतीमा भएको हो । यसरी कानूनसम्मत् तरिकाबाट निश्चित अवधिका लागि गरिएको नियुक्ति बदर गरिनु कानूनी व्यवस्थाको खिलापमा भएकोले सरकारको यो निर्णयको नेपाली कांग्रेस निन्दा गर्दछ’ यस्ता निर्णयले कानुनी शासनको आधारशीलामाथि आक्रमण गर्ने र कानुनी राज्यको अवधारणालाई नै कमजोर बनाउने भन्दै कांग्रेसले यसलाई तत्काल फिर्ता लिन माग गरेको छ । ‘यस्ता निर्णयले कानूनी शासनको आधारशिलामाथि आक्रमण गर्दै कानूनी राज्यको अवधारणालाई कमजोर बनाउने स्पष्ट मनसाय यो सरकारले देखाएको छ । नेपाली कांग्रेस पार्टी सरकारको यो गैरकानूनी निर्णयको विरोध गर्दै सो निर्णय तत्काल फिर्ता लिन माग गर्दछ’ कांग्रेसले भनेको छ ।

बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले १४ भदौपछि निर्वाचन आचार संहिता जारी भएको अवस्थामा सरकारले गरेको सबैखाले राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्